आयल निगमका कार्यकारी प्रमुखको पिएलाई मापदण्डविपरीत सरुवा

मंगलबार, २४ चैत, २०८२
डिजिटल संस्करण

नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले दरबन्दी मिचेर आफ्नै स्वकीय सचिव (पिए) खेमराज काफ्लेको सरुवा गरेका छन्। तर, अन्य कर्मचारीको हकमा भने दरबन्दीअनुसार सरुवामा कडाई गरेर ६ महिनाअघि मात्रै सरुवा भएका कर्मचारीलाई पनि फिर्ता बोलाएका छन्।

स्रोतका अनुसार आयल निगम व्यवस्थापनले सोमबार साँझ देशभरका अधिकांश हवाई इन्धन कार्यालय प्रमुखको सरुवा गर्ने निर्णय गरेको छ। सरुवाको सूचीसमेत बाहिरिएको छ। उक्त सूचीमा कार्यकारी निर्देशक भट्टका पिए काफ्लेलाई जनकपुर विमानस्थलस्थित हवाइ इन्धन कार्यालय प्रमुख बनाउँदा मापदण्ड मिचिएको छ।

जनकपुर हवाइ इन्धन कार्यालयमा प्रशासन समूहको छैटौं तहको कर्मचारी कार्यालय प्रमुख हुने गरी दरबन्दी सृजना गरिएको छ। काफ्ले लेखा समूहअन्तर्गत छैटौं तहमा कार्यरत छन्। अर्कातिर, लेखा समूहका कर्मचारी कुनै पनि ठाउँको कार्यालय प्रमुख नहुने व्यवस्था छ। तर, कार्यकारी निर्देशक भट्टले आफ्नै पिएलाई आकर्षक पदमा सरुवा गर्न मापदण्डको बेवास्ता गरेका छन्। जबकी, दरबन्दीअनुसार जिम्मेवारी सृजना गर्ने भन्दै ६ महिनाअघि मात्रै भैरहवा इन्धन डिपोमा सरुवा भई गएका कार्यालय प्रमुख कपिलदेव भट्टलाई फिर्ता बोलाइएको छ। आयल निगमको कर्मचारी प्रशासन विनियमावलीले भने कार्यालय प्रमुखको अवधि २ वर्ष रहने व्यवस्था गरेको छ। त्यसैले, अहिले दरबन्दीअनुसार सरुवा गर्न खोज्दा डिपो प्रमुखको २ वर्षे कार्यालयको मापदण्ड पनि मिचिएको छ।

सरुवा सुचीअनुसार धनुषाको महेन्द्रनगरमा राजेश सिलवाल र दिपायल शाखा कार्यालय प्रमुखमा उर्मिला गिरीको सरुवा भएको छ। ६ वटा हवाइ इन्धन डिपोको प्रमुख हेरफेर हुँदा नेपालगञ्जमा खगेन्द्रप्रसाद अधिकारी, विराटनगरमा चित्र लम्तरी मगर, भद्रपुरमा संजय दाहाल, मन्थलीमा गोबिन्द गिरी, भैरहवामा प्रशान्त भट्टराई र जनकपुरमा काफ्लेको सरुवा भएको छ। भैरहवास्थित पेट्रोल पम्प प्रमुखमा चिन्तन कोइरालाको सरुवा भएको छ।

आयल निगमले देशभरका कार्यालयमा रहेका लेखा प्रमुखको समेत सरुवा गर्न लागेको छ। त्यस्तै, सबैभन्दा ठूलो डिपो अमलेखगञ्जमा पनि कार्यालय प्रमुख हेरफेर गर्न लागिएको छ। त्यहाँ कार्यरत प्रलयंकर आचार्यले सरुवा मागेकाले नयाँ कर्मचारी पठाउन लागिएको हो। अमलेखगञ्जमा तह र सेवा समूह मिलाएर १०औं तहका इन्जिनियर अशोक साहलाई सोमबार साँझ नै निर्णय गरी पठाउन खोजिएको थियो, तर शाहले तत्काल डिपो प्रमुख भएर कतै नजाने जानकारी गराएपछि रोकिएको छ।

तल्लो तहमा दरबन्दीअनुसार कर्मचारी खटाउँदा ६ महिनादेखी ११ महिनाभित्रमै कार्यालय प्रमुखहरु सरुवा भई आएकाले माथिल्लो तहमा पनि दरबन्दीअनुसार कर्मचारी खटाउन निगम व्यवस्थापनलाई दबाब परेको छ। ‘तल्लो तहका कर्मचारीलाई दरबन्दीअनुसार सरुवा गरेका कारण सबैले मानेका छौं’ एक कर्मचारीले भने, ‘अब, माथिल्लो तहमा पनि तत्काल दरबन्दीअनुसार कर्मचारी मिलान हुनुपर्छ। व्यवस्थापनले माथिल्लो तहमा मापदण्ड लागू गर्न नखोजे भद्रगोल हुने स्थिति रहन्छ।’

आयल निगमले दरबन्दीअनुसार अमलेखगञ्ज र विराटनगरमा १०औँ तहको कार्यालय प्रमुख र ९औं तहको लेखा प्रमुख तत्काल पठाउनुपर्ने हुन्छ। लेखा समूहअन्तर्गत नवौं तहमा नवविनोद पोखरेल, मनोहर डिसी र सुशिल अधिकारी कार्यरत छन्। अब यी तीनमध्ये दुईजनालाई लेखा प्रमुख बनाएर डिपो पठाउनुपर्ने हुन्छ।

तर, करिब दुई महिनाअघि नै डिसीलाई दरबन्दीको बेवास्ता गरेर सुदूरपश्चिम प्रादेशिक कायालय, धनगढी प्रमुख बनाएर पठाइएको छ। लेखा समूहका कर्मचारीलाई डिपो प्रमुख बनाउन नपाइने व्यवस्था भए पनि व्यवस्थापनले डिसीलाई धनगढी प्रमुख बनाएर पठाएको हो। त्यस्तै, हाल आर्थिक विभागको निमित्त प्रमुखको जिम्मेवारीमा रहेका पोखरेलसमेत दरबन्दीविपरित पटकपटक कार्यालय प्रमुख भइसकेका छन्।

निगम व्यवस्थापनलाई केन्द्रीय कार्यालयको विभागीय प्रमुखसमेत विनियमावलीअनुसार २–२ वर्षमा हेरफेर गरेर मापदण्डको थिति बसाल्ने चुनौती थपिएको छ।

सुझावित समाचार