- सुरुदेखि नै कमजोर र सेनामाथि निर्भर वर्तमान गठबन्धन सरकारका कारण जनरल मुनिरले आफ्नो स्थिति बलियो बनाएका छन्
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधाभासपूर्ण बयानबाजी र इरानद्वारा युद्ध चल्दासम्म वार्ता नगर्ने खुला घोषणाबिच युद्धले एक महिना नाघेको छ । यसबिच दुई पक्षबिच मध्यस्थता भइरहेकाबारे विभिन्न अनुमान विश्व मिडियामा छाए । यसमा एक दक्षिण एसियाका व्यक्तिको नाम विशेष चर्चामा रह्यो । त्यो नाम थियो– पाकिस्तानी सेनाका प्रमुख फिल्ड मार्सल असिम मुनिरको । चर्चाबिच पाकिस्तानभित्र केही प्रमुख स्तम्भकारहरूले मुनिरको ‘बढ्दो कद’को प्रशंसा गर्दै लेख ।
सेना प्रमुखका रूपमा पाकिस्तानका सबैभन्दा शक्तिशाली व्यक्ति मुनिरको तेहरान र ट्रम्प दुवैसँग राम्रो सम्बन्ध छ । मुनिरलाई अमेरिकी राष्ट्रपतिको ‘मन पर्ने फिल्ड मार्सल’ भनिँदै छ । इरान र अमेरिकाबिच मध्यस्थताको चर्चामार्फत मुनिर फेरि एकपटक देशको नागरिक सरकारमाथि हाबी देखिन थालेका छन् । यसअघि इमरान खानलाई सेनाले गरेको व्यवहारका कारण क्रुद्ध भएका पाकिस्तानको एक हिस्सासमेत सेना प्रमुखले विश्वमा देशको शिर उँचो बनाएको भन्न थालेका छन् । सेना समर्थकहरू त ‘असिम मुनिरको बढ्दो कद’का बिच उनलाई नोबेल शान्ति पुरस्कारको मनोनयन गर्नुपर्नेसमेत चर्चा गर्न थालेका छन् ।
मिडिया रिपोर्टहरूले पाकिस्तानको सैन्य प्रतिष्ठान तथा नागरिक सरकार दुवैले इस्लामाबादमा अमेरिकी र इरानी प्रतिनिधिहरूबिच वार्ता सहज बनाउन चाहेको कुरा बाहिर ल्याएको सही हो । यसै सन्दर्भमा मध्यपूर्वका लागि अमेरिकी दूत स्टिभ विट्कफ र ट्रम्पका ज्वाइँ जेर्ड कुस्नरले इस्लामाबादको भ्रमण गरेकोसमेत रिपोर्ट आए । भलै यो खबर पछि झुटो साबित भयो । उसो त पाकिस्तानभित्रको शक्ति संरचनाको शिखरमा सैन्य प्रमुखको उदय कुनै नयाँ कुरा पनि होइन । मुनिरको सन्दर्भमा भने उनी केवल देशभित्र मात्र नभई विश्वव्यापी रूपमा समेत देशका शीर्षस्थ व्यक्तत्वका रूपमा अघि आएका छन् ।
इमरान खानको गिरफ्तारीपछि भएको र धाँधलीपूर्ण नतिजा आएको आरोप लाग्ने गरेको सन् २०२४ को आमनिर्वाचनपछि बनेको अहिलेको गठबन्धन सरकार सुरुदेखि नै कमजोर र सेनामाथि निर्भर रहेको मानिन्छ । यही बदलिएको वातावरणमा, जनरल मुनिरले आफ्नो स्थिति बलियो बनाउने बाटो देखे । गत नोभेम्बरमा, पाकिस्तानी संसद्ले देशको संविधानमा २७औँ संशोधन गर्यो । अघिल्लो संशोधनको एक वर्षभित्रै भएको यस संशोधनको विपक्षी नेता तथा विश्लेषकहरूले आलोचना गरे । यसलाई तिनले ‘संवैधानिक विद्रोह’को संज्ञा दिएका छन् । यस संशोधनले फिल्ड मार्सल मुनिरको सत्तामाथिको पकड थप सुदृढ बनाएको छ ।
पहिले नै पाकिस्तानको सबैभन्दा शक्तिशाली पदमा रहेका मुनिरले अहिले देशको स्थल सेना मात्र नभई नौसेना र वायुसेनामाथि पनि नियन्त्रण राखेका छन् । नयाँ संशोधनपछि मुनिरको पाँचवर्षे कार्यकाल फेरि सुरु भएको छ । र, भविष्यमा यसमा थप विस्तार हुनेसमेत सम्भावना छ । यसले मुनिरको कार्यकाल असामान्य रूपमा लामो हुने देखिँदै छ । साथै, संशोधनले उनलाई भविष्यमा कुनै पनि आपराधिक मुद्दामामिला नलाग्ने गरी आजीवन उन्मुक्ति प्रदान गरेको छ ।
यसबिच, पाकिस्तानको एक मात्र स्वतन्त्र निकाय मानिने न्यायपालिकाको शक्तिसमेत कटौती गरिएको छ । सरकारले नियुक्त गरेका न्यायाधीशसहितको एक नयाँ संवैधानिक अदालत गठन गरिएको छ, जसले सर्वोच्च अदालतको स्थान लिएको छ । यस कदमको विरोधमा धेरै वरिष्ठ न्यायाधीशहरूले राजीनामा दिए । तथापि, त्यसले केही फरक पारेन ।
मुनिरको शक्ति बढेसँगै अन्तर्राष्ट्रियस्तरमा उनको सक्रियता पनि बढेको छ, विशेष गरी संयुक्त राज्य अमेरिकासँग । अमेरिकासँग घनिष्टता बढेपछि नै साउदी–पाकिस्तान रक्षा सम्झौता भयो, जसको पाकिस्तानभित्र व्यापक प्रशंसा गरियो । त्यसपछि पश्चिमी मिडियामा अरू पनि रक्षा सम्झौताको चर्चा सुरु भयो । यद्यपि, यी रिपोर्टलाई गलत बताइयो र चर्चामा आएका प्रायः सम्झौता अगाडि बढ्न सकेनन् ।
बिचमा केही समयको मौन अवधिपछि असिम मुनिरले फेरि वैश्विक नेतासँग सम्पर्क बढाएका छन् । यसैअन्तर्गत वासिङटनमा डोनाल्ड ट्रम्पसितको भेटघाट र अहिले इरानविरुद्ध अमेरिका–इजरायली कारबाही रोक्न मध्यस्थकर्ताको भूमिका खेल्ने विषय चर्चामा आएका हुन् ।
पाकिस्तानमा सैन्य हस्तक्षेपको लामो इतिहास छ । मुनिरले भने सिधै सत्ता हातमा नलिने, तर केन्द्रीकृत मोडेलमार्फत राजनीतिक परिणाम निर्धारण गर्ने मार्ग अपनाएको देखिन्छ । पाकिस्तानका पूर्वसैन्य शासक परबेज मुसर्रफले सन् १९९९ को कुपछि तीन वर्ष यसरी नै राजनीतिमाथि बसेर शासन गरेका थिए । तर, व्यापक विरोधपछि उनी चुनाव लडेर राष्ट्रपति बने । अब मुनिरले मुसर्रफको बाटो पछ्याउनेछन् वा जीवनभर बर्दीमै रहनेछन्, हेर्न बाँकी छ ।
‘हाफिज–ए–कुरान’ (सम्पूर्ण कुरान कण्ठस्थ भएका व्यक्ति) भएकाले मुनिर अक्सर आफ्ना भाषणमा धार्मिक विषयवस्तु समेट्न चुक्दैनन् । उनी पाकिस्तानलाई मुस्लिम विश्वको चम्किलो ताराका रूपमा चित्रण गर्छन् । अहिले उनै मुनिरको हातमा सेना मात्र होइन, देशका मिडिया र राज्य संयन्त्रसमेत आएका छन् । पाकिस्तानी लेखक मोहम्मद हनिफ आफ्नो ठट्यौली शैलीमा भन्ने गर्छन्, ‘जबजब तानाशाहहरूले यस्तो व्यवहार गर्छन्, पाकिस्तानको भूगोल बदलिने गरेको छ र जनरलहरू आफ्नो ज्यान जोगाउन भाग्नुपरेको छ ।’ अब भविष्यमा के हुन्छ भनेर हेर्न त कुर्नुको विकल्प छैन ।
(चक्रवर्ती दक्षिण एसिया र यहाँको कूटनीतिमाथि कलम चलाउँछिन्)
द प्रिन्टबाट