कञ्चनपुर–कमला सडक : तेस्रोपटक म्याद थपपछि पनि निर्माण ठप्प

सोमबार, २३ चैत, २०८२
डिजिटल संस्करण

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सप्तरीको कञ्चनपुरदेखि सिराहा–धनुषा जोड्ने कमला नदीसम्मको सडकको लहानसहित विभिन्न खण्डमा रोकिएको काम २ वैशाखबाट सुरु गर्ने भएको छ । तेस्रोपल्ट म्याद थपपछि आगामी १६ असार (३० जुन) सम्म बाँकी काम गरिसक्नुभए पनि मुख्य बजार क्षेत्रमा ठूला संरचना तथा सडक निर्माण अलपत्र छोडेर नागरिकको स्वास्थ्यमाथि खेलबाड गरेको भन्दै शुक्रबार लहानमा करिब पाँच घण्टा सडक अवरुद्ध गरिएको थियो । चाइना रेलवे नं २ इन्जिनियरिङ ग्रुपले ठेक्का लिएको कञ्चनपुरदेखि कमला नदीसम्मको ८६ दशमलव ८२ किलोमिटर खण्डअन्तर्गत लहानको सडक भत्काएर करिब एक वर्षदेखि अलपत्र छोडिएको थियो । 

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईको रोहबरमा चाइना रेलवे नं २ इन्जिनियरिङ ग्रुपका निर्माण प्रमुख माओ योङ तथा लहानका स्थानीय अगुवाहरूको उपस्थितिमा २ वैशाखदेखि निर्माण सुचारु गरिने सहमति भएको हो । त्यस्तै, दैनिक पाँचपटक सडकमा पानी छर्किने सहमति भएको छ । सहमति कार्यान्वयनका लागि लहानस्थित इलाका प्रशासन कार्यालयका प्रमुख उपसचिव वेदनिधि खनाल, प्रहरी नायब उपरीक्षक राईले प्रतिबद्धता जनाएका छन् । 

मिर्चैयास्थित पश्चिम खण्ड कार्यालयले सार्वजनिक गरेको त्रैमासिक प्रतिवेदनअनुसार गत पुस मसान्तसम्म चार लेनको कालोपत्रे ३४.०१ किलोमिटर सडक निर्माण सकिए पनि ६ लेनको करिब १३ किलोमिटर सडक अलपत्र छ । जिल्लाको मुख्य बजार क्षेत्र मानिने मिर्चैया, लहानमा ६ लेन सडकसहित ओभरपास र अन्डरपासका लागि पाइल फाउन्डेसनको काम सकिएको भए पनि गोलबजारमा डिजाइन स्वीकृति ढिलो हुँदा माटो परीक्षणबाहेक अन्य काम हुन नसकेको कार्यालयले जनाएको छ । 

तेस्रोपल्ट म्याद थप, भएन काम
ग्रुपले सन् २०२० जुनमा गरेको ठेक्का सम्झौताअनुसार कञ्चनपुरदेखि कुसहासम्म ३९.४२ किलेमिटर पूर्वी खण्ड र कुसहादेखि कमला नदीसम्म ४७.४ किलोमिटर पश्चिम खण्ड गरी ८६.८२ किलोमिटर सडक चार र ६ लेनसहित, पुल, कलभर्ट, ओभरपास र अन्डरपास, अकासेपुल निर्माण २८ अक्टोबर २०२३ मा सम्पन्न गर्नुपर्ने थियो । साइट क्लियरेन्स, कोरोना महामारी, सडक क्षेत्रका रुख कटान, बिजुलीका पोल सार्न ढिलाइजस्ता कारणले करिब एक वर्षपछि ढिलो काम थालेको ग्रुपले निर्धारित समयमा काम नसकेपछि पहिलोपटक २३ डिसेम्बर २०२४ सम्म १४ महिना र दोस्रोपल्ट २०२५ डिसेम्बरसम्म १२ महिना म्याद थप भएको थियो । अन्तिमपल्ट गत डिसेम्बरमा तेस्रोपटक ६ महिना म्याद थप पाएको ग्रुपले पछिल्लो करिब दुई महिनादेखि निर्माण रोकेको छ । 

ग्रुपले कुसहा–कञ्चनपुर ३९ दशमलव ४२ किलोमिटर खण्ड सात अर्ब २७ करोड ७६ हजार ३४ रुपैयाँ ३४ पैसा र कुसहादेखि कमलासम्म ४७.४ किलोमिटर पश्चिम खण्ड भरिएसनपछि आठ अर्ब ८० करोड ७० लाख १८ हजार दुई सय ७७ रुपैयाँ १० पैसामा ठेक्का सम्झौता गरेको थियो । उक्त सडक निर्माणका लागि एसियाली विकास बैंकको ७१ दशमलव २२ प्रतिशत ऋण र नेपाल सरकारको २८ दशमलव ७८ प्रतिशत लगानी छ । पुससम्मको प्रतिवेदनअनुसार ठेकेदार कम्पनीको पछिल्लो त्रैमासमा ३.५५ प्रतिशतसहित कुल भौतिक प्रगति ६७.१४ प्रतिशत र ५८.३३ प्रतिशत वित्तीय प्रगति छ ।      

See More On

सुझावित समाचार