इरान युद्धमा दोहोरो आक्रमणको चपेटामा इराक

सोमबार, २३ चैत, २०८२
डिजिटल संस्करण
  • अमेरिका–इजरायल र इरानबिचको युद्धको असर मध्यपूर्वी देशमा फैलिरहँदा इराक भने दुई पक्षको आक्रमणमा परेको हो 

गत फेब्रुअरी २८ मा इरानमाथि संयुक्त राज्य अमेरिका–इजरायलले आक्रमण सुरु गरेको केही घण्टाभित्रै इराकको अर्धस्वायत्त कुर्दिस क्षेत्रमा पनि बमबारी भएको थियो । त्यो आक्रमण त्यस क्षेत्रमा रहेको अमेरिकी सम्पत्तिमाथि इरान–समर्थित समूहबाट भएको थियो । योसँगै इराक पनि इरान युद्धमा तानिएको थियो । त्यसवेलादेखि नै इराकमा अवस्थित अमेरिकी सम्पत्ति इरान समर्थक सशस्त्र समूह र इरानकै शक्तिशाली इस्लामिक रिभोलुस्नरी गार्ड कोर्प्स (आइआरजिसी)बाट धेरैपटक निसानामा परिसके । जवाफमा अमेरिकाले यी इराकी समूहविरुद्ध निरन्तर आक्रमण गरिरहेको छ । 

यही आक्रमणलाई देखाएर इराकी विदेशमन्त्री फुआद हुसेनले त इराक जारी द्वन्द्वमा प्रत्यक्ष रूपमा प्रभावित देश बनेको र अरू प्रभावित देशले कुनै एक पक्षको बमबारी सहनुपर्दा आफूहरूले ‘द्वन्द्वका दुवै पक्ष’बाट आक्रमणको सामना गर्नुपरेको बताए । सम्भवतः हुसेनको संकेत ती खनिज तेल उत्पादक खाडी देशप्रति थियो, जहाँ इरानले दैनिकजसो आक्रमण गर्ने गरेको छ । तथापि, ती देशलाई इराकलाई जस्तो अमेरिका र इजरायलले निसाना बनाएका छैनन्, बरु सुरक्षा दिने बताउँछन् । 

लामो समयदेखि अमेरिका र इरानबिचको छद्म युद्धभूमि रहेको इराक सुरुदेखि नै द्वन्द्वमा तानिएको छ, जसमा अमेरिका, इरान समर्थित समूह र आइआरजिसीलाई जिम्मेवार ठहर्याइएको छ । युद्ध सुरु भएदेखि बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमेरिकी कूटनीतिक नियोग र तेल क्षेत्रमा बमबारी भयो । सबैभन्दा तीव्र आक्रमण भने इराकी कुर्दिस क्षेत्रको राजधानी एर्बिलमा भयो । वासिंटनले इराकी कुर्दिस क्षेत्रमा शरण लिइरहेका इरानी कुर्दिस समूहलाई तेहरानविरुद्ध परिचालन गर्ने योजना सार्वजनिक भएपछि इरानले ती समूहमाथि आक्रमण तीव्र बनायो । 

सुरुमा इराकतर्फको कुर्दिस क्षेत्रबाट इरानी कुर्दिस समूहले इरानको सीमापार स्थल आक्रमण गर्ने सम्भावना उच्च रहेको बताइएको थियो । अमेरिकाका अन्य क्षेत्रीय सहयोगी, विशेषतः टर्किएको असन्तुष्टिपछि यो अभियानलाई मुर्त रूप दिइएन । त्यस्तै, इराकी प्रधानमन्त्री मोहम्मद सिया अल–सुदानीले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग सम्पर्क गरेर मध्यपूर्व युद्धमा आक्रमणका लागि आफ्नो देशलाई ‘लन्चप्याड’को रूपमा प्रयोग नगर्न आग्रह गरेको बताइन्छ । तथापि, अमेरिका र इजरायलले इरानी कुर्द नेतासँग सम्पर्क भने बढाएका थिए । 

इराकमा हवाई अड्डा 
ह्वाइट हाउसका अनुसार अमेरिकाले इराकको पश्चिमी भागको अनबर प्रान्तमा ऐन अल–असद हवाई आधार क्षेत्रमा आफ्नो उपस्थिति कायम राखेको छ । यो आधार क्षेत्रबाट इराकी सुरक्षा बललाई सहयोग गर्ने गरिएको अमेरिकाले बताएको छ । इरानी जनरल कासिम सुलेमानीको अमेरिकी हत्याको बदलामा सन् २०२० मा इरानले हानेको क्षेप्यास्त्रले यो हवाई अड्डालाई पनि निसाना बनाएको थियो । त्यस्तै कुर्दिस अर्धस्वायत्त क्षेत्रमा रहेको एर्बिल हवाई अड्डाले भने अमेरिकी र गठबन्धन सेनाहरूले प्रशिक्षण अभ्यास र युद्ध अभ्यास गराउने केन्द्रको रूपमा काम गर्छ । 

अमेरिकी संसदीय रिपोर्टअनुसार एर्बिल हवाई अड्डाले प्रशिक्षण, गुप्तचर साझेदारी र रसद समन्वयमार्फत उत्तरी इराकलाई सुरक्षित बनाउने अमेरिकी सैन्य प्रयासलाई सघाइरहेको छ । सन् २०२६ को सुरुवातमा, इराकमा लगभग दुई हजार ५०० अमेरिकी सैनिक अझै तैनाथ थिए । तथापि, डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकाल सम्हालेपछि अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना सैन्य आधारबाट आफ्ना सेना कटौती गर्ने नीति लिएकाले तीमध्ये कति सैनिक बाँकी छन् अहिले स्पष्ट छैन । अमेरिकाले इराक र यसको अर्धस्वाशासित कुर्दिस क्षेत्रमा सीमित संख्यामा सैन्य सुविधा राखेको छ । तथापि, तिनको संख्या अहिले इराकमाथि नियन्त्रण कायम गरिएका वर्षको तुलनामा धेरै कम छ । तर, तिनको सही संख्या र आकार भने सार्वजनिक रूपमा खुलासा गरिएको छैन । तर पनि बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलनजिकैको भिक्टोरिया बेस वा क्याम्प भिक्टोरिया र एर्बिलको उत्तरपूर्वमा अवस्थित हरिर एयर बेस भने अझै सञ्चालनमा रहेको पुष्टि हुन्छ ।

किन सबैको निसानामा परिरहेको छ इराक ?
‘इराकको दुर्दशा यसको अवस्थिति र यसले लिएको विखण्डित विदेश नीतिले निम्त्याएको हो,’ बेलायतस्थित थिंक ट्यांक चथम हाउसका वरिष्ठ अनुसन्धान फेलो र ‘इराक इनिसिएटिभ’का निर्देशक रेनाड मन्सुरले भने, ‘इराकभित्रका विभिन्न दल तथा गुट प्रतिस्पर्धी बाह्य शक्तिसँग मिलेर काम गर्छन् । केही गुटको इरानसँग घनिष्ठ सम्बन्ध कायम छ, जबकि अरूहरू अमेरिकासँग बढी नै नजिक छन् ।’ मन्सुरका अनुसार यही विखण्डनले गर्दा इराकी राज्यलाई निर्देशित गर्ने कुनै एकल, सुसंगत विदेश नीति नै छैन । ‘बग्दादले वासिंटन र तेहरान दुवैले आक्रमण गर्दा आफ्नो सार्वभौमसत्ताको उल्लंघन भएको भन्दै आपत्ति जनाउँछ । तर, यस्तो आपत्ति लागू गर्न सक्ने सामर्थ्य भने ऊसँग सीमित मात्रै छ,’ मन्सुरले व्याख्या गरे । यो किनभने इराकमा कैयौँ अनौपचारिक सञ्जाल र मिलिसियाले राज्यमाथि यस्तो प्रभाव राख्छन्, कतिपय निर्णयले सुरक्षा कायम गर्न प्रमुख भूमिका खेल्छन् । 

विशेषतः सन् २००३ मा अमेरिकाको नेतृत्वमा इराकमाथि आक्रमण भएर तत्कालीन नेता सद्दाम हुसेनको पतनपछि इरानले सिया दलहरू र सशस्त्र समूहमार्फत बग्दादमा उल्लेख्य प्रभाव विस्तार गर्न सक्यो । सिया सशस्त्र समूहमध्ये अहिले पपुलर मोबिलाइजेसन फोर्सेस (पिएमएफ)को नाममा एकजुट भएका छन् । सन् २०१४ र २०१७ को बिचमा इराकमा पुनः टाउको उठाउन लागेको ‘इस्लामिक स्टेट (आइएस)’विरुद्धको संघर्षमा यसले महŒवपूर्ण भूमिका निभाएपछि राज्यको निकायमा गाभियो । सुरक्षा निकायमा गाभिएको भए पनि प्रायः स्वतन्त्र सञ्चालित हुने पिएमएफको हिस्सा रहेका ‘कताइब हिज्बुल्लाह’ र ‘असाइब अहल अल हक’जस्ता समूह तेहरानको भूराजनीतिक स्वार्थसँग जोडिएका छन् । यसका साथै, विज्ञहरूका अनुसार इरानले इराकलाई अमेरिकी स्वार्थमाथि प्रहार गर्न सक्ने ठाउँका रूपमा हेर्ने गर्छ । 

‘इराकमा इस्लामिक प्रतिरोध’को नाममा इरान समर्थक सशस्त्र समूहले छापामार रूपमा अमेरिकी सैन्य सम्पत्तिलाई निसाना बनाइरहेका छन्,’ ब्रिटिस थिंक ट्यांक ‘रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युट (आरयुएसआई)’मा मध्यपूर्व सुरक्षाका लागि वरिष्ठ अनुसन्धान फेलो बुर्कु ओजसेलिकले भने । ओजसेलिकका अनुसार तेहरानका लागि इराकमाथि आक्रमणले अमेरिकी हितलाई दबाब दिनुका साथै इराकको कुर्दिस क्षेत्रको प्रतिष्ठालाई कमजोर बनाउने दुई लक्ष्य पूरा हुन्छ । ‘इराकपट्टिको कुर्दिस्तान कुनै पनि अवस्थामा इरानका लागि संवेदनशील सीमा हो । इरानसँग यसको निकटता र त्यस भेगमा इरानी कुर्दिस समूहको उपस्थितिलाई तेहरानले चिन्ताका रूपमा हेर्छ,’ ओजसेलिकले भने ।

लेबनान र जोर्डनजस्ता अन्य मध्यपूर्वी देश पनि द्वन्द्वमा तानिएका छन् । तर, इराकको अवस्था अरूको भन्दा फरक रहेको ओजसेलिकले बताए । मुख्यतः यसको कारण त्यहाँ इरानी प्रभाव गहिरो हुनुपर्छ । ‘इराकमा इरान समर्थक सशस्त्र समूह केबल उपस्थित मात्र छैनन्, ती त्यहाँको देशको सुरक्षा संरचनामा वैधानिक रूपमा स्विकारिएका छन् । सँगसँगै इराकले आंशिक रूपमा प्रमुख अमेरिकी सैन्य हितलाई पनि स्थान दिएको छ,’ ओजसेलिकले भने, ‘यसरी इराक समर्थक समूह राष्ट्रिय सेनाको हिस्सा हुनु र इराकमा अमेरिकी सैन्य सम्पत्ति हुनुले ऊ दुवैतर्फबाट निसानामा परिरहेको हो । यस्तोमा भोलिका दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध समाप्त गरेको घोषणा गरेर अन्यत्र युद्ध रोकिँदासमेत इराकमा भने थप समय दुई पक्षबिच गोलीबारी कायम रहने सम्भावना छ ।’

(समिम अलजजिराकी स्तम्भकार हुन् । उनले जलवायु परिवर्तन, सहरी विकासका साथै राजनीतिक विषयमा कलम चलाउँछिन् । )

– अलजजिराबाट

सुझावित समाचार