आगामी आर्थिक वर्ष ०८३/८४ को पूर्वसन्ध्यामा आयोजित अन्तर्क्रियामा सहभागी भएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक रूपान्तरणलाई प्रमुख एजेन्डा बनाएर काम थालिसकेको बताएका छन् ।
पर्सा र बाराका उद्योगी–व्यापारीसँग अन्तर्क्रियामा उनले आर्थिक रूपान्तरणका लागि नै रास्वपाले अभूतपूर्व जनादेश पाएकाले त्यसैलाई प्रमुख एजेन्डा बनाएर काम थालिसकेको बताएका हुन् ।
‘आगामी बजेट आर्थिक रूपान्तरणका लागि हुनुपर्छ भन्ने मूल ध्येय राखेर अगाडि बढेका छौँ,’ उनले भने । कार्यक्रममा सहभागी उद्योगी–व्यापारीबाट आएका सुझाव अध्ययन गरेर सम्भव भएसम्म आगामी बजेटमा समेट्न प्रयास गरिने पनि उनले आश्वासन दिए ।
मुलुकको अर्थतन्त्रलाई सबल बनाउन नयाँ सरकार गठन भएलगत्तै राजस्व विभागसहितका केही निकायहरू सरकारले खारेज गरेर काम सुरु गरिसकेको उनको भनाइ थियो ।
रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार समितिले बुझाएको प्रतिवेदनअनुसार धेरै सुधारका काम गरिने उनले बताए । ‘सरकार मुलुकको समग्र अर्थतन्त्र सुधारको बाटोमा अगाडि बढिसकेको छ,’ उनले भने । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले नीतिगत समस्याबारे ध्यानाकर्षण गराएका थिए ।