चन्द्रमामा फेरि मानिस जान किन भइरहेछ ढिला ?

शनिबार, २१ चैत, २०८२
डिजिटल संस्करण

जनवरी २०२६ मा म ‘नेसनल एअर एन्ड स्पेस म्युजियम’को भ्रमण दलको नेतृत्व गर्दै थिएँ । एकजना आगन्तुकले एक विचारणीय प्रश्न गरे, ‘चन्द्रमामा फर्कन किन यति लामो समय लाग्यो ?’ हुन पनि नासाले मानिसलाई चन्द्रमामा उतार्ने प्रविधि र ज्ञान ५० वर्षभन्दा अघि नै हासिल गरिसकेको थियो । तर, धेरैलाई थाहा नहुन सक्छ, अमेरिकी अन्तरिक्ष अभियानमा प्रविधिजत्तिकै महत्वपूर्ण भूमिका राजनीतिको पनि हुन्छ । अन्तरिक्ष अभियानमा राजनीतिलाई जोड्ने काम यसमा लाग्ने विशाल बजेटले गरेको हुन्छ । नासाका कुनै पनि कार्यक्रम कार्यान्वयन गर्न विशाल बजेट आवश्यक पर्छ । त्यति ठुलो बजेटको आवश्यकता पूरा गर्न अमेरिकाका एकभन्दा बढी राष्ट्रपतिको राजनीतिक इच्छाशक्ति र कांग्रेसबाट वित्तीय सहयोगको आवश्यकता पर्दछ । मानिसहरूलाई चन्द्रमामा फर्काउने नासाको प्रयासको कथा लामो र घुमाउरो छ, जसले महान् महत्वाकांक्षालाई वास्तविक मिसनमा परिणत गर्ने जटिलतालाई उजागर गर्छ ।

अपोलोपछि के भयो ? 
सन् १९७० को सुरुवातको कुरा हो, दुई सफल चन्द्र अवतरणपछि, तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको सरकारी खर्च कटौती नीतिअनुरूप नासाको बजेट घटाइयो । यो निर्णयले नासाको आर्थिक स्थिति उल्लेख्य कमजोर बन्यो । आर्थिक कठिनाइबिच एजेन्सीले तीनवटा पूर्वनिर्धारित अपोलो मिसन रद्द गर्नुपरेको थियो । बचेको कोषलाई उसले पृथ्वीको तल्लो कक्षमा दीर्घकालीन मानव गतिविधि कायम राख्ने योजनालाई बचाउन सफल भयो । नासाले यस कठिन समयमा चन्द्र अभियानका लागि तयार बनाएको ‘स्याटर्न भी’ रकेटलाई ‘स्काइल्याब’ नामक पहिलो अमेरिकी अन्तरिक्ष केन्द्र निर्माण गर्नका पुनः प्रयोग गरेको थियो । स्काइल्याब सन् १९७३ देखि १९७४ सम्म सञ्चालन रह्यो । त्यस्तै, चन्द्र अभियानअन्तर्गतका ‘स्याटर्न आइबी’ शृंखलाका बचेका रकेट तथा अपोलोको कमान्ड तथा सेवा मोड्युल प्रयोगमा ल्यायो । 

त्यसपछिका ३० वर्षमा नासा मुख्यतः स्पेस सटलको विकासमा केन्द्रित रह्यो । पटक–पटक प्रयोग गर्न सकिने स्पेस सटलले अन्तरिक्षको तल्लो कक्षमा उपग्रह राख्नेदेखि सूक्ष्म गुरुत्वाकर्षण अनुसन्धानमा ठुलो सहयोग पुर्यायो । 

यी काम भविष्यमा लामो समयसम्म चल्ने मानव अभियानलाई सक्षम पार्ने उद्देश्यका साथ भइरहेको थियो । स्पेस सटल कार्यक्रमले सन् १९९८ देखि अन्तरिक्षमा बन्दै गरेको ‘इन्टरनेसनल स्पेस स्टेसन (अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र)’को निर्माण, मर्मतसम्भार र त्यहाँ बस्ने अन्तरिक्षयात्री ल्याउने लाने कामलाई सहज बनायो ।

बुसको ‘भिजन फर स्पेस क्प्लोरेसन’
नयाँ सहस्राब्दी नजिकिँदै गर्दा, विल क्लिन्टनको सरकारले नासालाई अन्तरिक्ष केन्द्रभन्दा पर सोच्ने जिम्मेवारी दियो । रोबोट र मानिसले मिलेर अन्तरिक्षमा के गर्न सक्छन् ? र, यो संयुक्त शक्तिलाई कहाँ लगाउन सकिन्छ ? उल्लेखनीय रूपमा, ह्वाइटहाउसले त्यतिवेला पृथ्वीको वायुमण्डलको तल्लो कक्षभन्दा पर चासो व्यक्त गर्यो । र, नासा तत्कालीन सरकारको अनुरोध पूरा गर्न तयारी अवस्थामा थियो । 

नासाका तत्कालीन प्रमुख (एड्मिनिस्ट्रेटर) डेनियल गोल्डिन आफैँले नयाँ आउने राष्ट्रपतिसामु लाने प्रस्ताव तयार गर्नेबारे सोचिरहेका थिए र उनले केही समयअघि मात्र चन्द्रमामा मानव फिर्तीको अध्ययन गराएका थिए । सन् १९९९ मा गोल्डिनले २१औँ शताब्दीका लागि नयाँ प्रविधि, अन्तरिक्ष अभियान र गन्तव्यको अनुसन्धान गर्न एक टोली गठन गरे । फेब्रुअरी २००३ मा कोलम्बिया स्पेस सटलको दुर्घटनापछि यस प्रयासले थप महत्व पायो । नयाँ राष्ट्रपति जर्ज डब्लु बुसको सरकारका सदस्यसमेतले मानव दलसहितको अन्तरिक्ष उडान कार्यक्रमको निरन्तरतामाथि विमर्श सुरु गरे । 

बुस सरकारभित्रको छलफलको निचोडका रूपमा अन्ततः सन् २००४ मा ‘भिजन फर स्पेस एक्प्लोरेसन’ जारी भयो । यसले नासालाई बन्दै गरेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको निर्माण पूरा भएपछि कोलम्बियाजस्तो अन्तरिक्ष सटललाई बन्द गर्न निर्देशन दियो । साथै, यसले मानिसलाई पुनः चन्द्रमामा फर्काउने लक्ष्य लियो । यसका लागि नासालाई अन्तरिक्षको तल्लो कक्षभन्दा परको गन्तव्यका लागि डिजाइन गरिएको चालक दलसहितको अन्तरिक्षयान केन्द्रित हुन भन्यो । त्यस अतिरिक्त ‘भिजन फर स्पेस एक्प्लोरेसन’ले मंगलग्रहमा रोबोटमार्फत भइरहेको अन्वेषण जारी राख्न भन्दै अन्तरिक्षको काममा निजी कम्पनी र अन्तर्राष्ट्रिय साझेदारलाई सहकार्य गर्न आह्वान पनि गर्यो ।

उसो त त्यसको १५ वर्षअघि, जर्ज डब्लु बुसका पिता जर्ज एच डब्लु बुसले पनि चन्द्रमा र मंगलग्रहको अन्वेषण कार्यक्रमको घोषणा गरेका थिए । तर, कार्यक्रमको उच्च लागतबारे कांग्रेसमा प्रश्न उठेपछि त्यो अघि बढ्न सकेको थिएन ।

‘कोन्स्टिलेइसन’ कार्यक्रमको विरासत
‘भिजन फर स्पेस एक्प्लोरेसन’को लक्ष्यअनुरूप नासाले सन् २००४ डिसेम्बरमा चालक दलसहितको अन्वेषण यानको निर्माण कम्पनी खोज्ने प्रक्रिया सुरु गर्यो । अगस्ट २००६ सम्म, अन्तरिक्ष एजेन्सीले लकहिड मार्टिनलाई क्याप्सुल निर्माण गर्ने ठेक्का प्रदान गर्यो । क्याप्सुलको नाम ओरियन दिएको छ र त्यसैमा सवार भएर आर्टि{मिसमा सवार अन्तरिक्ष यात्रीहरू चन्द्रमा लगिँदै छन् । ओरियनलाइ ‘एअरिज प्रथम’ मानवयान र ‘एअरिज पाँचौँ’ कार्गोयानसँगसँगै वर्षौँ लामो अनुसन्धान, विकास र परीक्षण गरियो । यी प्रविधिहरू मिलेर ‘कोन्स्टिलेइसन’(जसको अर्थ नक्षत्र भन्ने हुन्छ) कार्यक्रम घोषणा गरिएको थियो ।

‘कोन्स्टिलेइसन’ कार्यक्रमका दुई प्राथमिक उद्देश्यहरू थिएः छोटो अवधिका लागि, स्पेस सटलको प्रयोग बन्द गरिएपछि भएपछि अन्तरिक्षयात्रीलाई अन्तरिक्ष केन्द्रसम्म लान र ल्याउन मद्दत गर्नु र लामो कालमा मानिसलाई पुनः चन्द्रमा फर्किन सक्षम बनाउने । पृथ्वीको कक्ष तथा चन्द्रमावरिपरि काम गर्न सक्ने प्रणाली निर्माण गर्न सके दुई फरक उद्देश्यका लागि अलग रकेट विकास गर्नुपर्ने समय र खर्च बचत हुने अपेक्षा गरिएको थियो । त्यसबाहेक प्रयोगबाट हटाइएको स्पेस सटलका पार्टपुर्जालाई उपयोगमा ल्याएर खर्च घटाउने प्रयास पनि गरियो ।

सन् २००९ मा बाराक ओबामा राष्ट्रपति बनेलगत्तै उनको सरकारले नासाको मानव अन्तरिक्ष उडान योजनाको स्वतन्त्र समीक्षा सुरु गर्यो । सेवानिवृत्त अन्तरिक्षयात्री नर्मन अगस्टिनको अध्यक्षतामा रहेको ‘अगस्टिन समिति’ले अध्ययनमार्फत नासाको महत्वाकांक्षा यसको सीमित बजेटभन्दा बढी रहेको र न्यून बजेटले योजना कार्यान्वयनमा ढिलाइ भइरहेको पत्ता लगायो । अवस्था सुधार नभएर अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको सञ्चालन बन्द भएपछि मात्र पहिलो ओरियन अन्तरिक्षयान सञ्चालन आउने सम्भावना देखियो ।

अगस्टिन समितिले तत्कालीन बजेटलाई यथावत् राखेर अगाडि बढ्ने विभिन्न विकल्पको प्रस्ताव गर्यो, जसमा मुख्यत नयाँ अन्तरिक्षयान र अन्तरिक्ष केन्द्रसम्बन्धित कार्यक्रमलाई प्राथमिकता दिइयो । तीन अर्ब अमेरिकी डलरको अतिरिक्त वार्षिक लगानीले पृथ्वीको तल्लो कक्षभन्दा परसमेत मानव अन्वेषण सम्भवतः हुने समितिले औँल्यायो । अन्ततः, कार्यान्वयन गर्न कठिन भएको भन्दै ओबामा सरकारले कन्स्टिलेसन कार्यक्रम नै खारेज गरिदियो । तथापि, त्यसका दुई प्रविधि भने कायम रहे । 

सन् २०१० मा जारी भएको ‘नासा अथोराइजेसन एक्ट’ले ओरियनको निरन्तर विकासलाई बजेट छुट्यायो । तथापि, त्यस विधेयकले अन्तरिक्ष केन्द्रमा चालक दल ल्याउने–लग्ने कामको जिम्मेवारी व्यावसायिक अन्तरिक्षयानलाई दियो । यसले नासालाई चन्द्रमामा ओरियनलाई चन्द्रमा पठाउने ‘अन्तरिक्ष प्रक्षेपण प्रणाली’ विकास गर्न निर्देशन दियो । यसका लागि रद्द भएको ‘एअरिज पाँचौँ’ को हेभी बुस्टरको पुनः डिजाइन गरेर काम चलाउन भनिएको थियो । यो प्रविधि रणनीतिले कैयौँ कंग्रेसले क्षेत्रमा अन्तरिक्षसम्बन्धी ठेक्कालाई निरन्तरता दिने भएकाले यसले रोजगारी गुम्न दिएन, जसले अन्ततः राजनीतिक फाइदा पनि रह्यो । 

डिसेम्बर २०१४ मा, ‘डेल्टा चौथो’ नामक हेभी रकेटले परीक्षण उडानमा पहिलोपटक ओरियन क्याप्सुल प्रक्षेपण गर्यो । यसले इन्जिनियरहरूलाई अन्तरिक्षयान प्रणाली र त्यसमा प्रयोग हुने ताप ढालसम्बन्धी महत्वपूर्ण तथ्यांक दियो । अक्टोबर २०१५ सम्ममा, उक्त अन्तरिक्ष प्रक्षेपण प्रणालीले एक महत्वपूर्ण डिजाइन समीक्षा पूरा गरेको थियो, जसलाई निर्माण सुरु हुनुअघि अन्तिम चरण मानिन्छ ।

के हो आर्टिमिस शृंखला ? 
डिसेम्बर २०१७ मा, ट्रम्पले पहिलो कार्यकाल सम्हालेपछि उसको सरकारले नासालाई मानवसहित चन्द्रमामा फर्कने अभियान सुरु गर्न नीतिगत निर्देशन जारी गर्यो । लगत्तै अमेरिकी अन्तरिक्ष एजेन्सी(नासा)ले सन् २०२४ सम्ममा मानिसलाई चन्द्रमामा उतार्ने महत्वाकांक्षी अवतरण मिति तय गर्यो । ‘ओरियन’ र नासा अथोराइजेसन एक्ट’अनुरूप बनेको ‘अन्तरिक्ष प्रक्षेपण प्रणाली’ प्रयोग गरिने यस कार्यक्रमलाई नासाले मे २०१९ मा आधिकारिक रूपमा ग्रिक मिथकअनुरूप सिकारकी देवी ‘आर्टिमिस’बाट नाम दियो । 

यसमा नोभेम्बर २०२२ मा २५ दिने ‘आर्टिमिस प्रथम’ अभियान प्रमुख कोसेढुंगा रह्यो । मानवरहित सो उडान ‘अन्तरिक्ष प्रक्षेपण प्रणाली’को पहिलो उडान थियो । साथै, यो उडान अन्तरिक्ष प्रक्षेपण प्रणाली र ओरियनले पहिलोपटक एकीकृत अभियान थियो । त्यही उडानले गत बुधबारको मानवसहित चन्द्रमावरपर चक्कर लगाउन पठाइएको ‘आर्टिमिस द्विवतीय’का आधार तयार पारेको थियो । आर्टिमिस द्वितीयले अब आर्टिमिस चतुर्थको चन्द्रमा धरातलमा अवतरणका लागि आधार तयार गर्नेछ । 

(मार्गोलिस अमेरिकाको अन्तरिक्षसम्बन्धी संग्रहालय ‘नेसनल एअर एन्ड स्पेस म्युजियम (स्मिथसोनियन इस्टिच्युट)’मा समकालीन अन्तरिक्ष उडानकी संग्रहाध्यक्ष हुन् । द कन्भरर्सेसनमा प्रकाशित यो आलेख श्रवण उप्रेतीले अनुवाद गरेका हुन् ।)
 

सुझावित समाचार