झन्डै १४ लाख रुपैयाँबराबरको तामाको तार बेचेर हिनामिना गरेको आरोप लागेका सबै प्रतिवादीलाई विशेष अदालतले सफाइ दिएको छ। सोमबार विशेष अदालतले यस मुद्दामा संलग्न चारैजनालाई निर्दोष ठहर गर्दै सफाइ दिने फैसला गरेको हो।
यस मुद्दामा नेपाल विद्युत् प्राधिकरण, पोखरा वितरण केन्द्रका तत्कालीन प्रमुख राजीवकुमार सिंह, सहायक लेखा अधिकृत (स्टोर प्रमुख) लोकप्रसाद काफ्ले, तथा कान्तिपुर सेक्युरिटी प्रालिका गार्ड रामकुमार पुर्जा र हेम शर्मा रिमाल प्रतिवादी थिए। उनीहरूले आपसी मिलेमतोमा १३ लाख ९३ हजार रुपैयाँभन्दा बढीको तामाको तार बेचेर रकम हिनामिना गरेको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको थियो।
प्राधिकरणको कोत्रे पोल प्लान्टस्थित स्टोरबाट विभिन्न परिमाणमा तामाको तार हराएको भन्दै पोखरा वितरण केन्द्रका प्रमुखले २०८० वैशाखमा कार्यालय प्रमुखसमक्ष निवेदन दिएका थिए। सो घटनाको छानबिनका क्रममा ९ सय मिटरभन्दा बढी तामाको तार कम्पाउन्ड बाहिर लैजान सुरक्षा गार्डहरूको सहयोगमा मेसिन प्रयोग गरिएको र मिलेमतोमा काम भएको देखिएको अनुसन्धानमा उल्लेख गरिएको थियो।
यसै विषयमा अख्तियारले गत पुस २९ गते मुद्दा दायर गरेको थियो। तर, अन्ततः अदालतले सबै प्रतिवादीलाई सफाइ दिएको हो।