- विज्ञले मेटा र युट्युबजस्ता बिग टेकको विपक्षमा भएको फैसलालाई ‘सुर्तीजन्य कम्पनीविरुद्ध भएको ऐतिहासिक फैसला’जस्तै मानेका छन्
लस एन्जलसको एक अदालतले आमनागरिकद्वारा दायर एउटा ऐतिहासिक मुद्दामा फैसला गर्दै अल्फाबेटको गुगल र मेटाको फेसबुकले युवालाई आफ्नो ‘प्लाटफर्म’मा जानाजान ‘एडिक्ट’ बनाएको जनाएको छ । त्यसका लागि ती कम्पनीले क्षतिपूर्ति तिनुपर्ने फैसला पनि अदालतले गरेको छ । फैसलापछि सामाजिक सञ्जाल प्रयोगले आफ्ना बालबच्चालाई हानि पुर्याएको दाबी गर्ने अभियानकर्ता तथा अभिभावकले जुरीको निर्णयलाई स्वागत गरे । बुधबारको निर्णय त्यो एक मुद्दाको अन्त्यमा आएको हो, जसमा मुद्दा दायर गर्ने वादीको कानुनी टोलीले गुगल र फेसबुक आफ्नो प्लाटफर्मको डिजाइन नै लत लाग्ने गरी बनाएकाले उनीहरूले क्षतिपूर्ति तिनुपर्ने तर्क गरेको थियो ।
यस मुद्दाकी वादी २० वर्षीया महिला हुन्, जसलाई लस एन्जलस काउन्टीस्थित क्यालिफोर्निया राज्यको सर्वोच्च अदालतले उनको नामको सुरुवाती अक्षरबाट केजिएम भनेर उल्लेख गरेको छ । केजिएमले मुद्दा सम्बन्धमा फेब्रुअरीमा गवाही दिएकी थिइन्, जहाँ उनले सामाजिक सञ्जालको प्रारम्भिक प्रयोगले त्यसको लत बसाएको र अन्ततः डिप्रेसन तथा आत्महत्याजन्य विचार बढाएको आरोप लगाइन् । साथै, अधिक सामाजिक सञ्जाल प्रयोगले शरीरमा डिस्मोर्फिया (जुन डाक्टरले निदान गरेको अवस्था) भएको उनले बताएकी थिइन् ।
फेब्रुअरीमा केजिएमले बताएअनुसार उनले ६ वर्षको उमेरमा युट्युब र नौ वर्षको उमेरमा इन्स्टाग्राम प्रयोग गर्न थालेकी थिइन् । प्राथमिक विद्यालय पूरा गर्दासम्ममा उनले युट्युबमा २८४ भिडियो पोस्ट गरिसकेकी थिइन् । वादीले अदालतमा भनिन्, ‘बिस्तारै पूरै समय सामाजिक सञ्जालमा बिताउन थालेसँगै मेरो परिवारसँगको सम्पर्क पूरै विच्छेदजस्तै भयो । उनमा १० वर्ष पुग्दासम्ममा एन्जाइटी र डिप्रेसनका लक्षण देखिन थाले, जुन पछि पुष्टि भयो । केजिएमका अनुसार उनले प्लाटफर्ममार्फत लाइकसमेत ‘किन्न’ थालिन्, जसमा उनले अन्य व्यक्तिका तस्बिरमा ‘लाइक’ गरेबापत उनका सामग्रीमा धेरै लाइक प्राप्त हुन्थ्यो । केजिएमका अनुसार योलगायत अन्य धेरै सुविधालाई वकिलले कम्पनीले जानाजानी लत लाग्ने गरी डिजाइन गरिएको बताए । वादीलाई यही लतका कारण विद्यालयमा पनि शौचालय गएर नोटिफिकेसन हेर्ने बानी बस्यो ।
वादीले सन् २०१९ मा ६ महिनासम्म परामर्श लिएकी चिकित्सक भिक्टोरिया बर्कले पनि यस मुद्दाका क्रममा फेब्रुअरीमा बयान दिएकी थिइन् । उनका अनुसार पनि केजिएमको सामाजिक सञ्जालको प्रयोग र आफूप्रतिको सोच एक–अर्कासँग गाँसिएको थियो, र अनलाइनका सामग्रीले उनलाई प्रभावित बनाइरहेका थिए ।
जुरीले इन्स्टाग्रामको डिजाइन वा सञ्चालनमा यसको सञ्चालक कम्पनी मेटाले लापरबाही गरेको पाए । र, यो लापरबाही वादीलाई हानि पुर्याउन ‘पर्याप्त कारक’ भएको पाए । यही सन्दर्भमा इन्स्टाग्राम प्रयोगका खतराबारे प्रयोगकर्तालाई पर्याप्त चेतावनी दिन असफल भएकामा जुरीले मेटा जिम्मेवार रहेको पाए । जुरीले गुगलले युट्युब डिजाइन वा सञ्चालन गर्ने कुरामा लापरबाही गरेको र त्यो वादीलाई हानि पुर्याउन ‘पर्याप्त कारक’ भएको पाए । युट्युबका खतराबारे प्रयोगकर्तालाई पर्याप्त रूपमा चेतावनी दिन असफल भएकामा गुगललाई जिम्मेवार देखाइयो ।
अधिकांश जुरी सदस्यले माथिको निष्कर्षमा सहमति जनाए र वादीलाई पुगेको क्षतिका लागि ३० लाख डलर क्षतिपूर्ति प्रदान गर्नुपर्ने निर्णय गरे । कम्पनीहरूले आफ्नो प्लाटफर्म प्रयोग गरेर बालबालिकालाई हानि पुर्याउँदा द्वेष, दमन वा धोखाधडीका साथ काम गरेको निर्णय गरेपछि जुरी सदस्यले पछि कम्पनीविरुद्ध अलग ३० लाख दण्डात्मक क्षतिपूर्ति सिफारिस गरे । कुल क्षतिको ७० प्रतिशतका लागि मेटा उत्तरदायी हुनेछ भने बाँकीका लागि गुगल उत्तरदायी हुनेछ । न्यायाधीशले यस मुद्दामा अन्तिम निर्णय अझै गरिसकेका छैनन्, र औपचारिक निर्णय कहिले हुनेछ भन्ने कुरा पनि अझै अनिश्चित नै छ ।
‘यो निर्णय अहिले सामान्य रूपमा बुझिएभन्दा धेरै महत्वपूर्ण छ । यसले सामाजिक सञ्जाल कम्पनीद्वारा हानि पुर्याइएका थप व्यक्तिद्वारा क्षतिपूर्ति दाबीको ढोका खोल्छ,’ आइरिस काउन्सिल फर सिभिल लिबर्टिजका वरिष्ठ फेलो जोनी रायनले भने । रायनका अनुसार अब अमेरिका र युरोपेली संघमा सामाजिक सञ्जाल कम्पनीले झन् ठुला कानुनी जोखिम सामना गर्न थाल्नेछन् । किनभने, तिनले सिफारिस गर्ने एल्गोरिदम संवेदनशील व्यक्तिगत डेटामा निर्भर गर्छ, जसको प्रशोधन गैरकानुनी हुन सक्छ । ‘कैयौँ विज्ञले यो फैसलालाई बिग टेकविरुद्ध ‘सुर्तीजन्य कम्पनीविरुद्ध भएको ऐतिहासिक फैसला’सँग तुलना गरिरहेका छन् । लामो समयको अस्वीकृतिपछि सुर्तीजन्य उद्योगले अन्ततः आफ्नो उत्पादन हानिकारक भएको मात्र नभई यसबारे उनीहरूलाई पहिल्यैदेखि थाहा भएको स्विकार्नुपरेको थियो,’ लन्डनको गोल्डस्मिथस विश्वविद्यालयका प्राध्यापक रोजालिन्ड गिलले बताइन् ।
(समिम जलवायु फरिवर्तन र अन्तर्त्रियात्मक डेटा विषयमा लेख्छिन्)
अल जजिराबाट