जापानी ऋण सहयोगमा निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको ठेक्का चिनियाँ कम्पनीले पाउने भएको छ । प्राविधिक रूपमा छनोट भएका सात प्रतिस्पर्धीमध्ये युक्सिन–एआरटी संयुक्त उपक्रमको वित्तीय प्रस्ताव सबैभन्दा कम देखिएको छ । योसँगै अब परियोजना सञ्चालनको ठेक्का पनि सोही कम्पनीले पाउने देखिएको विभागका एक उच्च अधिकारीले जानकारी दिए ।
युक्सिन चिनियाँ र एआरटी नेपाली कम्पनी हो । परियोजना कार्यालयले ठेकेदार छनोटको प्रस्ताव विभागीय स्वीकृतिका लागि सडक विभागमा पठाएको छ । विभागबाट स्वीकृति आएपछि परियोजना कार्यालयले सम्बन्धित कम्पनीलाई ठेक्का दिने गरी आशयपत्र जारी गर्नेछ । यद्यपि, परियोजना प्रमुख सौजन्य नेपालले अहिले नै कुन कम्पनीले ठेक्का पाउँछ भन्न नमिल्ने बताए । ‘अहिले यो ठेक्का मूल्यांकनकै चरणमा छ । विभागीय स्वीकृतिका लागि सडक विभागमा फाइल पठाएका छौँ । त्यहाँबाट स्वीकृति आएपछि छनोट हुने कम्पनीलाई ठेक्का दिने गरी आशयपत्र जारी गर्छाैँ,’ उनले भने, ‘अब एक सातामा आशयपत्र जारी गर्ने लक्ष्य छ ।’
नेपालमा सञ्चालनमा आउन लागेको यो पहिलो आधुनिक सुरुङमार्ग हो । तर, नेपालमा सुरुङमार्ग सञ्चालन गरेको अनुभव कुनै पनि निकाय तथा कम्पनीसँग छैन । त्यसमाथि सडक विभागले जापानिज निर्माण कम्पनी हाज्मा एन्डो कर्पाेरेसनसँग निर्माणसम्बन्धी मात्रै काम गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । सोही कारण विभागले सुरुङमार्ग सञ्चालनमा पहिलो पाँच वर्षका लागि विदेशी सेवाप्रदायक कम्पनी ल्याउने गरी १६ कात्तिकमा बोलपत्र आह्वान गरेको थियो । त्यसमा विदेशी कम्पनीले नेपाली कम्पनीलाई संयुक्त उपक्रममा अनिवार्य राख्नुपर्र्ने सर्त थियो । सर्तअनुसार विभिन्न १० कम्पनीले प्रस्ताव पेस गरेकामा प्राविधिक रूपमा सात कम्पनी उत्तीर्ण भएका थिए ।
त्यसमा काष्ठमण्डप–गान्सु हेङटोङ जेभी (बल्खु– १४), एसएक्सआरबी–ब्राइट बुल जेभी (धरान– १३, सुनसरी), जेटिसिजी–डाँफे जेभी (शान्तिनगर), इएमएसएल–पिएससिपिएल जेभी (अहमदाबाद, गुजरात, भारत), समानान्तर–सिएफएचइसी जेभी (पुरानो बानेश्वर– ९), युक्सिन–एआरटी संयुक्त उपक्रम (बालाजु– ११) र वेदान्सी–रेन्केन संयुक्त उपक्रम (बुढानीलकण्ठ– ४) प्राविधिक रूपमा सफल भएका हुन् । यीमध्ये युक्सिन–एआरटी संयुक्त उपक्रमको वित्तीय प्रस्ताव सबैभन्दा न्यून भएको स्रोतको भनाइ छ । ‘प्राविधिक रूपमा उत्तीर्ण भएकामध्ये जसको वित्तीय प्रस्ताव न्यून छ, उसले नै ठेक्का पाउने हो,’ स्रोतले भन्यो, ‘यसमा युक्सिन–एआरटी संयुक्त उपक्रमको वित्तीय प्रस्ताव सबैभन्दा कम छ । सम्भव उसले नै यो ठेक्का पाउनेछ ।’
वैशाखमा ट्रायल, असारदेखि व्यावसायिक सञ्चालन
सडक विभागले आगामी वैशाखमा सुरुङमार्गलाई ट्रायल (परीक्षण)का रूपमा सञ्चालन गर्ने लक्ष्य लिएको छ । यही चैत महिनाभित्र सर्भिस प्रोभाइडर कम्पनीसँग ठेक्का सम्झौता गर्ने विभागको तयारी छ । छनोट हुने कम्पनीले ठेक्का सम्झौता गरेको १५ दिनभित्र फिल्डमा परिचालन भइसक्नुपर्नेछ । सम्झौता गरेको तीन महिनामा सुरुङमार्गलाई सञ्चालनमा ल्याउनुपर्नेछ ।
नयाँ ठेकदार फिल्डमा परिचालन हुनका लागि हाल परियोजना निर्माण गरिरहेको जापानिज निर्माण कम्पनी हाज्मा एन्डो कर्पाेरेसनले सरकारलाई परियोजना हस्तान्तरण गर्नुपर्नेछ । त्यसपछि सरकाले सर्भिस प्रोभाइडर कम्पनीलाई परियोजना हस्तान्तरण गर्नेछ । जापानिज कम्पनीलाई दिइएको ठेक्काको म्याद १२ वैशाखसम्मको छ । हाल परियोजनाको निर्माण सम्पन्न भइसकेको छ । अब टोल बुथको अन्तिम चरणको मात्रै काम गर्न बाँकी छ । त्यसो हुँदा १२ वैशाखअघि नै जापानिज कम्पनीले परियोजना हस्तान्तरण गर्ने तयारी छ । त्यसलगत्तै सर्भिस प्रोभाइडर कम्पनी फिल्डमा परिचालन हुनेछ । वैशाखमै परीक्षणका रूपमा सुरुङमार्ग सञ्चालन गराउने तयारी छ । त्यसपछि उक्त कम्पनीले सम्झौता गरेको तीन महिनाभित्र अर्थात् असारभित्र सुुरुङमार्गलाई व्यावसायिक रूपमा सञ्चालनमा ल्याउनेछ ।
कति तोकिएको छ शुल्क ?
सुरुङमार्ग हुँदै काठमाडौं भित्रिँदा कार तथा भ्यानहरूलाई ६५ रुपैयाँ, मिनीबस तथा ट्रकलाई एक सय १५ रुपैयाँ, ठुला बस तथा ट्रकलाई दुई सय ६० रुपैयाँ र भारी उपकरणलाई ६ सय रुपैयाँ शुल्क तोकिएको छ । यस्तै, सुरुङमार्ग हुँदै काठमाडौंबाट बाहिरिँदा कार तथा भ्यानलाई ६० रुपैयाँ, मिनीबस तथा ट्रकलाई ८० रुपैयाँ, ठुला बस तथा ट्रकलाई दुई सय रुपैयाँ र ठुला उपकरणलाई दुई सय ५० रुपैयाँँ शुल्क तोकिएको छ । सडकको बोर्डमा जम्मा हुने गरी सेवाप्रदायक कम्पनीले नै टोल ट्याक्स उठाउनुपर्नेछ ।
परियोजनामा मुख्यतः मुख्य र रेस्क्यु गरेर दुई सुरुङमार्ग छन् । पश्चिम धादिङको सिस्नेखोलाबाट सुरु भएको सुरुङमार्ग काठमाडौं नागढुंगामा निस्कनेछ । २६ सय ८८ मिटरको मुख्य सुरुङमार्ग ३ वैशाख ०८१ र २,५५७ मिटरको रेस्क्यु टनेल भने २२ साउन ०८० मा छिचोलिएको थियो । मुख्य टनेल नियमित यातायात प्रयोजन र रेस्क्यु टनेल उद्धारकार्यमा प्रयोग हुनेछ । पछि ट्राफिक बढेको अवस्थामा रेस्क्यु टनेल विस्तार गरेर नियमित रूपमा सञ्चालन गर्ने तयारी छ ।
परियोजनाको लागत २८ अर्ब रुपैयाँ रहेको छ । त्यसमा साढे २२ अर्ब रुपैयाँ जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले ऋण दिइरहेको छ । बाँकी सरकारले लगानी गरेको छ । यो आयोजना बनाउन विभाग र निर्माण कम्पनी हाज्मा एन्डो कर्पाेरेसनबिच २३ सेप्टेम्बर ०१९ मा सम्झौता भएको थियो । त्यसमा डिसेम्बर ०२० (पुस ०७७) देखि सुरुङ निर्माणको काम सुरु गरेको थियो । त्यसको साढे पाँच वर्षमा परियोजना सञ्चालनमा आउन लागेको हो ।
यी हुन् छनोट हुने कम्पनीले गर्नुपर्ने काम
छनोट हुने कम्पनीले पाँच वर्षसम्म सुरुङमार्ग सञ्चालन तथा मर्मतसम्बन्धी सम्पूर्ण काम गर्नुपर्नेछ । सुरुङ २४सै घण्टा सञ्चालन गर्नुपर्ने हुनाले दुर्घटना, आगलागी वा प्रणाली बिग्रिएमा तत्कालै आपत्कालीन सेवा आवश्यक हुन्छ । सेवाप्रदायकले सिफ्ट प्रणालीमा कर्मचारी खटाउने, आपत्कालीन टोली स्थापना गर्ने हुनाले समयमै सेवा दिने व्यवस्था गर्नुपर्ने हुन्छ । यसका लागि एक सय ५० जना कर्मचारी चाहिने देखिएको छ ।
सुरुङ सञ्चालन तथा मर्मत प्रमुखको नेतृत्वमा कर्मचारी रहनेछन् । सुरक्षा व्यवस्थापन युनिटमा सबैभन्दा बढी ६४ जना कर्मचारी रहने व्यवस्था गरिएको छ । त्यसपछि टोल उठाउन ५४ जना कर्मचारी रहनेछन् । ट्राफिक सुविधा अनुगमन तथा नियन्त्रणका लागि १४ जना, सिभिल संरचना तथा अन्य संरचना मर्मतका लागि आठ–आठजना कर्मचारी रहने व्यवस्था गरिएको छ । सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि उपभोग दस्तुर (टोल ट्याक्स) स्वीकृत गरिएको छ ।