संखुवासभाको मकालुबाट सुत्केरीको हेलिकाेप्टरद्वारा उद्धार

सोमबार, ९ चैत, २०८२
डिजिटल संस्करण

संखुवासभाको मकालु गाउँपालिकाबाट एक सुत्केरीको उद्धार गरिएको छ ।  मकालु गाउँपालिका– २, सेदुवा घर भएकी १४ वर्षीया फुर्लामु शेर्पाको आज (आइतबार) दिउँसो करिब साढे ३ बजे सुत्केरी बेथा लागेर गम्भीर अवस्था भएपछि नेपाली सेनाको हेलिकाेप्टरद्वारा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपीक्षक कुमारप्रसाद मैनालीले बताए ।

उनका अनुसार मकालु स्वास्थ्य चौकी सेदुवामा सुत्केरी बेथा लागेर भर्ना भएकी शेर्पाले मृत बच्चा जन्माएको, तर सालनाल ननिस्केको, गर्भवती महिलाको हात, खुट्टा, शरीर सुन्निएको र अत्यधिक रक्तस्रावपछि पाठेघरसमेत फुटेको लक्षण देखा परी गम्भीर अवस्था भएपछि नेपाली सेनाको हेलिकप्टाेरद्वारा कोशी अस्पताल विराटनगर पठाएको डिएसपी मैनालीको भनाइ छ ।

गत बुधबार मात्रै मकालु गाउँपालिका– १, वालुङ घर भएकी २८ वर्षकी सरु राईलाई सुत्केरी बेथा लागेर अत्यधिक रक्तस्राव भएपछि सेनाको हेलिकप्टाेरद्वारा उद्धार गरी काठमाडौं प्रसूतिगृह थापाथली पठाइएको थियो । एक साताको अवधिमा संखुवासभाबाट दुईजना सुत्केरीको उद्धार गरिएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सञ्चालित निःशुल्क हवाई उद्धार कार्यक्रमले हिमाली दुर्गम जिल्लामा आपतविपतमा परेकी गर्भवती महिलाहरू धेरैकाे ज्यान बचाएको छ ।

दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको आकस्मिक उद्धार कार्यक्रम अन्यन्तै प्रभावकारी बनेको महिला दिदीबहिनीहरूले बताउँदै आएका छन् । यस राष्ट्रपति महिला उत्थान कार्यक्रमले संखुवासभाका धेरै आमा, दिदीबहिनीहरूकाे ज्यान बचाएको छ ।
 

See More On

सुझावित समाचार