दुई दिनको हावाहुरीले एकको मृत्यु, १४ घाइते

आइतबार, ८ चैत, २०८२
डिजिटल संस्करण

दुई दिनदेखि आएको हावाहुरी, वर्षा, चट्याङलगायतका प्राकृतिक विपत्का कारण एकजनाको मृत्यु र १४ जना घाइते भएका छन् । घटनामा ४० लाख ८६ हजार रुपैयाँ मूल्यबराबरको धनमाल नष्ट भएको छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा चट्याङ लागेर १० जना घाइते भएका छन् । बाँकी चारजना अन्य कारणले घाइते हुनपुगेका छन् । यस अवधिमा हावाहुरी, चट्याङ, वर्षा, आगलागीजस्ता ३६ घटना भएका छन् ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतले शनिबार बिहानसम्म प्राकृतिक विपत्का कारण एकजनाको मृत्यु र १४ घाइते भएको बताइन् । ‘दुई दिनदेखि मुलुकको विभिन्न ठाउँमा हावाहुरी चलेको छ ।

वर्षा र चट्याङ परेका छन् । यसबाट एकको मृत्यु र १४ जना घाइते भएका छन् । अझै तथ्यांक संकलन हुन बाँकी छ,’ उनले भनिन् । प्राधिकरणका अनुसार लगातारको हावाहुरी र वर्षा आइतबार दिउँसोसम्म जारी रहनेछ ।

विशेषगरी मुलुकको मधेश र कोशी प्रदेशमा हावाहुरी र वर्षाको जोखिम रहने प्राधिकरणको दाबी छ । त्यसपछि भने कम हुँदै जाने प्राधिकरणका प्रवक्ता महतले बताइन् । ‘शुक्रबार र शनिबार हावाहुरी र वर्षाका कारण जनजीवन प्रभावित बन्न पुग्यो । यो क्रम आइतबार दिउँसोसम्म कायम रहनेछ । विशेषगरी मधेश र कोशी प्रदेशका केही जिल्लामा यसको जोखिम रहनेछ । त्यसपछि भने कम हुँदै जानेछन्,’ उनले भनिन् ।
 

सुझावित समाचार