मध्यपूर्वमा देखिएको तनावका कारण नेपाली मुद्रा बजारमा डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि एक डलरको खरिद मूल्य १४९.६४ रुपैयाँ र बिक्री मूल्य १५०.२४ रुपैयाँ तोकेको छ, जुन हालसम्मकै उच्च हो ।
शुक्रबार डलरको खरिद मूल्य १४७.९२ रुपैयाँ र बिक्री मूल्य १४८.८२ रुपैयाँ तोकिएको थियो । शनिबार त्यो एकैपटक १.७२ रुपैयाँले बढेको हो । राष्ट्र बैंकले आइतबारका लागि डलरको मूल्य सोही विन्दुमा स्थिर राखेको छ ।
इजरायल र अमेरिका मिलेर गत २८ फेब्रुअरी (१६ फागुन)मा इरानमाथि गरेको आक्रमण र त्यसपछि मध्यपूर्वी मुलुकमा देखिएको तनावका कारण भारतमा डलरको मूल्य बढ्दै आएको छ । त्यसपछि नेपाली मुद्रा बजारमा पनि डलरको मूल्य स्वत: निरन्तर बढ्दै आएको छ ।
नेपाली मुद्रा भारतीय मुद्रासँग पेग (विनिमय दर स्थिर) छ । त्यो अवस्थामा भारतमा डलरको मूल्य बढ्दा नेपालमा बढ्ने र भारतमा घट्दा नेपालमा पनि घट्ने हुन्छ ।
मध्यपूर्वमा देखिएको तनावले विश्वव्यापी अर्थतन्त्रमा अनिश्चितता थपेको छ । यो युद्धका कारण विश्वमा इन्धनको मूल्य बढ्नेलगायतका असर देखिएका छन् । विश्वको व्यापारलाई प्रभावित बनाएको छ । आपूर्ति शृंखला पनि प्रभावित बनाएको छ । यी कारणले अबका दिनमा विश्व अर्थतन्त्र प्रभावित हुने देखिएको छ । विश्वका लगानीकर्ताले सुरक्षित लगानीका लागि डलर खरिद गरेका छन् । त्यसमाथि अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउने संकेत गरिरहेको छ । यी यस्ता कारणले विश्व बजारमा डलरमा माग बढेको छ । यस्तै कारणले पनि विश्व बजारमा डलरको मूल्य बढेको छ । नेपालले स्थिर विनिमय दर नीति लागू गरेको भारतमा पनि डलरको मूल्य बढेको छ । त्यसपछि नेपालमा पनि यसको मूल्य स्वत: बढेको हो ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भारतमा मूल्य बढ्दा नेपालमा पनि स्वत: डलरको मूल्य बढेको बताए । ‘नेपाली मुद्रा भारतीय मुद्रासँग पेग छ र त्यसकै आधारमा अन्य मुद्राको विनिमय दर निर्धारण गरिन्छ,’ उनले भने, ‘अहिले पश्चिम एसिया अर्थात् मध्यपूर्वमा भएको तनावले विश्वमा अनिश्चितता बढेको छ । तेलको मूल्यवृद्धि भएको छ । उत्पादन क्षेत्रमा आक्रमण भएका छन् । विश्वका आपूर्ति शृंखला प्रभावित भएको छ । त्यसले गर्दा भारतमा भएको विदेशी लगानी फिर्ता भएको छ । त्यसले गर्दा भारतमा डलरको मूल्य बढ्न गई नेपालमा पनि स्वत: बढेको हो ।’ भारतमा डलरको माग बढे पनि भारतको केन्द्रीय बैंकले इन्टरभेन्स नगरेको देखिने उनी बताउँछन् । ‘भारतबाट विदेशी लगानी फिर्ता भइरहेको छ । त्यसले गर्दा डलरको माग बढेको छ । तर, त्यसमा भारतको केन्द्रीय बैंकले हस्तक्षेप गरेको छैन,’ उनले भने, ‘त्यसले गर्दा भारतमा मूल्य बढ्न गई नेपालमा पनि बढ्यो ।’
मध्यपूर्व तनावकै कारण भारतीय सेयर बजारमा भएको वैदेशिक लगानी पनि फिर्ता भएको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । ‘यो युद्धबाट भारतको अर्थतन्त्र पनि नमज्जाले प्रभावित भएको छ । त्यसले गर्दा अहिले भारतको सेयर बजारमा भएको वैदेशिक लगानी फिर्ता भएको छ । पछिल्ला दिनहरूमा मात्रै पाँच अर्ब डलरबराबरको यस्तो लगानी फिर्ता भएका समाचार आइरहेका छन् । यो अवस्थामा भारतीय मुद्रा बलियो हुने कुरा आएन । त्यसले गर्दा भारतमा डलरको मूल्य बढेको छ,’ उनले भने, ‘त्यसपछि नेपालमा पनि स्वत: यसको मूल्य बढेको हो । नेपालको व्यापार घाटालगायतका कारण पनि नेपाली मुद्रा बलियो हुने स्थिति छैन ।’
इरान युद्धले नेपाली अर्थतन्त्र नमज्जाले प्रभावित हुने देखिएकाले सरकार गठन गर्न ढिलाइ गर्न नहुने उनी बताउँछन् । ‘इरान युद्धले नेपालको अर्थतन्त्र प्रभावित हुँदै छ । इन्धनदेखि डलरको मूल्य बढिसक्यो । तर, निर्वाचन सकिएको दुई हप्ता हुँदासम्म पनि सरकार गठन गरिएको छैन । किन ढिलो गरिएको छ, त्यो पनि थाहा छैन,’ उनी भन्छन्, ‘तत्काल सरकार गठन गरेर यसबाट पर्ने असरलाई न्यूनीकरण गर्न अग्रसर हुनुपर्छ ।’
महँगीमा दबाब सिर्जना गर्ने
डलरको मूल्य बढेपछि मुद्रास्फीतिमा थप चाप तथा दबाब पर्ने देखिएको छ । इरान युद्धका कारण नेपालमा पेट्रोल तथा डिजेलको मूल्य बढिसकेको छ । विश्व आपूर्ति शृंखला प्रभावित हुँदा वस्तुको मूल्य बढ्न थालेको छ । त्यो अवस्थामा अब आधारमूल्यमै आयात महँगो हुँदै छ । त्यसमा डलर मूल्य बढेपछि आयात थप महँगो हुन जानेछ । र, त्यसले महँगीमा दबाब सिर्जना गर्नेछ । मुद्रास्फीति थप बढ्न सक्ने पूर्वकार्यकारी निर्देशक थापाा बताउँछन् ।
डलरको मूल्य बढ्दाका फाइदा–बेफाइदा
डलरको मूल्य बढेपछि विदेशी मुद्रामा हुने आम्दानी बढ्नेछ । अर्थात्, रेमिट्यान्स, निर्यात, विदेशी पर्यटनमार्फत हुने आम्दानी बढ्नेछ । तर, आयात भने महँगो हुनेछ । यसैगरी, नेपालले तिर्ने वैदेशिक ऋण पनि महँगो हुनेछ । विदेशबाट लिएको ऋण नेपालले डलरमा भुक्तानी गर्नुपर्छ । त्यसले गर्दा डलरको मूल्य बढेको अवस्थामा वैदेशिक ऋणको दायित्व पनि महँगो पर्नेछ । यद्यपि, डलरको मूल्य बढ्नु भनेको नेपाली मुद्रा कमजोर हो ।
तर, यसपालि डलरको मूल्य बढ्दा लाभ लिन सकिने ठाउँ भने छैन । इरान युद्धका कारण पर्यटक आगमन प्रभावित भइसकेको छ । त्यो अवस्थामा पर्यटनबाट लाभ लिन सकिने अवस्था छैन । यसैगरी, इरान युद्धका कारण वैदेशिक रोजगार र रेमिट्यान्स प्रभावित हुने देखिन्छ । त्यो अवस्थामा डलर बढेकै कारण रेमिट्यान्सबाट लाभ लिने सम्भावना पनि कमजोर छ ।