कालीकोट जिल्ला अस्पतालमा पहिलोपटक सिजेरियन सेक्सन (सिएस) प्रविधिबाट एक गर्भवती महिलाको सफल प्रसूति गरिएको छ। खाँडाचक्र नगरपालिकाकी २३ वर्षीया गर्भवती महिलाको चैत ५ गते शल्यक्रियामार्फत सुरक्षित प्रसूति गराइएको हो।
प्रसूतिपश्चात् आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। जिल्ला अस्पतालमा सीमित स्रोत–साधनबिच यस्तो जटिल शल्यक्रिया सम्पन्न गर्नु ठुलो उपलब्धि भएको चिकित्सकहरू बताउँछन्।
अस्पतालका डा. रत्नवीर सुनारका अनुसार दुर्गम क्षेत्रमा सिजेरियन सेवा सञ्चालन गर्नु चुनौतीपूर्ण भए पनि टोलीको समन्वय र प्रयासले सफलतापूर्वक प्रसूति गराउन सम्भव भएको हो। ‘हामीले सिजेरियन सेक्सनमार्फत सुरक्षित रूपमा प्रसूति गराएका छौँ, जुन यहाँको सन्दर्भमा निकै महत्त्वपूर्ण उपलब्धि हो,’ उनले बताए।
उक्त शल्यक्रियामा डा. रत्नवीर सुनार, डा. दर्शन पाण्डे, एनेस्थेसिया असिस्टेन्ट वीरबल चौधरी तथा नर्सिङ टोलीका बबिता ठाकुर, कविता शाही र सहयोगी चन्दा शाहीको सक्रिय सहभागिता रहेको थियो। दुर्गम कर्णाली क्षेत्रमा स्वास्थ्य सेवा विस्तारका लागि यो उपलब्धिलाई महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ। स्थानीयस्तरमै जटिल प्रसूति सेवा उपलब्ध हुन थालेपछि गर्भवती महिलाहरूलाई बाहिर जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।