निवर्तमान सांसद दीपकबहादुर सिंहले सकेनन् जमानत जोगाउन

मकवानपुरका दुबै क्षेत्रमा गरि ३५ जनाको जमानत जफत

मंगलबार, २६ फागुन, २०८२
डिजिटल संस्करण

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा सत्तागठबन्धनका साझा उम्मेदवारलाई हराउँदै मकवानपुर १ बाट विजयी भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता दीपकबहादुर सिंह यसपटक भने जमानतसमेत जोगाउन असफल भएका छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिंहले चार हजार ५७४ मत मात्रै प्राप्त गरेका छन् । कुल सदर मतको १० प्रतिशतभन्दा कम मत पाएपछि उनको जमानत जफत भएको हो ।

यसपटक मकवापनुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतम विजयी भएका छन् भने नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना १४ हजार मतसहित दोस्रो भएकी छन् । यसअघि ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सिंहले सत्तागठबन्धनको साझा उम्मेदवार बनेकी कांग्रेसकी डिनालाई नै पराजित गर्दै पहिलोपटक संसद् यात्रा तय गरेका थिए । उनले २७ हजार ८१६ मत प्राप्त गर्दा डिनाले २५ हजार ४३४ मत पाएकी थिइन् । सिंहले डिनालाई दुई हजार ३८२ मतान्तरले हराएका थिए ।

तर, यसपटकको निर्वाचनमा मत परिणाम नाटकीय रूपमा फेरिएको छ । प्रत्यक्षतर्फ कुल ९५ हजार ३१० मत खसेको मकवानपुर १ मा चार हजार ८०१ मत बदर हुँदा ९० हजार ५०९ मत सदर भएको थियो । निर्वाचन कानुनअनुसार जमानत जोगाउन उम्मेदवारले कम्तीमा सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । सो आधारमा यस क्षेत्रमा जमानत जोगाउन उम्मेदवारलाई नाै हजार ५० मत आवश्यक थियो । तर, सिंहले पाँच हजार मत पनि कटाउन सकेनन् । उनले जम्मा चार हजार ५७४ मत मात्रै ल्याए ।

राजनीतिक रूपमा सिंह लामो समयदेखि मकवानपुरको चुनावी मैदानमा सक्रिय छन् । ०५४ सालमा हेटौँडा नगरपालिकाको मेयरमा राप्रपाबाट उम्मेदवारी दिएका उनी एमालेका डोरमणि पौडेलसँग पराजित भएका थिए । त्यसपछि ०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर २ बाट उम्मेदवार बनेका सिंह एमालेका विरोध खतिवडासँग पराजित भएका थिए भने ०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुर ३ बाट एमालेका अनन्तप्रसाद पौडेलसँग पराजित भएका थिए ।

यस्तै, ०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा पनि सिंहले हेटौँडा उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका थिए । उनी त्यसवेला पनि पराजित भएका थिए । सोही वर्ष मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा भने मकवानपुर १ बाट उम्मेदवार बनेका सिंह शानदार जित निकाल्दै प्रतिनिधिसभा पुगेका थिए । यसपटक पनि अघिल्लो निर्वाचनमा प्राप्त जनमतकै आधारमा विजय दोहोर्याउने लक्ष्यसहित सिंह चुनावी मैदानमा उत्रिएका थिए । तर, रास्वपाको उदयसँगै मतसमीकरण फेरिँदा उनले आफ्नो जमानत पनि जोगाउन सकेनन् ।

दुवै क्षेत्रमा गरी ३५ जनाको जमानत जफत

मकवानपुरको दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएकामध्ये दीपकबहादुर सिंहसहित ३५ उम्मेदवारको जमानत जफत भएको छ । जसमा निर्वाचन क्षेत्र नम्बर १ बाट १८ जना र क्षेत्र नम्बर २ बाट १७ जनाको जमानत जफत भएको हाे । मकवानपुर १ बाट जमानत जफत हुनेहरूमा  श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठ, मंगोल नेसनल अर्गनाइजेसनका युवराज लामा, महेश नेपाली प्रगतिशील लोकतान्त्रिक पार्टीका तेजप्रसाद उप्रेती, जनता समाजवादी पार्टी (जसपा)का दीपक सिन्तान, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महेश नेपाली, नेपाल मजदुर किसान पार्टीकी रञ्जना सुवाल मकजु र जनता समाजवादी नेपालका रूपक लामाको धरौटी जफत भएको हो । 

यस्तै, मकवानपुर १ मै स्वतन्त्र उम्मेदवारी दिएका ज्ञानसागर लामा, सुशीला सुवेदी, राजाराम बोगटी, राजकुमार खड्का, राकेशकुमार शर्मा, मठु पुलामीमगर, प्रमिलाकुमारी खतिवडा, अमर दंगाल, अमिक परियार र टीकाप्रसाद चौलागाईंको पनि जमानत जफत भएको बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिए । 

यसैगरी मकवानपुर क्षेत्र नम्बर २ मा १७ जना उम्मेदवारहरूको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ । यहाँ कुल ९१ हजार २४१ मत खसेकोमा पाँच हजार ६२२ मत बदर हुँदा सदर मत ८५ हजार ६१९ छ । यसको १० प्रतिशतले जमानत जोगाउन आठ हजार ५६१ मत आवश्यक हुन्छ । तर, यस क्षेत्रमा उम्मेदवार बनेका २१ जनामध्ये चारजनाले मात्रै धरौटी जोगाउन सक्दा १७ उम्मेदवारका जमानत जफत भएको हो । 

निर्वाचन कार्यालयका अनुसार जमानत जफत हुनेहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रामबहादुर थोकर, प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्तोष विष्ट, श्रम संस्कृति पार्टीका युनेश लामा स्याङ्तान, जनता समाजवादी पार्टीका छविलाल वाइवा, राष्ट्रिय जनमोर्चाका नीरबहादुर सिन्तान, नेकपा माओवादीका राम घलान, उज्यालो नेपाल पार्टीका प्रवीण स्याङ्तान, संयुक्त नागरिक पार्टीका शुभराज प्रजा, नेपाल मजदुर किसान पार्टीका सरोज तामाङ, नेसनल रिपब्लिक पार्टीका सूर्य तामाङ बल, आम जनता पार्टीका सूर्य राई र मंगोल नेसनल अर्गनाइजेसनका हिरालाल स्याङ्तान रहेका छन् । यस्तै, स्वतन्त्र उम्मेदवारी दर्ता गराएका अमृत बल, कृष्णराम श्रेष्ठ, प्रतीक्षा बानियाँ, रमेश आचार्य र सीतामाया बलको पनि धरौटी जफत भएको हो ।

सुझावित समाचार