विध्वंसात्मक हुनेछ इरानको विखण्डन

सोमबार, २५ फागुन, २०८२
डिजिटल संस्करण
  • इजरायली गुप्तचर एजेन्सीले पृथकतावादलाई सघाउन सुरु गरिसकेको छ भने युद्ध अन्त्यपछिको योजनाबारे अन्योलमा रहेको अमेरिकाले समेत यस ‘रणनीति’मा विचार गरिरहेको छ

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु अन्तत: आफूले चाहेअनुरूपको इरानसँग युद्ध सुरु गर्न सफल भएका छन् । हुन पनि इरान मध्यपूर्वको एक मात्र त्यस्तो शक्ति हो, जोसँग इजरायल त्रसित हुन्छ र जसलाई इजरायल कमजोर बनाउन चाहन्थ्यो । संयुक्त राज्य अमेरिका यस अवैध युद्धको नाम मात्रको वरिष्ठ साझेदार भए पनि यो मूलत: नेतन्याहुको युद्ध हो । किनकि यसको रणनीतिदेखि लक्ष्यसम्म उनैले निर्देशित गरिरहेको देखिन्छ । इजरायलले नै इरानी शीर्ष नेतृत्वको छानीछानी मार्ने र छात्रा पढ्ने स्कुलसमेत नछुट्याई आक्रमण गर्दै यो युद्ध सुरु गरेको थियो ।

इजरायलले हालैका वर्षहरूमा हमास, हिजबुल्लाह र हुथीविरुद्ध यही रणनीति प्रयोग गरेको देखिँदै आएकै हो । तथापि, यसअघि नै इजरायली गुप्तचर निकाय मोसादले इरानभित्र पनि देशका भौतिकशास्त्री र इन्जिनियरको हत्या अभियान चलाइरहेको थियो । इरान नौ करोड ३० लाख मानिस भएको धेरै ठुलो देश हो, जसको आकार झन्डै युरोपको फ्रान्स, जर्मनी र स्पेनको बराबर छ । यस्तोमा विशाल देशलाई अमेरिकाले त पूर्ण कब्जा गर्न सक्दैन भने सानो आकारको इजरायलले सक्ने कुरै छैन । त्यसैले इजरायलका युद्ध सरदारहरूले लामो समयदेखि इरानलाई विभिन्न जातीय राज्यमा विभाजित गर्नुपर्ने पैरवी गर्दै आएका छन् ।

इजरायली गुप्तचर एजेन्सीले पृथकतावादलाई सघाउन सुरु गरिसकेको छ । उता युद्ध अन्त्यपछिको योजनाबारे अन्योलमा रहेको अमेरिकाले समेत यस ‘रणनीति’मा विचार गर्न सुरु गरेको छ । सिएनएनको एक रिपोर्टअनुसार ‘अमेरिकी गुप्तचर संस्था सिआइएले इरानमा लोकप्रिय विद्रोह भड्काउने उद्देश्यले कुर्द सेनाहरूलाई हतियार प्रदान गर्न थालिसकेको छ ।’ 

आखिर इरानलाई टुक्र्याउने विचार इजरायल र अमेरिकाभित्रका केही रणनीतिकारलाई किन आकर्षित गरिरहेको छ भनेर बुझ्न गाह्रो छैन । इरानको कुल जनसंख्याको केवल ६१ प्रतिशत मात्र हामीले भन्ने गरेको ‘इरानी’ अर्थात् फारसी जाति हुन् । फारसीपछि ठुलो संख्या अजरबैजानी टर्क जातिको छ, जसको जनसंख्यामा हिस्सा करिब २४ प्रतिशत छ । विशेष देशको उत्तर–पश्चिम क्षेत्रमा सघन बसोवास भएको यो जाति अर्दाबिलमा केन्द्रित छन् । भर्खरै मारिएका देशका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी सोही जातिका थिए । 

‘अजेरी’ भनिने अजरबैजानी टर्क जातिपछि धेरै इरानी कुर्दहरू छन्, जसको संख्या ७० लाखदेखि १.४ करोडसम्म रहेको छ । छिमेकी इराकको स्वायत्त कुर्दिस्तानसँग जोडिएका उत्तर–पश्चिमी सीमावर्ती प्रान्तहरूमा यो जातिको बसोवास छ । इराकी कुर्दिस्तानसँग सीमा जोडिएकाले दुई देशका कुर्दहरू सीमाबाट सहज आवतजावत गर्ने गरेको इतिहास छ । यही अवस्थितिलाई हेरेर मोसाद र सिआइएले पनि कुर्दहरूलाई पुथकतावादी आन्दोलन उठाउन उचाल्न खोजेका छन् । यदि इरानी कुर्दहरूले पहिले विभिन्न मार भोगिरहेका इरानी सुरक्षा बलविरुद्ध ठुलो आक्रमण गर्न सके भने सम्भवत: सीमापारिका अन्य कुर्दहरूले पनि तिनलाई थप समर्थन दिन सक्छन् । 

फारसी, अजेरी र कुर्दपछि इरानको अर्को प्रमुख जाति बलुच हो, जो प्राय: देशको पूर्वी भागमा बस्छन् । पाकिस्तानको अस्थिर बलुचिस्तान प्रान्तसँग सीमा जोडिएको क्षेत्रमा तिनको बसोवास केन्द्रित छ । त्यस भेगमा अमेरिकाले समेत आतंकवादी समूह भनेको ‘जैस अल–अदल’ले लामो समयदेखि इरानी सुरक्षा बलविरुद्ध लड्दै आएको छ । अर्को उल्लेखनीय जाति हो, तेलसम्पन्न पश्चिमी प्रान्त खुजेस्तानमा बस्ने करिब ५०–७० लाख अहवाजी अर । जसरी सुन्नी बहुल साउदी अरबको तेलसम्पन्न पूर्वी प्रान्तमा सियाहरू दयनीय रूपमा उत्पीडित जीवन बिताउँछन्, त्यसै गरी सिया बहुल इरानमा बस्ने यो समूह प्रताडित मानिन्छ ।

विभिन्न फरक मातृभाषा भएका यी इरानी अल्पसंख्यक जातिलाई लामो समयदेखि फारसी भाषा प्रयोग गर्न बाध्य पारिएको छ । ती जातिले विभिन्न समयमा इस्लामिक गणतन्त्रका सुरक्षा बलहरूको हिंसात्मक दमन भोगेको इतिहास भेटिन्छ । जस्तो देशको जनसंख्याको ८–१७ प्रतिशत मात्र हिस्सा रहेको कुर्दहरू राजनीतिक कारणले दिइने मृत्युदण्ड वा कैदमा ठुलो हिस्सा ओगट्छन् ।

तर, पृथकतावादी अभियान भड्काउने कुरामा अमेरिकाको धेरै खराब ट्र्याक रेकर्ड छ । यो कुरा सन् १९९१ मा ‘अपरेसन डिजर्ट स्टर्म’का क्रममा इराकमा मार्स अरब र इराकी कुर्दहरूको विद्रोह उठाउने प्रयासमै देखिइसकेको छ । बारम्बार चाहिँदा त्यस्तो समयलाई उक्साउने र पछि त्यसै त्यागिदिएको अमेरिकाको इतिहास छ । खासमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भर्खरै पनि सिरियाका कुर्दहरूलाई त्यसरी नै अलपत्र छाडिदिएका छन् । ट्रम्पको पहिलो कार्यकालमा अमेरिकाले इस्लामिक स्टेट (आइएस)लाई पराजित गर्न सहयोग लिएको सो जातिलाई अहिले सिरियाका सुन्नी राष्ट्रपति अहमद अलसाराले आक्रमण गरिरहँदा साथ छाडिदियो ।

उसो त इजरायल सम्पूर्ण मध्यपूर्वलाई नै बाल्कनीकरण (टुक्राटुक्रा) गर्न चाहन्छ । यसोभए मात्र आफ्नो क्षेत्रीय प्रभुत्वलाई चुनौती दिन सक्ने कुनै शक्ति नबच्ने उसको आकलन छ । तर, इजरायलको त्यस्तो चाहनाले अमेरिका वा बाँकी क्षेत्रको हित गर्छ ? ट्रम्पले यस भेगमा अर्का ‘कडा नेता’ पनि छन् भनेर बिर्सिनुहुँदैन, जो टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान हुन् । कुर्द पृथक्तावादी आन्दोलन दबाउन दसकौँ खर्चिएका एर्दोगानले पुन: त्यस्तो आन्दोलन उठे सैन्यशक्ति प्रयोग गर्न हिचकिचाउँदैनन् । यो कुरा उनले आफ्नै देशका पिकेकेविरुद्ध मात्र होइन, छिमेकी सिरियामा सेना तैनाथ गरेर पुष्टि गरिसकेका छन् । 

आफ्नो सीमा जोडिएको इरानमा कुर्द राज्य स्थापनाको सम्भावनालाई टर्कीले कुनै हालतमा स्विकार्ने सम्भावना छैन । त्यस्तो निकायविरुद्ध टर्कीले कुनै कदम चाल्यो भने त्यसपछि इजरायलले के गर्नेछ ? इजरायलले टर्कीविरुद्ध युद्ध सुरु गरेका अमेरिका त्यसमा सामेल हुन गाह्रो हुनेछ । किनकि टर्की नेटो सदस्य हो । नेटोको आर्टिकल पाँचले कुनै सदस्यमाथि आक्रमण भए सबैले सघाउनुपर्ने व्यवस्था गरेको छ । यदि टर्कीविरुद्धको आक्रमणको समयमा अमेरिकाले टर्कीलाई नभएर इजरायलाई सघाएमा अमेरिका नेटोबाट बाहिरिनुपर्ने हुन्छ । र, टार्न सकिने त्यस युद्धपछि निम्तिने शरणार्थी संकटको लहरले सम्पूर्ण युरोप प्रभावित हुनेछ । 
यी केवल सबैभन्दा अनुमानित समस्या हुन् । यसका अझै धेरै अज्ञात खतरा हुन सक्छन् । खण्डित इरान अत्यधिक अस्थिर हुनेछ । यसले इरानभित्र जातीय सफायाका अतिरिक्त छिमेकमा पनि द्वन्द्व फैलिने सम्भावना छ । नोबेल शान्ति पुरस्कार जित्ने ट्रम्पको उत्कट चाहनाका कारण धेरैले उनले विश्व राजनीतिमा संयमता अपनाउने ठानेका थिए । तर, पछिल्लो समय उनको सल्लाहकार समूहमा बढेको युद्धपक्षधरको संख्याले उनलाई इजरायली प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्ने अवस्थामा पुर्याएको हुनुपर्छ । र, नेतान्याहुको त नीति नै एकपछि अर्को युद्ध सामेल हुनेजस्तो देखिन्छ । उनलाई जति मान्छे मारिए पनि वा जति आर्थिक क्षति भए पनि केही मतलब भएको देखिँदैन । 

बुर्लेइघ ‘लन्डन स्कुल अफ इकोनोमिक्स’का वरिष्ठ फेलो हुन् । 

–प्रोजेक्ट सिन्डिकेटबाट

सुझावित समाचार