जेन–जी आन्दोलनपछि बनेको सरकारमा करिब तीन महिना युवा तथा खेलकुदमन्त्री पद चलाएपछि राजीनामा दिएर प्रतिनिधिसभा सदस्य निर्वाचन लडेका बब्लु गुप्ता सिराहा १ बाट निर्वाचित भएका छन् ।
बहुदलीय व्यवस्था पुनर्स्थापनापछि भएको ०७९ सम्म भएका सातवटा निर्वाचनमध्ये चारपल्ट निर्वाचित भएको नेपाली कांग्रेसका उम्मेदवारलाई ३१ हजार ५३८ मतको फराकिलो अन्तरले हराउँदै गुप्ता निर्वाचित भएका हुन् । गुप्ता कुल खसेको सदरमतको ४१ हजार ३२२ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामसुन्दर चौधरीले नाै हजार ७८४ मत पाएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय सिराहा १ का अनुसार निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका नेकपा एमालेका रामशंकर यादव सात हजार ८८६ मतसहित तेस्रो स्थानमा खुम्चिएका छन् भने नेकपाका रामचन्द्र यादव दुई हजार ८५३, जसपा नेपालका सत्यनारायण यादव दुई हजार २८५ र जनमत पार्टीका रामस्वरूप चौधरीले एक हजार ५८९ मत ल्याएका छन् ।
यो क्षेत्रमा बहुदलीय व्यवस्था पुनर्स्थापनापछि २०४८, ०५१, ०७० र ०७४ मा कांग्रेस, ०६४ मा तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल, ०५६ र ०७९ मा नेकपा एमालेले जितेको थियो । ०५६ सालको निर्वाचनमा एमालेबाट निर्वाचित भई तत्कालीन सामान्य प्रशासनमन्त्री बनेका रामचन्द्र यादव यसपल्ट नेकपाबाट प्रत्याशी थिए।
लहान नगरपालिका २३ बथनाहा घर भएका २८ वर्षीय बब्लु गुप्ताले ‘१०० ग्रुप नेपाल’ नामको सामाजिक संस्थामार्फत काेरोना महामारीको समयदेखि गरिब तथा विपन्नका लागि नि:शुल्क कपडा बैंक र राहत वितरण अभियान सञ्चालन गरेका थिए । कोरोना महामारीको समयमा नि:शुल्क खाना वितरणलगायत सामाजिक अभियानमा सक्रिय गुप्ता २७ भदौमा सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएपछिको करिब दुई महिनापछि ९ कात्तिकमा युवा तथा खेलकुदमन्त्री बनाइएका उनले दुई महिना २७ दिनपछि ५ माघमा राजीनामा दिँदै ६ माघमा सिराहा १ बाट उम्मेदवारी दिएका थिए ।
धनगढीमाई नगरपालिका १, २, लक्ष्मीपुरपतारी गाउँपालिका २ र ६, लहान नगरपालिका १ देखि २४, सखुवानन्कारकट्टी तथा भगवानपुर गाउँपालिकाको १ देखि ५ नम्बरसम्म गरी कुल ४१ वडा पर्ने यो क्षेत्रमा पुरुष ५८ हजार ८५५, महिला ५३ हजार ९४ गरी कुल एक लाख ११ हजार ९४९ मतदातामध्ये बिहीबार सम्पन्न मतदानमा ७० हजार ७६५ जनाले मतदान गरेका थिए । यो क्षेत्रमा विभिन्न साना–ठुला दलका १४ र १८ जना स्वतन्त्र गरी ३२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।
लामो समय कांग्रेसको स्थानीय राजनीति गर्दै जिल्ला पार्टीको उपसभापति, क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिसमेत रहिसकेका विष्णु गुप्ता (बिसुन बनियाँ) का छोरा २८ वर्षीय बब्लु गुप्ता युवा तथा खेलकुदमन्त्रीबाट राजीनामा दिएर रास्वपाबाट उम्मेदवार रहेकाले पनि कांग्रेससहित अन्य दलको मत काट्दै युवा पुस्ताको मत तानेर जित निकाल्न सक्ने आकलन गरिएको थियो ।