ओलीको अहंकारको मूल्य एमालेलाई भारी

ओलीको दम्भ, अहंकार र घमन्डले उनलाई मात्र होइन, सिंगो एमालेलाई नै ०४८ यताकै कमजोर अवस्थामा पुर्‍याएको छ

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण

बलियो संगठन र स्थायी मताधार भएको एमालेलाई यसपटकको निर्वाचन परिणामले इतिहासकै गम्भीर झड्का दिएको छ । एमाले ०४८ यताकै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । विश्लेषकहरूका अनुसार नेतृत्वको दम्भ, अहंकार र एकल शैलीको राजनीतिले एमालेको शक्ति खुम्चिएको हो ।

तीनपटक प्रधानमन्त्री र ६ पटक संसदीय निर्वाचन जितेका एमाले अध्यक्ष केपी ओलीले चुनाव हारेका छन् । त्यति मात्र होइन निर्वाचन लडेका पार्टी पदाधिकारी सबैले सर्मनाक पराजय व्यहोर्नुपरेको छ । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा एमाले तेस्रो स्थानका लागि संघर्षरत छ, जबकि ०७९ मा समानुपातिकतर्फ उसले सबैभन्दा धेरै मत पाएको थियो । 

पार्टी नेता र विश्लेषकको बुझाइमा जेन–जी आन्दोलनप्रति ओली सरकारको कठोर व्यवहार, नेतृत्वको अहंकारी शैली, पार्टीभित्रको असन्तुष्टि र विभाजनको शृंखलाले एमालेलाई अहिलेको अवस्थामा पर्याएको हो । अध्यक्षसहित अधिकांश शीर्ष नेताको हारले एमालेको नेतृत्व संरचना हेरफेरको बहस फेरि जागेको छ । अध्यक्ष ओलीलाई नेतृत्वको प्रतिरक्षा गर्न कठिन हुने अवस्था आएको छ । 

जेन–जी विद्रोह, तत्कालीन प्रधानमन्त्रीका रूपमा ओलीको सत्ताच्युत र भावी नेपालको मार्गचित्रको मुद्दामा भएको निर्वाचनमा एमाले सुरुदेखि नै रक्षात्मक थियो । उसलाई चुनावमा गहिरो धक्का लाग्न सक्ने पार्टीभित्र र बाहिर अनुमान थियो । तर, त्यसलाई पूरै नजरअन्दाज गरेर आफ्नै नेतृत्वमा ओली चुनावमा होमिए । र, चुलिएको असन्तुष्टिबिच मतदाताले पुराना दललाई एकैपटक बिदा गर्ने जनादेश दिए । 

जेन–जी आन्दोलनमा भएको ठुलो मानवीय तथा भौतिक क्षतिको जिम्मेवारी नलिनु, माफी नमाग्नु, यहीबिचमा पार्टीभित्र फरक मतलाई दण्डित गर्नु र अहंकारले भरिएको नेतृत्व शैलीले अन्तत: एमालेको जनाधार भत्किएको पार्टीभित्र केही नेताको विश्लेषण छ । जेन–जी आन्दोलनकै केन्द्रमा चुनाव भएका वेला पनि ओली र एमाले नेताहरूले सिंहदरबार जलाउने भनेर जेन–जी आन्दोलनका पक्षधरमाथि प्रहार गरिरहँदा त्यसको चोट चुनावमा खानुपर्यो । 

जेन–जी आन्दोलनपछि राज्यले ठुलो मानवीय र भौतिक क्षति व्यहोर्नुपर्यो । आन्दोलनका क्रममा विद्यालय पोसाकमै रहेका विद्यार्थीको मृत्यु भएपछि समाजमा गहिरो आक्रोश फैलिएको थियो । धेरै अभिभावकले त्यो घटनालाई आफ्नै छोराछोरीको छातीमा गोली हानेजस्तै पीडाका रूपमा महसुस गरका थिए । तर, ओलीले आन्दोलनलाई ‘विध्वंस’, ‘बाह्य षड्यन्त्र’ र ‘विदेशी इसारामा भएको गतिविधि’का रूपमा व्याख्या गर्दै आएका थिए । 

आन्दोलनमा स्कुले विद्यार्थीको हत्या हुँदा पनि ओलीले क्षमा नमागेकोमा चौतर्फी आलोचना भएको थियो । कार्यकर्ताले प्रधानमन्त्रीबाट राजीनामा नैतिक जिम्मेवारी भए पनि माफी नमागेकोमा सार्वजनिक आलोचना हुँदा पनि ओलीले बेवास्ता गरिरहे । त्यति मात्र होइन, पार्टीभित्रै पनि क्षमायाचनाका लागि सुझाव दिने पदाधिकारी तहका नेतालाई उनले शत्रु करार गर्ने र उल्टै अनुशासन उल्लंघन गरे कारबाहीको डन्डा लगाउनेसम्मको त्रास सिर्जना गरे । 

कोशी प्रदेशमा एक मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएको घटनामा पनि नेतृत्वले संवेदनशीलता नदेखाएको आरोप लाग्यो । त्यस घटनालाई समेत ओलीले ‘पार्टी विधान महाधिवेशन भाँड्ने षड्यन्त्र’का रूपमा व्याख्या गरे । उनको अभिव्यक्तिले आलोचना झन् चर्कियो । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र त्यसमा राष्ट्रवाद कार्ड उनकै लागि प्रत्युत्पादक भयो । ओलीको चरित्रका कारणले पहिलेका मतदातासँगै एमालेकै कार्यकर्ता र समर्थक असन्तुष्ट रहे । 

एमालेकै थुप्रै नेता जेन–जी आन्दोलनपछि हरेक पार्टीमा नेतृत्व हस्तान्तरणको बहस तात्यो । तर, ओलीले समयअगाडि नै महाधिवेशन गरेर आफूलाई पुन: नेतृत्वमा विराजमान गराए, जसले एमालेभित्रै ठुलो असन्तुष्टि पैदा भयो । महाधिवेशनमा चुनावी प्रतिस्पर्धाबाट पुन: नेतृत्वमा प्रतिनिधिबाट निर्वाचित भएर आए र विरोधी स्वरलाई पन्छाए । उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता निलम्बन गरे भने भण्डारीनिकट कित्तामा रहेका नेता ईश्वर पोखरेलसहितको फरक समूहसँग प्रतिस्पर्धामार्फत निर्वाचित भएर आएपछि फरक समूहलाई पन्छाए । 

आफ्नो शैलीप्रति विमति राख्ने नेताहरू सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकुल बाँस्कोटा, कर्णबहादुर थापालगायतलाई चुनावको टिकट नै दिएनन् । बाँस्कोटा अलोकप्रिय रहेको अर्थ लाग्ने गरी ओलीले तलकै (जिल्ला र क्षेत्रको कमिटी) साथीहरू उनको पक्षमा नरहेको बताएनन् मात्र अरूका हकमा पनि पार्टीले जित्नेहरूलाई मात्र टिकट दिएको प्रतिक्रिया दिए । पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने वेला ती नेताहरूलाई भीम रावललाई जस्तै व्यवहार गरिएकोमा पार्टीभित्र ठुलो कार्यकर्ता पंक्ति असन्तुष्ट बने पनि ओलीले बेवास्ता गरिरहे । न त ती नेताहरूलाई चुनावी परिचालनको परिभाषित जिम्मेवारी दिए ।

राजनीतिक विश्लेषक झलक सुवेदीले सत्तारूढ वर्गसँग सम्झौता गर्दै जाँदा एमालेको यो अवस्था आएको र अब एमालेले माथिदेखि तलसम्म परीक्षित नेतृत्व बिदा गरेर नयाँ नेतृत्व स्थापित गर्ने वेला आएको बताए । ‘तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले ०५१ मा गरेको प्रतिनिधिसभा विघटन गर्ने निर्णय सर्वोच्चले उल्टाइदिएपछि क्रमश: एमालेले आफ्नो नीति–विचार छाड्दै आएको छ । एमाले जुन वर्गमा आधारित थियो, त्यो धरातल गुमाउँदै सत्तारूढ वर्गसँग सम्झौता गर्दै आयो । पार्टीमा आन्तरिक जनवाद र सामूहिक नेतृत्व प्रणाली कमजोर भयो । राज्य सञ्चालनमा नीतिगत विचलन देखिए,’ उनले भने, ‘यी सबै कारणले अहिले एमालेको यो हालत भएको हो । अब एमालेले माथिदेखि तलसम्म परीक्षित नेतृत्व बिदा गरेर नयाँ नेतृत्व स्थापित गर्नुपर्छ । सामाजिक न्याय र वामपन्थी एजेन्डामा फर्किनुपर्छ । यो भयो भने एमाले फेरि उठ्न सम्भव छ ।’

यस्तै, राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल भन्छन्, ‘एमालेको मात्र होइन, कांग्रेस, नेकपासहित पुराना सबै पार्टीको उस्तै अकल्पनीय पराजय हो । सँगसँगै रास्वपाको जित पनि अकल्पनीय छ । कांग्रेससहित सत्तासीन मूल धारको विचारको राजनीति गर्ने सबै पार्टीहरूको असफलता, राज्यदोहन र भ्रष्टाचारको एउटै जवाफ जनताले मतबाट दिएका छन् । सिद्धान्त र विचारलाई सत्ताबाट सेवाप्रवाहमार्फत अनुभूत गराउनुको सट्टा सधैँ ठगीखाने भाँडो बनाइयो, सरकारमा बिचौलियातन्त्र हाबी भयो र जनतामा निराशा आयो, त्यसकारण अहिलेको नतिजा आयो । त्यसैले अब ओलीजी र अरू पार्टीका नेतृत्वकर्ताले पनि नैतिकताका आधारमा राजीनामा दिएर नयाँ शिराबाट पार्टीहरूलाई पुनर्गठन गर्दै अगाडि लैजानुपर्छ । आवश्यकताभन्दा बढी पद तन्काइएछ भन्ने अहिलेको क्षतिबाट ओलीजीले बुझ्नुपर्छ ।’

राजनीतिशास्त्रका उपप्राध्यापक दीपेश घिमिरेका अनुसार एमालेको हारमा एउटै कारणभन्दा पनि बहुपक्षले काम गरेको छ । उनका अनुसार एमालेले चुनावमा अहिलेसम्मकै कमजोर नतिजा प्राप्त गर्नुका पछाडि मुख्य तीन कारण देखिन्छन् । 

‘पहिलो– अहिलेको नवपुस्ता अर्थात् जेन–जी पुस्ता कुनै पनि पार्टीको दर्शन, सिद्धान्त र विचार मात्र बोकेर हिँड्ने पक्षमा देखिँदैन । त्यसकारण क्याडर बेस्ड (कार्यकर्ता आधारित) पार्टी एमालेले नसोचेको पराजय व्यहोर्यो । अहिलेको राजनीति क्याडर बेस्डबाट मास बेस्डतर्फ सिफ्ट हुन खोजिरहेको छ । कांग्रेसले पनि किन उस्तै नतिजा ल्यायो भने ऊ पनि सदस्य आधारित सेमिक्याडर बेस्ड पार्टी नै हो । त्यसैले निश्चित पार्टीको मात्र विचार र सिद्धान्त बोक्ने राजनीति घट्दै गएको छ,’ उनी भन्छन् । 

यस्तै उनको बुझाइ छ, ‘दोस्रो– एमाले नेतृत्वले त्यति ठुलो जेन–जी विद्रोहमा सत्ताको नेतृत्वकर्ताको हैसियतमा सामान्य कमजोरी पनि स्वीकार नगरेका कारण पनि अहिले उसले ठुलो पराजय व्यहोरेको हो । एमालेकै कार्यकर्ता–समर्थकले नेतृत्वप्रतिको असन्तुष्टि मतमार्फत व्यक्त गरेका छन् ।’

र, ‘तेस्रो– अहिले विश्व राजनीतिमै वर्गीय र असमानताको धारको कुरा गर्ने कम्युनिस्ट राजनीति कमजोर बन्दै गएर असुरक्षातर्फ मोडिँदै गएको छ । अहिले भ्रष्टाचार र राज्यदोहनजस्ता कुराबाट सिर्जित असमानता प्रमुख मुद्दा बनेकाले संसारभरि कोर्स बदलिँदै गएको छ । यो बुझ्न नसक्दा पनि एमालेले ठुलो धक्का व्यहोरेको छ,’ उनले भने ।

नेकपा टिकाउन नसकेका ओली 
०७४ मा झन्डै दुईतिहाइ बहुमतमा रहेको एकतापछि बनेको नेकपाको सरकार पार्टीभित्रको अन्तद्र्वन्द्व व्यवस्थापन गर्न नसकेर ओलीले टिकाउन सकेनन् । सरकार र पार्टी नेतृत्व कब्जा गर्ने ओली–प्रचण्ड र माधव नेपालबिचको अन्तद्र्वन्द्व व्यवस्थापन गर्न उनले दुईपटकसम्म संसद् विघटनको बाटो लिए । ओलीको यस्ता थुप्रै कमजोरी रहे पनि उनले पार्टीलाई सही ढंगले सञ्चालन गर्न सकेनन् । 

पार्टीभित्र, बाहिर र समाजमा असन्तुष्टि बढिरहँदा सरकार र पार्टी नेतृत्वका रूपमा सत्ता सहयात्री कांग्रेसको पनि विश्वास जितेर काममार्फत सम्बोधन गर्नुपर्नेमा उल्टै ओलीले पार्टीको बलियो संगठनको बलमा बहुमत ल्याउने योजना अगाडि सारेर पार्टीलाई बहुमतसहितको निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने भन्दै अभियान चलाए । तर, उनका ती सबै अभियान पनि काम लागेनन् ।

प्रचण्ड र माधव नेपाल मिलेर बहुमतको बलमा पार्टी सदस्यबाटै हटाएपछि ओलीले पनि उनीहरूलाई पनि कारबाही गरेर जवाफ फर्काए । त्यसपछि सर्वोच्चको फैसलाबाट एमाले ब्युँतिएपछि उनले नेपाल, भीम रावललाई जवाफी प्रतिशोध साँध्दा उनीहरूले पार्टी फुटाउने बाटो रोजे । ०७९ मा टिकट नपाएको झोकमा घनश्याम भुसालले पनि पार्टी छोडे ।

ओलीसहित चुनाव लडेका सबै पदाधिकारी पराजित 
एमाले अध्यक्ष ओलीसहित उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, उपमहासचिव रघुवीर महासेठ तथा सचिवहरू महेश बस्नेत, भानुभक्त ढकाल, शेरधर राई र डा. राजन भट्टराई पराजित भएका छन् । ओली झापा ५, पौडेल रुपन्देही २, पोखरेल दाङ २, गुरुङ लमजुङ र विष्ट गुल्मी २ बाट पराजित भएका हुन् । त्यस्तै, महासेठ धनुषा ४, बस्नेत भक्तपुर २, ढकाल तेह्रथुम, राई भोजपुर र डा. भट्टराई काठमाडौं ४ बाट पराजित भए ।

यस्तो छ चुनावी रेकर्ड 
०१५ को निर्वाचनमा तत्कालीन नेकपाले चार सिटमा जित हासिल गरेको थियो । एमाले ०४६ यताको सात निर्वाचनमा तीनपटक पहिलो दल, तीनपटक दोस्रो र एकपटक तेस्रो दल भएको छ । ०४८ को निर्वाचनमा ६९ सिट जितेर एमाले दोस्रो बन्यो । ०५१ मा ८८ सिट जितेर एमाले पहिलो भयो । ०५६ मा ७१ सिट जितेर दोस्रो भयो । ०६४ को संविधानसभा निर्वाचनमा एमाले प्रत्यक्षतर्फ ३३ र समानुपातिकमा ७० सहित १०३ सिट जितेर तेस्रो भयो । ०७० को निर्वाचनमा एमाले १८४ सिट जितेर दोस्रो भयो । एमाले ०७४ को निर्वाचनमा १२१ सिट जितेर पहिलो भयो । ०७४ मा एमाले र तत्कालीन माओवादीले गठबन्धन गरेपछि र एउटा पार्टी बनाएपछि नेकपासँग १७४ सिट थियो । माओवादीले ५३ सिट जितेको थियो । ०७९ को निर्वाचनमा एमाले ७८ सिट ल्याएर दोस्रो भयो । अहिले एमाले तेस्रो हुने संकेत छ ।

एमालेभित्र फेरि सुरु भयो ओलीको विकल्पमा बहस 
अध्यक्षसहित अधिकांश शीर्ष नेताको हारले एमालेको नेतृत्व संरचनामाथि गम्भीर प्रश्नसहित नेतृत्व हस्तान्तरणको मुद्दा फेरि जागेको छ । पार्टीले अकल्पनीय पराजयपछि पदाधिकारी तहका नेताहरू नै नीति र नेतृत्व फेर्नुपर्ने पक्षमा ओर्लिएका छन् । 

एमाले उपाध्यक्ष रघुजी पन्तले चुनावी परिणाम अहिलेसम्मकै निराश र चिन्ताजनक भएकाले पार्टीले त्यसमाथि छिट्टै विमर्श गरी व्यापक निष्कर्षमा पुग्ने बताए । उनले पार्टीलाई नयाँ ढंगले अगाडि बढाइने विषयमै केन्द्रित रहेर छलफल हुने पनि प्रस्ट संकेत गरे । ‘अहिले जे परिणाम आएको छ, यो अहिलेसम्मकै निराश र चिन्ताजनक छ । छिट्टै बैठक बसेर छलफलबाट व्यापक निष्कर्षमा पुग्छौँ,’ पन्तले नयाँ पत्रिकासँग भने । उनले पार्टी पुनर्गठनका विषयमा पनि छलफल हुने बताए । ‘त्यसबारेमा पनि छलफल हुन सक्छ,’ पन्तले भने । 

अर्का उपाध्यक्ष विष्णु पौडेलले पनि जनअपेक्षाअनुरूप पार्टीको नीति र नेतृत्व पुनर्गठनमा लाग्ने घोषणा गरेका छन् । रुपन्देही २ मा पराजित भएपछि मतदातालाई धन्यवाद दिने क्रममा पौडेलले भनेका छन्, ‘विगतमा हाम्रातर्फबाट भएका गल्ती–कमजोरीको गम्भीर समीक्षा गर्न, जनअपेक्षाअनुसार आफैँलाई रूपान्तरण गर्न र नेकपा एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षाअनुरूप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भइरहने प्रतिबद्धता व्यक्त गर्दछु ।’

चुनावी परिणामको पार्टीले व्यापक विमर्श गर्छ : रघुजी पन्त, उपाध्यक्ष
चुनावी परिणाम अहिलेसम्मकै निराश र चिन्ताजनक छ, पार्टीले त्यसमाथि छिट्टै व्यापक विमर्श गर्छ । पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने विषयमा बढाइने विषयमै केन्द्रित रहेर छलफल गर्छौँ । पार्टी पुनर्गठनका विषयमा पनि छलफल हुन सक्छ ।

सुझावित समाचार