- साइकलमैत्री सहर भएमा महिलाहरूले झनै धेरै साइकल चलाउँछन् । किनभने महिलाले नै घरभित्र बाहिर धेरै काम गर्नुपर्छ । महिलाका लागि साइकल सजिलो साधन हो ।
म पाल्पाको तानसेनमा जन्मिएँ । मेरो बुबा सरकारी जागिरे भएकाले उहाँको सरुवा भएपछि हामी पनि २०३७ सालमा कपिलवस्तुको तौलिहवा पुग्यौँ । त्यहाँ पुगेपछि स्कुल जान आउन साइकल प्रयोग गर्न थाल्यौँ । त्यतिवेलै त्यहाँ धेरैले साइकल प्रयोग गर्थे । साइकल के हो ?, किन चलाउने ?, कसले चलाउँछ ? वा कसले चलाउँदैन ?, साइकलमा सबैको पहुँच छ कि छैन ? भन्नेजस्ता कुराहरू पछि मात्र चासोको विषय बन्यो ।
साइकल चलाउँदा केही ट्राफिक नियम हुन्छन्, त्यो सबैले मान्नुपर्ने हुन्छ । साइकललाई थोरै बाटो भए पुग्छ । उकाली–ओराली सबैतिर जान सक्छौँ । साइकललाई बोक्नै पनि मिल्यो । साइकलमा धेरै सामान राखेर यताउता गर्न पनि सकियो । साइकलका लागि कुनै पेट्रोलियम पदार्थ पनि चाहिएन । नेपालजस्तो गरिब देशमा पेट्रोलियम पदार्थ धेरै महँगोमा आइपुग्छ ।
म सानैदेखि खेल्ने, कुद्ने र सामाजिक सेवाका काम गर्थें । अहिलेसम्म कतिबेला म कमजोर भएँ भन्ने नै लागेको छैन । साइकललाई सामाजिक अवस्थासँग तुलना गर्ने हो भने साइकल भनेको आफैमा स्वतन्त्रताको प्रतीक हो । साइकल महिला, लैंगिक तथा यौनिक अल्पसंख्यक, अपांगता भएका व्यक्ति जसले चलाए पनि स्वतन्त्रताको प्रतीक हो ।
साइकल लिएर कुनै पनि वेला कतै पनि जान सकिन्छ । साइकल भएमा तपाईं परनिर्भर हुनुपरेन । कसैलाई पर्खिनु परेन । साइकल लिएर आनन्दसँग घुम्न सकिने भयो । यति सजिलो साधनमा सबैको पहुँच छैन । म आफैँलाई साइकल लिएर सडकमा निस्किँदा आनन्द लाग्छ । निस्फिक्री भएको अनुभव हुन्छ । स्वास्थ्यको पाटोबाट हेर्दा शारीरिक अभ्यास हुन्छ । धेरै अध्ययनले मुटु, मिर्गौला, मधुमेहलगायत रोग लागेका व्यक्तिहरूले साइकल चलाउँदा राम्रो हुने भन्छ ।
सडकमा साइकल चलाउँदा त्रासको अनुभव पनि हुन्छ । कसैले हानिदेला कि ! केही होला कि ! भन्ने डर, त्रास जहिले हुन्छ । मैले सन् २०१६ मा महाकाली-मेची साइकल यात्रा गरेँ । नेपालमा महाकालीदेखि मेचीसम्म हेर्यौँ भने साइकल चलाउने महिला नै धेरै हुन्छन् । साइकलको प्रयोग गरेरै महिलाहरू सामान लिन जाने, बच्चा पुर्याउन जाने, कार्यालय जाने, खेतबारीमा काम गर्न जाने गरिरहेका छन् । तर, साइकललाई ध्यानमा राखेर जुन खालको भौतिक पूर्वाधार बन्नुपर्ने हो, त्यस्तो किसिमको सडक बनेको छैन । त्यति हुँदाहुँदै पनि मानिसहरूले साइकल चलाइरहेका छन् । सडक दुर्घटनामा परेर मारिएका पनि छन् । यो घटना जसरी न्याय प्रक्रियामा जानुपर्ने हो, गएको छैन ।
लामो दूरीको साइकल यात्रा गर्दा महिला कम भेटिन्छन् । म महाकालीबाट साइकल कुदाउँदै मेची पुगेँ । त्योभन्दा अघि बिहारका विभिन्न सहरमा पनि करिब १४ सय किलोमिटर साइलकयात्रा गरेँ । ‘राइट्स फर फ्रिडम’को नारा बोकेर भएको साइकल यात्रामा सहभागी भएको थिएँ ।
मेची–महाकाली साइकलयात्रा गर्ने करिब २० वर्षकै उमेरमा योजना बनाएको थिएँ । तर त्यतिवेला मलाई धेरैले मोटरसाइकल यात्राका लागि सुझाब दिएका थिए । विभिन्न सुझाबका बाबजुद त्यो यात्रा रोकिएको थियो । त्यो कुरालाई निरन्तरता दिनका लागि मैले यात्रा गरेको थिएँ । मेरो यात्राको कुनै पनि शीर्षक थिएन । तर, विभिन्न व्यक्तिले मलाई सहयोग गरेका थिए । यात्राका क्रममा विभिन्न ठाउँमा मानिसहरूले मलाई प्रश्न, जिज्ञासा राखेका थिएँ । छलफल पनि भएको थियो ।
हाम्रो समाजमा अझै पनि महिला एक्लै हिँड्नु हुँदैन भनेर डर देखाउने चलन छ । मलाई पनि त्यस्तै डर देखाइयो । डरको माध्यम यौनजन्य अपराध, हिंसा हुन्छ भन्ने थियो । पुरुषलाई भने यौनजन्य अपराधभन्दा चोरी हुने डर देखाउने चलन रहेछ । मलाई पनि छलफलको क्रममा बर्दिया राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्जलगायतका जंगल क्षेत्रमा एक्लै केटी मान्छे जाने ? भन्ने प्रश्न आयो । मैले ती मानिसहरूलाई ‘महिला हुँदैमा बलात्कार, यौनजन्य हिंसा हुन्छ भन्ने तरिकाबाट सोच्नुहुँदैन, यो सोच हटाउनुपर्छ । महिलामाथि पनि चोरी हुन सक्छ भनेर सोच्नुपर्छ । पुरुषमाथि पनि यौनजन्य हिंसा हुन्छ भनेर सोच्न सक्नुपर्छ । मलाई बलात्कार मात्र होइन, मेरो सामान चोरी पनि हुन सक्छ’ भन्ने जवाफ दिएर हिँडेँ ।
सधैँ एक्लै हिँडेर पत्रकारिता गरेँ । मलाई यौनजन्य हिंसा भएन । त्यो आफ्नो ठाउँमा छ । तर, हाम्रो जुन सामाजिक सोच, संस्कार छ त्यो आफैँमा महिलालाई कमजोर बनाइदिने खालको छ । त्यो नै प्रमुख समस्या हो ।
यातायातको साधनमा हरेक व्यक्तिको सहज पहुँच हुनुपर्यो । सडकको अवस्थाका कारण साइकल चलाएर दैनिक आवातजावत गर्न गाह्रो छ । सार्वजनिक यातायातका साधन राति १२ बजे पनि चलोस् । बिहान ४ बजे पनि चलोस् । त्यो बसमा साइकल राख्ने ठाउँ पनि होस् । त्यो खालको सहरीकरण हुनुपर्यो ।
त्यस्तै, अर्को विषय, बसमा सधैँ साइकल राखेर ल्याउन, लैजान नपरोस् । निश्चित ठाउँहरूमा सुरक्षित साइकल पार्किङ गर्ने ठाउँ हुनुपर्यो । यसले १५ लाख मोटरसाइकललाई पाँच लाखमा कसरी झार्ने भन्ने चुनौती थपेको छ । यसका लागि १० लाख व्यक्तिले साइकल चलाउनुपर्यो । काठमाडौंमा १० लाखले साइकल चलाउनेबित्तिकै सडकभर साइकल नै साइकल देखिन्छ । तर, अहिले असुरक्षाका कारण साइकल भेट्नै गाह्रो छ । साइकलमैत्री सहर भएमा महिलाहरूले झनै धेरै साइकल चलाउँछन् । किनभने महिलाले नै घरभित्र बाहिर धेरै काम गर्नुपर्छ । महिलाका लागि साइकल सजिलो साधन हो । सामान राख्न मिल्यो । जताततै जान मिल्यो । बच्चा पुर्याउन जान मिल्यो । धोती लगाएर पनि चलाउन मिल्ने, कुर्ता लाएर पनि चलाउन मिल्ने, पाइन्ट लाएर पनि चलाउन मिल्ने किसिमका साइकल बजारमा उपलब्ध छन् । किस्ताबन्दीमा पनि साइकल किन्न पाइन्छ ।
यदि हामी आजादीको जिन्दगी जिउन चाहन्छौँ भने साइकल चलाउन थाल्नुपर्छ । हामी शारीरिक कसरतका लागि जिमखाना जान्छौँ । त्यही जिमखानामा पनि साइकल चलाउने हो । हामी दैनिक जीवनमा चाहिँ साइकल नचलाउने, तर शरीर स्वस्थ्य राख्ने भन्दै महँगो पैसा तिरेर जिमखानामा चाहिँ साइकल चलाउँछौँ । यस्तो अवस्थालाई अन्त्य गर्न कर्पोरेट हाउसले साइकल प्रयोग गर्ने वातावरण बनाएर थालनी गर्न सक्छ । यसले मान्छे शारीरिक रूपमा स्वस्थ पनि भयो, सुन्दर पनि भयो ।
तितिक्षु, फोटो पत्रकार हुन्