सिराहा १ मा पनि थालियो मतगणना, गणनास्थल प्रवेशमै सञ्चारकर्मीलाई कडाइ

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार भएको मतदानपछि शुक्रबार बिहान सवा १० बजेखि सुरु भएको सिराहा १ नम्बर क्षेत्रको पनि मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सिराहाले हरेक निर्वाचन क्षेत्रको मतगणना स्थलमा सुरक्षा घेराबाहिरबाट सञ्चारकर्मीलाई चुनाव चिह्नमा स्वस्तिक छाप लागेको नदेखिने गरी गणना सुरु हुनुअघि मतपेटिका खोलिँदै गर्दा, मतपत्र खसाल्दै गरेको तथा गणनामा बसेकाहरूको फोटो र भिडियो खिच्न दिने भनिए पनि सशस्त्र प्रहरी बलसहितका सुक्षाकर्मीहरूले रोक लगाएका छन् । 

लहान नगरपालिका– १० ग्रामीणस्थित नगरसभा हलमा शुक्रबार बिहानदेखि थालिएको सिराहा १ को गणनास्थलको मुख्य गेटबाट भित्र प्रवेश गर्न नै सशस्त्र प्रहरी बलका प्रहरीले ‘माथिको आदेश’ भन्दै अत्यन्त कडाइ गरेका छन् । निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतले भनेपछि जसोतसो परिसरमा प्रवेश दिइए पनि हलभित्र सुरक्षा घेराबाहिरको तारजालीनजिक पुगेर फोटो–भिडियो खिच्नसमेत सशस्त्र प्रहरीले अवरोध गरेको राष्ट्रिय समाचार समिति लहानका प्रमुख सुदीप राउतले बताए । सिराहा १ का निर्वाचन अधिकृत फणीन्द्रराज भट्टराई तथा सहायक निर्वाचन अधिकृत राधेश्याम यादवको सिफारिसमा गणस्थलमा प्रवेश दिइएको भए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले भनेअनुसार केही गर्नै नपाई फर्किनुपरेको उनले बताए । 

सशस्त्र प्रहरी नेपाल नम्बर ७ गण हेडक्वार्टर सिराहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाले मतगणनास्थलमा सञ्चरकर्मीलाई आचारसंहिताले रोकेकोबाहेक सञ्चारसम्बन्धी काम गर्न अवरोध नहुने बताए । तथापि, सिराहा १ को गणनास्थलमा के भएको हो भन्ने विषयमा बुझेर फिल्ड कमान्डरलाई निर्देशन दिइने उनले बताए । 
निर्वाचन कार्यालयका अनुसार बिहीबार भएको मतदानअन्तर्गत १ नम्बर क्षेत्रमा धनगढीमाई नगरपालिका १, २, लक्ष्मीपुरपतारी गाउँपालिका २ र ६, लहान नगरपालिका १ देखि २४, सखुवानन्कारकट्टी तथा भगवानपुर गाउँपालिकाको १ देखि ५ नम्बरसम्म गरी कुल ४१ वडा पर्ने यो क्षेत्रमा पुरुष ५८,८५५, महिला ५३,०९४ गरी कुल एक लाख ११ हजार ९४९ मतदाता रहेकोमा १३० मतदान केन्द्रमा रहेका एक लाख ११ हजार ९४९ मध्ये ७० हजार ७६५ मत खसेको थियो ।
 

See More On

सुझावित समाचार