राजनीतिक विश्लेषक झलक सुवेदीलाई ३ प्रश्न

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

गैरनागरिक सरकारबाट लोकतान्त्रिक निर्वाचन सम्पन्न हुनुलाई कसरी हेर्नुभएको छ ?
सुशीला कार्की नेतृत्वको सरकार अत्यन्त अप्ठ्यारो अवस्थामा गठन भएको थियो । यो सरकारले पाएको निर्वाचन सम्पन्न गराउनुपर्ने जिम्मेवारी पूरा गर्ला या नगर्ला भन्नेमा अनेकौँ आशंका र प्रश्नहरू थिए । राजनीतिक दल र नेतृत्वबाटै पनि निर्वाचन हुनेमा थुप्रै आशंका व्यक्त गरिएका थिए । तर, कार्की नेतृत्वको सरकारले शान्तिपूर्वक निर्वाचन सम्पन्न गराएपछि ती सबै आशंकाहरू मेटिएका छन् । यसले निर्वाचन होला या नहोला भनेर उठेका प्रश्नको जवाफ दिएको छ । यो निर्वाचनले लोकतन्त्रलाई लिकमा ल्याएको छ । अब मतगणनापछि नयाँ जनादेश लिएर लोकतान्त्रिक सरकार गठन हुनेछ । यस सफलताका लागि प्रधानमन्त्री कार्की र उहाँको सरकारलाई बधाई तथा धन्यवाद दिनुपर्छ । 

कतिपय स्थानमा मतदाताले एक मत पनि नखसाल्नुले के संकेत गरेको छ ?
देशका केही मतदान केन्द्रमा मतदाता उपस्थित नै नहुनुले स्थानीय मुद्दा, माग या सरोकारमा सरकार र स्थानीय नेताहरूले ध्यान दिन नसकेको संकेत गरेको छ । स्थानीय नेतृत्व र स्थानीय जनताबिच तथा राज्य र स्थानीय जनताबिच संवाद हुनुपथ्र्यो । तर, त्यो हुन नसकेको र जनता उनीहरूका कारण असन्तुष्ट भएको संकेत हो यो । यसलाई निर्वाचनको बहिष्कार भन्नुभन्दा पनि स्थानीय जनताको दबाबका रूपमा बुझ्नु ठिक हुन्छ । 

यो निर्वाचनले देशलाई निकास दिनेमा कति आशावादी हुनुहुन्छ ?
व्यक्तिगत रूपमा भन्नुपर्दा मचाहिँ त्यति धेरै आशावादी छैन । तैपनि, निर्वाचनमा व्यक्त जनादेशलाई स्विकार्नुको विकल्प छैन । यो निर्वाचनबाट जनादेश लिएर आउने शक्तिले देश र जनताका मुद्दालाई कसरी सम्बोधन गर्छ ? पुराना शक्तिहरूसितको सम्बन्ध कस्तो रहन्छ ? यसले आगामी राजनीतिक दिशा निर्धारण गर्छ । निर्वाचित भएर आउने शक्तिले परिपक्व राजनीति देखाउँछ कि देखाउँदैन, त्यसले पनि धेरै कुरा निर्धारण गर्नेछ । 

सुझावित समाचार