मकवानपुरमा मतदान केन्द्र निर्माण अन्तिम चरणमा

बुधबार, २० फागुन, २०८२
डिजिटल संस्करण

भोलि (२१ फागुन) मा हुने प्रनितिधिसभा सदस्य निर्वाचनको तयारी मकवानपुरमा अन्तिम चरणमा पुगेको छ । मतदानको अघिल्लो दिन बुधबार जिल्लाका निर्धारित स्थानमा मतदान केन्द्र निर्माणको कार्य धमाधम भइरहेको छ ।

प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा १६७ मतदानस्थल र ३७४ मतदान केन्द्र तोकिएका छन् । यस्तै, जिल्लामा थप दुईवटा अस्थायी मतदानस्थल राखिएको छ। 

मतदानस्थल निर्माण कार्यमा कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवकहरू खटिएका छन्। आज साँझसम्ममा जिल्लाका सम्पूर्ण मतदान केन्द्रहरू तयार गरिसक्ने लक्ष्यका साथ काम भइरहेको मकवानपुरका मुख्य निर्वार्चन अधिकृत मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन् । 

उनका अनुसार जिल्लामा एक सय ६७ वटा मतदानस्थल र दुई अस्थायीसहित तीन सय ६४ वटा मतदान केन्द्र छन् । जसमध्ये निर्वाचन क्षेत्र नम्बर १ मा ६२ मतदानस्थल र १७८ मतदान केन्द्र तथा निर्वाचन क्षेत्र नम्बर २ मा १०५ मतदानस्थल र १९६ मतदान केन्द्र रहेका छन् । यस्तै, निर्वाचन कार्यका लागि जिल्लामा ३ हजार ३६६ कर्मचारी खटिएका छन् भने चार हजार दुई सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पाँच सयसम्म मतदाता भएका केन्द्रमा आठजना, पाँच सयभन्दा बढी मतदाता भएका केन्द्रमा नौजना तथा अस्थायी मतदान केन्द्रमा पाँचजना कर्मचारी परिचालन गरिएको प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ। जिल्लामा कुल तीन लाख १५ हजार ३३४ मतदाता रहेका छन् ।

यस्तै, भीमफेदी गाउँपालिकाम रहेको भीमफेदी कारागार र जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई अस्थायी मतदान केन्द्र तोकिएको बागमती प्रदेश निर्वाचन अधिकृत हरि ढकालले जानकारी दिए। 

अधिकृत ढकालका अनुसार जिल्लको भीमफेदी कारागारमा रहेका ९९५ जना कैदीबन्दीमध्ये जम्मा ७५ जना मात्र मतदाता नामावलीमा सूचीकृत रहेका पनि प्रमुख ढकालले जानकारी दिए । तीमध्ये तीनजना महिला र ७२ जना पुरुष मतदाता रहेको उनको भनाइ छ ।

भीमफेदी कारागारमा कैदीबन्दीले मतदान गर्नेछन् भने जिल्ला प्रशासन कार्यलयमा रहेको अस्थायी मतदान केन्द्रमा निर्वाचनमा नखटिएका कर्मचारी, सुरक्षाकर्मी र जिल्लामा रहेका आश्रयस्थलमा बस्ने जेष्ठ नागरिकहरूले मतदान गर्नेछन्। 
जिल्लाका १६७ मतदानस्थल र ३७४ मतदान केन्द्र तोकिएकामा १९ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सुरक्षा संवेदनशीलताका आधारमा १० स्थानीय तहमध्ये ६ स्थानीय तहका मतदानस्थल अतिसंवेदनशील सूचीमा परेका हुन्।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा ६२ मतदानस्थल र १७८ मतदान केन्द्र तथा निर्वाचन क्षेत्र नम्बर २ मा १०५ मतदानस्थल र १९६ मतदान केन्द्र रहेका छन् । मकवानपुरका प्रहरी प्रवक्ता पुष्कर बोगटीका अनुसार जिल्लाभर १६७ मतदानस्थलमध्ये १९ वटा अतिसंवेदनशील, ६० वटा संवेदनशील र ८८ वटा सामान्य श्रेणीमा राखिएका छन् । अतिसंवेदनशील सूचीमा परेका मतदानस्थलमा २६ मतदान केन्द्र छन् ।

निर्वाचनमा मकवानपुरका तीन लाख १५ हजारभन्दा बढी मतदाताले मतदान गर्नेछन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार जिल्लामा कुल मतदाता संख्या तीन लाख १५ हजार ३३४ पुगेको छ । निर्वाचन कार्यालयका सूचना अधिकारी ताराप्रसाद आचार्यका अनुसार ०७९ पछि जिल्लामा १४ हजार ६०१ मतदाता थपिएका छन्  । 

सबैभन्दा बढी हेटौँडा उपमहानगरमा सात हजार १६३ मतदाता थपिएका छन् । मनहरी गाउँपालिकामा एक हजार ४६८, थाहा नगरपालिकामा एक हजार ४१५, बागमती गाउँपालिकामा ८४०, बकैया गाउँपालिकामा ८१७, मकवानपुरगढी गाउँपालिकामा ७५४, भीमफेदी गाउँपालिकामा ६९३, इन्द्रसरोवर गाउँपालिकामा ३७३, कैलाश गाउँपालिकामा ३६३ र राक्सिराङ गाउँपालिकामा २३५ मतदाता थपिएका छन् ।

सुझावित समाचार