सप्तरीमा कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने

बुधबार, २० फागुन, २०८२
डिजिटल संस्करण

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरीका ६९  जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन्। कारागार कार्यालय सप्तरीमा कैद भुक्तान गरिरहेका र मतदाता नामावलीमा नाम समावेश भएका कैदीहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने भएका हुन्।

स्थायी मतदाता नामावलीमा नाम समावेश भएका ६९ जनाले निर्वाचनमा समानुपातिकतर्फको मतदान गर्न पाउने  कारागार कार्यालय सप्तरीका प्रमुख रूपक मण्डलले बताए  । कारागारमा १९ महिलासहित ३५१ जना कैदीबन्दी छन् ।  

कैदीबन्दीका लागि कारागारमै अस्थायी मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले बताए । चुनावमा नखटिने सुरक्षाकर्मी तथा निजामती कर्मचारीका लागि  जिल्ला समन्वय समिति सप्तरीमा अस्थायी मतदान केन्द्र रहेका छन् ।  सप्तरीमा तीन हजार ८९२ अस्थायी मतदाता रहेका छन् ।

निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मीले भने सम्बन्धित  मतदान केन्द्रबाटै मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।  कैदीबन्दी, सुरक्षाकर्मी र निजामती कर्मचारीले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मात्र मत दिन पाउनेछन् । 

सप्तरीका चारैवटा निर्वाचन क्षेत्रबाट १०२ जनाको उम्मेदवारी कायम रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । चार लाख ४६ हजार ४०२ मतदाता रहेको सप्तरीमा पुरुष मतदाता दुई लाख ३३ हजार ९६, महिला मतदाता दुई लाख १३ हजार २८३ तथा अन्य २३ जना छन् । चारवटै निर्वाचन क्षेत्रमा २९६ मतदानस्थल र ५६२ मतदान केन्द्र तोकिएका छन् ।
 

सुझावित समाचार