सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको संख्या २८ लाख नाघेको छ । कोषले सार्वजनिक गरेको १४ फागुनसम्मको तथ्यांकअनुसार २८ लाख ३३ हजार नौ सय आठ योगदानकर्ता कोषमा आबद्ध भएका छन् । यस अवधिमा औपचारिकतर्फबाट २३ हजार एक सय २८ रोजगारदाता र ६ लाख ८२ हजार एक सय ८२ जना योगदानकर्ता कोषमा आबद्ध भएका हुन् । त्यसैगरी, वैदेशिक रोजगारीअन्तर्गत २१ लाख ५४, अनौपचारिकतर्फ आठ सय ५५ र स्वरोजगारतर्फ आठ सय १७ जना योगदानकर्ता कोषमा आबद्ध भएका छन् ।
तथ्यांकअनुसार कोषमा हालसम्म एक खर्ब तीन अर्ब ३० करोड रुपैयाँ जम्मा भएको छ । जसमा कोषले १९ अर्ब दाबी भुक्तानी गरिसकेको छ । यसरी हेर्दा कोषमा ८४ अर्ब रुपैयाँ मौज्दात देखिन्छ । कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत दुई अर्ब ९६ करोड ३३ लाख रुपैयाँभन्दा बढी योगदान रकम संकलन गरेको छ । त्यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा एवं आश्रित परिवार सुरक्षा योजनामा ६ अर्ब ४८ करोड ८९ लाख रुपैयाँ, वृद्ध अवस्था सुरक्षा योजनामा ८३ अर्ब १४ करोड ६६ लाख कोषमा जम्मा भएको छ । साथै, अतिरिक्त योगदानअन्तर्गत एक अर्ब ८६ करोड ६१ लाख रुपैयाँ जम्मा भएको छ भने यसको प्रतिफलस्वरूप आठ अर्ब ८२ करोड ९३ लाख रुपैयाँ संकलन भएको कोषको तथ्यांक छ ।
दुई लाख ७१ हजारले गरे दाबी
यस अवधिमा कोषमा दुई लाख ७१ हजार तीन सय २५ जनाले दाबी गरेका छन् । दाबी गर्नेमा औषधि उपचारतर्फ एक लाख ३४ हजार पाँच सय पाँच, दुर्घटना तथा अशक्ततातर्फ सात हजार दुई सय ६६, आश्रित परिवारतर्फ आठ सय २९ र वृद्ध अवस्था सुरक्षा योजनातर्फ एक लाख २८ हजार सात सय २५ ले भुक्तानीका लागि दाबी गरेको कोषले जनाएको छ । कोषका अनुसार १० लाख ३३ हजार ६ सय ७८ हजारपटकको दाबीमा १९ अर्ब भुक्तानी गरिएको छ ।
कहाँबाट कति योगदानकर्ता ?
औपचारिक योगदान गर्नेमा सबैभन्दा बढी संख्या बागमती प्रदेशको छ । यस अवधिमा सो प्रदेशबाट पाँच लाख ६ हजार नौ सय ६७ योगदानकर्ता कोषमा जोडिएका छन् । सबैभन्दा कम कर्णालीबाट तीन हजार आठजना जोडिएको कोषले जनाएको छ । यसबाहेक कोशीबाट ७७ हजार एक सय ३२, मधेशबाट ३३ हजार दुई सय ३७, गण्डकीबाट २९ हजार सात सय सात, लुम्बिनीबाट २७ हजार पाँच सय ३१ र सुदूरपश्चिमबाट चार हजार ६ सयजना व्यक्ति कोषमा जोडिएका हुन् ।
कोषमा आबद्ध हुने योगदानकर्तासँगै रोजगारदाता पनि बागमतीबाटै बढी छन् । बागमतीमा १५ हजार तीन सय आठ रोजगारदाता कोषमा जोडिँदा कोशीबाट दुई हजार पाँच सय ६१, मधेशबाट एक हजार दुई सय ८६, गण्डकीबाट एक हजार दुई सय ८६, लुम्बिनीबाट एक हजार नौ सय ९७, कर्णालीबाट तीन सय ११ र सुदूरपश्चिमबाट तीन सय ७९ गरी कुल २३ हजार एक सय २८ रोजगारदाता कोषमा आबद्ध छन् ।