ब्रह्माण्डको ठुलो तारा हुँदै छ विस्फोट

एकपटक तारा ‘हाइपरजायन्ट’ बनेपछि ‘सुपरनोभा’को ज्वलन्त विस्फोटमा यसको द्रुत मृत्यु निश्चित छ

शुक्रबार, १५ फागुन, २०८२
डिजिटल संस्करण

ब्रह्माण्डको सबैभन्दा ठुलो ज्ञात तारामध्ये एउटा तारा विस्फोटको सँघारमा रहेको एक नयाँ अनुसन्धानले देखाएको छ । सो तारा सन् २०१४ मा नाटकीय रूपान्तरणबाट गुज्रिएको वैज्ञानिकले बताउँदै आएका थिए । एथेन्सको राष्ट्रिय प्रयोगशालामा गोन्जालो मुनोज–सान्चेजको नेतृत्वमा गरिएको एक अध्ययनले विशाल तारा ‘डब्लुओएच’ ‘जी ६४’ रातो ‘सुपरजायन्ट’बाट दुर्लभ पहेँलो ‘हाइपरजायन्ट’मा परिवर्तन भएको तर्क गर्दै पहेँलो अवस्थामा संक्रमण हुनु विस्फोटको अवस्थामा पुगेको प्रमाण हुन सक्ने बताइएको छ । सो विशाल ताराले आफ्ना बाहिरी तह गुमाइरहेको, तातो हुँदै जाँदा संकुचित हुँदै गएको र आफ्नो छोटो जीवनको अन्त्यतिर सर्दै गरेको प्रमाणले सुझाव दिएको वैज्ञानिकको भनाइ छ ।

विशेष तारा
डब्लुओएच जी ६४ पहिलोपटक सन् १९७० को दशकमा पुड्को आकाशगंगा ‘लार्ज म्यागेलानिक क्लाउड’मा रहेको एउटा ताराका रूपमा पत्ता लागेको थियो । यो तारा अत्यन्तै चम्किलो मात्र थिएन, बरु अहिलेसम्म पत्ता लागेका सबैभन्दा ठुलामध्ये एक थियो । यो तारा सूर्यको ‘रेडियस’भन्दा १५ सय गुणा बढी ठुलो थियो ।२०२४ मा डब्लुओएच जी ६४ हाम्रो आकाशगंगाभन्दा बाहिरको पहिलो तारा थियो, जुन धेरै ठुलो टेलिस्कोप इन्टरफेरोमिटरको सहयोगमा त्यसको विस्तृत फोटो खिचिएको थियो । तस्बिरले केन्द्रीय विशाल ताराको वरपर प्रस्टसँग देखिने धुलोले भरिएको खोलजस्तो संरचना देखाएको थियो, जसले पुष्टि गर्यो कि उमेर बढ्दै जाँदा यसले आफ्नो पिण्ड गुमाउँदै छ ।

लगभग ४.६ अर्ब वर्ष पुरानो हाम्रो सूर्यभन्दा फरक अनुमानित उमेर ५० लाख वर्षभन्दा कम मानिएको डब्लुओएच जी ६४ छिटो बाँच्ने र जवानीमै मर्ने नियतको छ
 

अत्यधिक विशालदेखि निकै चम्किलोसम्म
डब्लुओएच जी ६४ ब्रह्माण्डको एक युवा तारा हो, जसको अनुमानित उमेर ५० लाख वर्षभन्दा कम छ । हाम्रो सूर्य (हाल लगभग ४.६ अर्ब वर्ष पुरानो) भन्दा फरक डब्लुओएच जी ६४ छिटो बाँच्ने र जवानीमै मर्ने नियतको छ । यो बृहत् रूपमा ग्यास र धुलोको विशाल बादलबाट बनेको छ । हाम्रो सूर्यजस्तै यो ताराले पनि न्युक्लियस फ्युजनद्वारा आफ्नो केन्द्रमा हाइड्रोजन जलाएको थियो ।

पछि यसमा रहेको हेलियम जलेर सुपरजायन्टबाट हाइपरजायन्ट (असाधारण रूपमा दुर्लभ, विशाल ताराहरू, जसको चमक अथाह छ र द्रव्यमान घट्ने दर उच्च छ) बनेको थियो । सबै सुपरजायन्टहरू हाइपरजायन्ट बन्दैनन् । धेरै ठुला ताराहरू छिटो जल्दा र हाइड्रोजनदेखि हेलियम जल्दा हाइपरजायन्ट बन्छन् भन्ने वैज्ञानिकको सिद्धान्त छ ।

यस संक्रमणका क्रममा यी ताराहरूले आफ्ना बाहिरी तह छाड्न थाल्छन् भने तिनको केन्द्र (कोरहरू) भित्रतिर खुम्चिन थाल्छन् । एकपटक तारा हाइपरजायन्ट बनेपछि सुपरनोभा (एउटा तारा जुन अचानक विनाशकारी विस्फोटकका कारण धेरै चमक बढ्छ) को ज्वलन्त विस्फोटमा यसको द्रुत मृत्यु हुने निश्चित हुन्छ ।

डब्लुओएच जी ६४ मा देखिएको यो परिवर्तनको कारण के हो ?
त्यसो भए २०१४ मा डब्लुओएच जी ६४ मा के भयो ? नयाँ अध्ययनले प्रस्ताव गरेको छ कि मूल सुपरजायन्टको सतहको ठुलो भाग ताराबाट बाहिर निस्किएको थियो । यो अर्को तारासँगको घर्षणका कारण यस्तो भएको हुन सक्छ, जुन लेखकले डब्लुओएच जी ६४ बाट प्रकाशको परिदृश्य हेरेर पुष्टि गरेका छन् ।अर्को सिद्धान्तअनुसार यो तारा विस्फोट हुन तयार हुँदै छ । हामीलाई थाहा छ कि यति ठुला तारा अनिवार्य रूपमा विस्फोट हुनेछन्, तर यो कहिले हुनेछ भनेर पहिले नै निर्धारण गर्न गाह्रो हुन सक्छ । एउटा सम्भावित परिदृश्य यो हो कि हामीले देखिरहेका संक्रमण सुपरनोभापूर्वको चरणको कारणले भएको हो ।

केवल समयले बताउनेछ विस्फोट
धेरैजसो तारा करोडौँ वा अर्बौं वर्षसम्म बाँच्छन् । हाम्रो आकाशगंगाबाहिरको ताराको त कुरै नगरौँ, हामीले तारामा यति धेरै रूपान्तरण देख्ने र दस्ताबेजीकरण गर्न सक्ने कुरा कहिल्यै निश्चित छैन । यदि हामी भाग्यमानी छौँ भने हामीले हाम्रै जीवनकालमा डब्लुओएच जी ६४ को मृत्यु देख्नेछौँ । जसले आकाशगंगाको अविश्वसनीय तमासा मात्र प्रदान गर्दैन, बरु वैज्ञानिकलाई यो आकर्षक ताराको रहस्य पूरा गर्न मद्दत गर्नेछ । यससम्बन्धी अध्ययन गत सोमबार ‘नेचर एस्ट्रोनोमी’मा प्रकाशित छ ।
(वेब स्विनबर्न युनिभर्सिटी अफ टेक्नोलोजीमा सेन्टर फर एस्ट्रोफिजिक्स एन्ड सुपरकम्प्युटिङकी लेक्चरर हुन्)– द कन्भर्सेसनबाट

सुझावित समाचार