उदयपुरमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई पदका लागि ३१ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । आ–आफ्ना दलका नीति–कार्यक्रम र व्यक्तिगत विकासे योजनाको सूची बोकेर उम्मेदवारहरू मत माग्दै जनताको घरघर पुगिरहेका छन् । सबै उम्मेदवार जितको दाबी गरिरहेका वेला मतदातामा भने पुराना दलप्रति असन्तुष्टि देखिएको छ ।
भदौको जेन–जी आन्दोलनको प्रभाव उदयपुरमा पनि परेको छ । यसले एमाले, कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीजस्ता दललाई चुनौती थपेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ०७९ को निर्वाचनमै समानुपातिकतर्फ उल्लेख्य मत ल्याइसकेको दल हो । प्रत्यक्षतर्फ मत बढेमा पुराना दलका उम्मेदवारलाई जित निकाल्न कठिन हुने देखिन्छ । त्यसैले उदयपुर १ मा कांग्रेस र २ मा कम्युनिस्ट किल्ला कायम रहन्छ कि भत्किन्छ ? भन्ने चासो देखिएको छ ।
जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख दीपक दाहालका अनुसार एक लाख २१ हजार ८६६ पुरुष र एक लाख १७ हजार ५८ महिला र अन्य दुईजना गरी जम्मा दुई लाख ३८ हजार ९२६ मतदाता छन् । ‘थपिएका अधिकांश नयाँ पुस्ताका हुन्,’ उनले भने ।
उदयपुर १ मा विरासत जोगाउन कांग्रेसलाई चुनौती
देश संघीय संरचनामा गएयता उदयपुर १ बाट लगातार विजयी हुँदै आएका कांग्रेस नेता तथा पूर्वमन्त्री डा. नारायण खड्काले यसपटक उम्मेदवारी दिएनन् । पार्टीको विशेष महाधिवेशनपछि बनेको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै खड्काले उम्मेदवारीबाट हात झिकेका थिए । खड्काको ठाउँमा कांग्रेसले पूर्वजिल्ला सभापति विदुर बस्नेतलाई उम्मेदवार बनाएको छ । खड्काले ०७४ मा तत्कालीन एमाले–माओवादी गठबन्धनलाई पराजित गरेका थिए । ०७९ को निर्वाचनमा माओवादी र एकीकृत समाजवादीको समर्थनमा उनी विजयी भएका थिए । ०६४ र ०७० को संविधानसभा निर्वाचनमा पनि खड्का नै विजयी भएका थिए । तर, यसपटक खड्का स्वयं मैदानमा नहुँदा कांग्रेसका लागि विरासत जोगाउनु चुनौतीपूर्ण देखिन्छ । बस्नेत ०७४ को प्रदेशसभा निर्वाचनमा पराजित भइसकेका उम्मेदवार हुन् ।
उदयपुरमा १ मा १८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । एमालेबाट बेलका नगरपालिकाका पूर्वमेयर दुर्गाकुमार थापा, नेपाली कम्युनिस्ट पार्टीबाट त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पारस गेलाल, श्रम संस्कृति पार्टीबाट राजेशकुमार राई उम्मेदवार छन् । यस्तै, राप्रपाबाट सुवासचन्द्र खड्का, उज्यालो नेपाल पार्टीबाट अर्जुन तामाङ तथा एमालेका बागी उम्मेदवार देवराज रोक्का पनि मैदानमा छन् । यसपटक अधिकांश दलका उम्मेदवार नयाँ अनुहार हुन् ।
०७९ को निर्वाचनमा खसेको ७१ हजार ४५५ मतमध्ये कांग्रेसका डा. खड्काले ३१ हजार २७० मत ल्याएका थिए । पराजित एमालेकी मञ्जुकुमारी चौधरीले २८ हजार ८९१, राप्रपाका ध्रुवकुमार रायमाझीले तीन हजार ९१५ र राष्ट्रिय स्वतन्त्र पार्टीका उद्धव अधिकारीले तीन हजार ४४४ मत पाएका थिए । समानुपातिकतर्फ ७२ हजार २०४ मतमध्ये एमालेले २३ हजार ८३६, कांग्रेसले १९ हजार ४७६, माओवादीले नौ हजार ७३९, राष्ट्रिय स्वतन्त्र पार्टीले सात हजार ३३७, एकीकृत समाजवादीले एक हजार ६२८ र राप्रपाले चार हजार ३७५ मत प्राप्त गरेका थिए । श्रम संस्कृति पार्टी र उज्यालो नेपाल पार्टी थपिँदा यसपटक प्रतिस्पर्धा अझ रोचक बन्ने देखिन्छ ।
उदयपुर १ मा तीन नगरपालिका पर्दछन् । जसमा चौदण्डीगढी नगरपालिकामा पुरुष २० हजार ६६ र महिला २० हजार २८३ गरी जम्मा ४० हजार ३४९, बेलका नगरपालिकामा पुरुष १७ हजार ५४० र महिला १६ हजार ६६० गरी ३४ हजार दुई सय, त्रियुगा नगरपालिकामा ३३ हजार ८४६ पुरुष र ३४ हजार ४०७ महिला गरी ६८ हजार २५५ मतदाता छन् । यो क्षेत्रमा पुरुष ७१ हजार ४९२, महिला ७१ हजार ३५० र अन्य दुई गरी एक लाख ४२ हजार ८०४ मतदाता छन् । यस प्रतिनिधिसभा १ मा ५२ वटा मतदानस्थल र १६० मतदान केन्द्र कायम गरिएको छ ।
उदयपुर २ मा जोगिएला कम्युनिस्ट गढ ?
उदयपुर २ कम्युनिस्ट प्रभाव रहेको निर्वाचन क्षेत्र पर्छ । यसपटक एमालेका निर्वतमान सांसद अम्बरबहादुर रायमाझी पुनः उम्मेदवार बनेका छन् । नेपाली कम्युनिस्ट पार्टीबाट सुरेशकुमार राई, कांग्रेसबाट रामकुमार राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सूर्यबहादुर तामाङ, श्रम संस्कृति पार्टीबाट बलराज राई र स्वतन्त्र उम्मेदवार मेजरकुमार राईसहित १३ जना चुनावी मैदानमा छन् ।
०७९ को निर्वाचनमा ४२ हजार १६१ मत सदर हुँदा रायमाझीले १५ हजार २५१ मत ल्याएर जितेका थिए । तत्कालीन एकीकृत समाजवादीका उम्मेदवार जगन्नाथ खतिवडाले १२ हजार ८९३ मत पाएका थिए । कांग्रेसबाट असन्तुष्ट रहेर स्वतन्त्र उम्मेदवार बनेका रामकुमार राईले १० हजार ३७९ मत ल्याउँदा खतिवडाको हार भएको थियो । राई अहिले कांग्रेसका आधिकारिक उम्मेदवार हुन् । यो क्षेत्रमा एकपटक मात्र कांग्रेस विजयी भएको छ । बाँकी सबै निर्वाचनमा कम्युनिस्ट पार्टी नै विजयी हुँदै आएको क्षेत्र हो ।
समानुपातिकतर्फ ४२ हजार ३५६ मतमध्ये एमालेले १३ हजार ९०३, कांग्रेसले १० हजार ५१५, माओवादीले सात हजार ४०६ र एकीकृत समाजवादीले दुई हजार २३५ मत पाएका थिए । यी मत जोड्दा अहिलेको नेपाली कम्युनिस्ट पार्टीको करिब नौ हजार ६४१ मत हुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले तीन हजार ८०६ मत पाएको थियो ।
उदयपुर २ मा एक नगरपालिकासहित चार गाउँपालिका पर्दछन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार उदयपुरगढी गाउँपालिकामा पुरुष ११ हजार ९९ र महिला नौ हजार ७८० गरी कुल २० हजार ८७९, रौतामाई गाउँपालिकामा पुरुष सात हजार ९६५ र महिला सात हजार २८ गरी १४ हजार ९९३, लिम्चुङबुङ गाउँपालिकामा पुरुष चार हजार ५६५ महिला चार हजार १२४ गरी कुल आठ हजार ६८९ कायम भएका छन् । कटारी नगरपालिकामा पुरुष २१ हजार ४९७ महिला १९ हजार ९०९ गरी कुल ४१ हजार ४०६ र ताप्ली गाउँपालिकामा पाँच हजार २८८, महिला चार हजार ८६७ गरी कुल १० हजार १५५ कायम भएका छन् ।
यो क्षेत्रमा पुरुष ५० हजार ४१४ र महिला ५४ हजार ७०८ गरी कुल ९६ हजार १२२ कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय प्रमुख दाहालका अनुसार यो क्षेत्रमा ५१ वटा मतदानस्थलमा ११५ वटा मतदान केन्द्र कायम गरिएको छ ।
बागी उम्मेदवारको त्रास
उदयपुर १ मा एमाले उम्मेदवार दुर्गाकुमार थापाविरुद्ध बागी उम्मेदवार देवराज रोका तथा २ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवार मेजरकुमार राई मैदानमा छन् । रोक्का ‘मुढा’ चुनाव चिह्न लिएर चुनावी प्रचारमा छन् भने राई ‘भँगेरो चरा’ चिह्न लिएर मत मागिरहेका छन् । रोक्का ०७९ मै एमालेबाट टिकटका दाबेदार थिए । राई भने तत्कालीन माओवादीबाट लिम्चुङबुङ गाउँपालिकामा दुईपटक अध्यक्ष निर्वाचित जनप्रतिनिधि हुन् । राजनीतिबाट राजीनामा दिएर उनी स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
सगरमाथा विमानस्थलदेखि सुनकोशी करिडोरसम्मका विकास योजना सधैँ चुनावी एजेन्डा
सिद्धिचरण लोकमार्ग, सगरमाथा विमानस्थल, र सुनकोशी करिडोरजस्ता महत्वाकांक्षी विकास योजना उदयपुरमा सधैँ चुनावी एजेन्डा बन्ने गरेका छन् । तर, अधिकांश योजना अझै अधुरो अवस्थामा छन् । त्रियुगा नगरपालिका– १ र २ मा बनाउने भनिएको सगरमाथा विमानस्थल हाल जंगल फडानी गरेर खाली जग्गा गौचरन बनेको छ । उदयपुर १ मा पर्ने यो क्षेत्रमा दुई–तीन वर्षअघि फडानी गरिएको भए पनि बजेट अभावका कारण विमानस्थल निर्माणमा कुनै प्रगति नभएको स्थानीय रुद्र अधिकारीले बताए । ‘विमानस्थल बनाउने भनेर फडानी गरिएको हो, तर बजेट नभएको कारण अहिलेसम्म बन्न सकेको छैन ।
यसपालिको चुनावमा सबै पार्टीका उम्मेदवारहरूले यसलाई चुनावी एजेन्डामा समेटेका छन्,’ उनले भने । उदयपुरको मुख्य सडकमा पर्ने सिद्धिचरण लोकमार्गको मिर्चैया–कटारी–घुर्मी खण्ड पनि दुई दशकदेखि चुनावी एजेन्डामा छ । कटारी नगरपालिका– ११ का धनराज राउतका अनुसार ०६४, ०७०, ०७४ र ०७९ को निर्वाचनमा पनि यस खण्डको दुई लेन सडक बन्ने कुरा घोषणापत्रमा उल्लेख भए पनि अहिलेसम्म निर्माण हुन सकेको छैन । ‘यस सडकले उदयपुर पश्चिमको ग्रामीण र पहाडी क्षेत्रलाई बजार र सदरमुकामसँग जोड्ने महत्व राख्छ,’ उनले भने ।
घुर्मीदेखि सुनसरीको चतरा जोड्ने सुनकोशी करिडोर पनि दुई दशकदेखि अधुरो अवस्थामा छ । कटारी नगरपालिका–१० का दुर्गाबहादुर विष्टले यसपटक पनि सुनकोशी करिडोर चुनावी एजेन्डामा रहेको बताए । उनले भने, ‘एजेन्डा त बन्छ, सडक बन्न सक्दैन ।’ यस योजना पूरा भए कृषि उत्पादन, दैनिक यातायात र व्यापारप्रवाहमा सहजता आउने अपेक्षा गरिएको छ । उदयपुर सिमेन्ट उद्योग पुनर्संरचना, त्रियुगा नदी नियन्त्रणका तटबन्ध, सुकुमबासी र भूमिहीनलाई लालपुर्जा उपलब्ध गराउने योजना, बहुप्राविधिक क्याम्पस/विश्वविद्यालय, औद्योगिक क्षेत्र विस्तार, कृषि आधुनिकीकरण र सिँचाइजस्ता महत्वाकांक्षी कार्यक्रम पनि दल र उम्मेदवारले बारम्बार चुनावी घोषणामा समेट्दै आएका छन् । तर, ठेक्का, बजेट र प्राविधिक समस्याका कारण अधिकांश योजना अधुरा छन् ।
दलका नेताहरूको आ–आफ्नै दाबी
भागवत राउत, अध्यक्ष, एमाले उदयपुर
दुवै क्षेत्रमा लोकप्रिय उम्मेदवार भएकाले जित निकाल्न सहज देखिएको छ । दुर्गाकुमार थापा र अम्बरबहादुर रायामाझी सामाजिक आन्दोलनबाट उदाएका नेता हुन् । त्यसमा एमालेको संगठन पनि बलियो र एजेन्डा पनि बलियो भएकाले जित निकाल्न सकिन्छ ।
हिमाल कार्की, सभापति, कांग्रेस उदयपुर
जेन–जी आन्दोलनपछि कांग्रेसको विशेष महाधिवेशन भयो । अहिले कांग्रेस परिवर्तन भएको छ । विगतमा सत्ता सञ्चालनमा भएका गल्तीहरूको समीक्षा गर्दै कांग्रेस अहिले नयाँ योजनाका साथ आएको छ । कांग्रेस रूपान्तरण पनि भएको छ । त्यसमा उम्मेदवार पनि जनप्रिय र लोकप्रिय छन् ।
द्रोण पौडेल (नीरज), नेता, नेकपा उदयपुर
उदयपुर १ मा बलदेव चौधरी र २ मा सुरेशकुमार हिमाल जनआधार भएका उम्मेदवार हुनुहुन्छ । उदयपुरका मतदाताले विगतका अनुभव र वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण गर्दै स्थिरता, सुशासन र विकासको पक्षमा मतदान गर्ने स्पष्ट संकेत दिएका छन् । नीति र विचारको प्रतिस्पर्धा भएकाले जनताले परिवर्तन र अग्रगमनको पक्षमा मत दिनेछन् ।
चित्रकुमार कार्की, सभापति, रास्वपा
बालेन शाहलाई प्रधानमन्त्री बनाउने एजेन्डामा उदयपुरमा नयाँ जनलहर रास्वपाको पक्षमा आएको छ । हामीलाई जेन–जी पुस्ताको ठुलो सहयोग छ । बालेनलाई प्रधानमन्त्री बनाउने कुराले उदयपुरका मतदातामा उत्साह थपेको छ । पार्टी केन्द्रको घोषणापत्र र स्थानीय घोषणापत्रको आधारमा मत मागिरहेका छौँ । सगरमाथा विमानस्थलदेखि सुनकोशी करिडोरसम्मका विकास योजना चुनावी एजेन्डा छन् ।