कञ्चनपुर क्षेत्र नं २ मा नेकपा (एमाले)का उम्मेदवार बचनबहादुर सिंहले प्रतिबद्धतापत्र ल्याएका छन्। २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिंहले १२२ बुँदे प्रतिबद्धता पत्र ल्याएका हुन्।
एमाले युवा संघका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका सिंहले आफूले जिते निर्वाचन क्षेत्रको दीगो विकासका कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जाहेर गरेका छन्। सिंहले आइतबार झलारीमा पत्रकार सम्मेलन गर्दै चुनावी घोषणा सार्वजनिक गरेका हुन्।
घोषणापत्रमा सार्वजनिक सेवा र सुशासनलाई प्राथमिकतामा राखेको बताइएको छ। शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि तथा पशुपालन, यातायात, आवास, धर्म, संस्कृति, पर्यावरण, युवा खेलकुद, सहकारी, महिला तथा बालबालिका, नदी नियन्त्रण, उद्योग, भूमि अधिकारसहित जनप्रतिनिधिको उत्तरदायित्व बहन गर्ने उनको प्रतिबद्धता छ।
सार्वजनिक कार्यालयमा डिजिटल गुनासो व्यवस्थापन प्रणालीका लागि ३÷३ महिनामा जनतासँग संवाद गर्ने, ६/६ महिनामा जनतासँग नियमित संवाद गर्ने, बेदकोट, शुक्लाफाँटा र कृष्णपुरका क्याम्पसहरुमा स्नातकोत्तर तह अध्ययनको व्यवस्था गर्ने, नगर अस्पताल निर्माण गर्दै विशेषज्ञ चिकित्सकको व्यवस्था गर्ने, तीनै पालिकामा कोल्ड स्टोर निर्माण गर्ने, कृषियोग्य भूमिको खण्डीकरण रोक्ने, पूर्वपश्चिम महेन्द्र राजमार्ग चार लेन सडक बनाउने, गरिब विपन्नलाई आवास दिलाउने, धार्मिक पर्यटकीय गन्तव्यको विकास गर्ने, बहुउपयोगी रंगशाला बनाउने, सबै नदी तथा खोला नियन्त्रण गर्ने, आरक्षपीडितलाई कम्तिमा १० कठ्ठा जमिन र ६० लाख क्षतिपूर्ति दिलाउने, दैजी–छेला औद्योगिक क्षेत्र विस्तार गरेर २२ हजारलाई रोजगारी दिने घोषणा गरेका छन्।
सिंहले विगतमा भएका चुनाव जितेर जनतातिर नफर्किने संस्कारको अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्।
टिकटमा उत्पन्न विवादबारे सिंहले पार्टी केन्द्रकै निर्णय अन्तिम भएकाले सबैले मान्दै आएको र मान्नुपर्ने बताए। एमाले समानुपातिक उम्मेदवार एवं केन्द्रीय सदस्य कृपाराम रानाले जनताको मुद्दा निरन्तर उठान गर्दै समाधानकै लागि उम्मेदवारले पहिल्यै प्रतिबद्धता पत्र ल्याएको बताए।
एमाले निर्वाचन परिचालन क्षेत्र नं २ का संयोजक अशोककुमार चन्दले सुरेन्द्र बम नेतृत्वको आयोगले ल्याएको प्रस्तावअनुरुप आरक्षपीडितको पुनर्स्थापना गरिने बताए।