६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रका १ करोड ८२ लाखभन्दा बढी मतपत्र छपाइ

आइतबार, ३ फागुन, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रमा आवश्यक मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म एक करोड ८२ लाख ३० हजार मतपत्र छापिसकिएको छ । शुक्रबारसम्म ६३ जिल्लाको काम सकिएको थियो भने आज थप तीन जिल्लाको छपाइ पूरा भएको हो । अब काठमाडौं उपत्यकाआसपासका ११ जिल्लाको मात्र मतपत्र छाप्न बाँकी रहेको बताइएको छ । आयोगले आगामी दुई दिनभित्र सम्पूर्ण छपाइ सक्ने अनुमान गरेको छ । छपाइ सम्पन्न भएका जिल्लाका मतपत्रहरू प्याकिङसमेत गरिसकिएको छ । अहिलेसम्म १६ हजार ४९४ बाकस मतपत्र प्याकिङ भइसकेको जानकारी दिइएको छ । दैनिक करिब एक हजार बाकस प्याकिङ र ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तथा प्रत्यक्ष दुवै प्रणालीअन्तर्गतका मतपत्र जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा गत पुस २२ गतेदेखि छाप्न थालिएको हो । प्रारम्भिक चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छापेर सम्बन्धित जिल्लामा पठाइसकिएको छ । समानुपातिक प्रणालीतर्फ पुस २६ गतेबाट छपाइ सुरु भई माघ १३ गतेसम्म दुई करोड आठ लाख ३० हजार मतपत्र छापेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ भने दुई करोड तीन लाख २३ हजार मतपत्र आवश्यक पर्ने बताइएको छ । यसअन्तर्गतको छपाइ माघ १६ गते बिहानदेखि सुरु गरिएको हो ।

यसैबिच, कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन थालिएको छ । आज सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत जिल्लामा मतपत्र ढुवानी गरिएको आयोगले जनाएको छ ।

सुझावित समाचार