एमालेले जारी गर्‍यो अध्यक्ष ओलीलाई मत दिनैपर्ने ३० कारण

शनिबार, २ फागुन, २०८२
डिजिटल संस्करण

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई मत हाल्नैपर्ने ३० वटा कारण अघि सारेको छ। पार्टीको झापा- ५  क्षेत्रीय कमिटीले प्रकाशन गरेको अपिलमा राष्ट्रिय स्वाधीनताको रक्षादेखि शिक्षक दरबन्दी मिलानसम्मका विषयहरू समेटिएको छ। 

केपी शर्मा ओलीलाई नै भोट किन भन्ने शीर्षकको अपिलमा खस्किएको मनोबल उठाउनका लागि ओलीलाई जिताउनुपर्ने उल्लेख गरिएको छ। ‘देशमा छाएको त्रासको वातावरण अन्त्य गरी सबै नेपालीलाई शान्तिसुरक्षाको ग्यारेन्टी गर्नका लागि ओलीलाई मत दिनुपर्दछ,’ अपिलमा भनिएको छ, ‘झापा ५ मा सुरु गरिएका विकासका अधुरा योजनाहरूलाई सम्पन्न गर्नका लागि केपी ओलीलाई मत दिन अपिल गरिन्छ। ’

एमालेको अपिलमा नवयुवालाई प्राविधिक शिक्षा उपलब्ध गराइ युवामा सिपमूलक विकास गर्दै स्वरोजगारको अभिवृद्धिका लागि ओलीलाई मतदान गर्न आह्वान गरिएको छ। ओलीलाई जिताएर सुस्ताएको अर्थतन्त्र चलायमान बनाउन र कृषिक्षेत्रको विकास गरी खाद्यान्नमा आत्मनिर्भर बनाउन पनि केपी ओलीको आवश्यकता रहेकाले ओलीलाई मतदान गर्न अनुरोध गरिएको छ।

निर्माणाधीन एसियन हाई वे, मध्यपहाडी राजमार्ग, मदन भण्डारी राजमार्ग र हुलाकी सडकका अधुरो निर्माण सम्पन्न गर्नका लागि पनि ओलीलाई मतदान गर्न आह्वान गरिएको छ। यसैगरी, दमकको मुख्य आर्थिक र मानवीय स्रोतको रूपमा रहेको दमक –रवि सडक–चिसापानी सडक निर्माण सम्पन्न गरी जनताको जीवनस्तर उकास्नका लागि पनि अध्यक्ष ओलीलाई निर्वाचित गर्न माग गर्दै एमालेले अपिल जारी गरेको छ। 

‘नेपाल-चीनमैत्री औद्योगिक पार्क निर्माण कार्य सम्पन्न गर्न ओलीलाई यस क्षेत्रबाट निर्वाचित गर्नुपर्दछ,’ अपिलमा भनिएको छ, ‘दमक, गौरादह र गौरीगन्ज बजारलाई आधुनिकीकरण गर्दै स्मार्ट सिटीको रूपमा विकास गर्नका लागि ओलीलाई मतदान गर्नुपर्दछ।’

एमालेले भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधान गर्न पनि एमालेले ओलीलाई मतदान गर्नका लागि अनुरोध गरेको छ। एमालेका केन्द्रीय सदस्य दीपक कार्कीका अनुसार रतुवा, मावा, कमललगायतका खोलाको तटबन्धन कार्य पूरा गर्नका लागि पनि ओलीलाई जिताउन आममतदातासँग आह्वान गरिएको हो। यसैगरी दमक, गौरादह र गौरीगन्जका सबै स्थानीय तहका अस्पतालमा सहज सेवा विस्तारका लागि पनि ओलीलाई मत दिन आह्वान गरिएको कार्कीले बताए। ‘केपी ओली र झापा ५ एकअर्काका परिपूरक हुन्,’ कार्कीले भने उनले गरेका विकास निर्माणका काम, उहाँले प्रत्यक्ष रूपमा चिनेका मतदाता, भूमिगत कालमा बसेका सेल्टरदाताहरूसँगको सामीप्यताले उनले चुनाव सहजै जित्छन्। ’ 

कार्कीका अनुसार पार्टीले मतदातालाई अध्यक्ष ओलीलाई स्मरण गराउनका लागि अपिल जारी गरिएको हो। ‘अपिलमा मुख्य मुख्य विषयहरू समेटिएकोले घरदैलोमा गएका पार्टीका कार्यकर्तालाई पनि मतदातालाई कुरा बुझाउन सजिलो सामग्रीको रूपमा पनि प्रयोग भएको छ,’ कार्कीले भने, ‘यस्तो अपिल परिवार संख्याका आधारमा एउटा वडामा कम्तीमा १५ सयवटा बाँडिन्छन्।’
 

सुझावित समाचार