- विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले विद्यावारिधिको योग्यता ढाँटेको आरोपमा डिग्री क्याम्पस विराटनगरका प्राध्यापक डिल्लीराम प्रसाईंलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ
विद्यावारिधिको योग्यता ढाँटेको आरोपमा विशेष अदालतले त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकलाई दोषी ठहर गरेको छ । बुधबार विशेष अदालतले डिग्री क्याम्पस विराटनगरका प्राध्यापक डिल्लीराम प्रसाईंलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो । साथै चार सय रुपैयाँ अपराधपीडित संरक्षण कोषमा जम्मा गर्न आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले दुई महिनाअघि दायर मुद्दामा फैसला सुनाएको हो । प्रसाईंले परीक्षा परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको ठहर अदालतले गरेको छ । प्रसाईंले त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल (विराटनगर)को सहपरीक्षानियन्त्रक पदका लागि आवेदन दिएका थिए । उनी सिफारिस सूचीमा पहिलो नम्बरमा परेका थिए र ०८१ मंसिर १९ गतेदेखि लागू हुने गरी नियुक्तिसमेत लिएका थिए ।
तर, उक्त पदका लागि आवश्यक विद्यावारिधि योग्यता पूरा नगरेको विषयमा त्रिविले आन्तरिक छानबिन गरेको थियो । छानबिनबाट उनले विद्यावारिधि पूरा नगरेको पुष्टि भएपछि नियुक्ति बदर गरिएको थियो । त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरी १० मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अनुसन्धानअनुसार प्रसाईंले ५ मंसिर ०८० मा विद्यावारिधिका लागि शोधपत्र पेस गरेका थिए र अन्तिम मौखिक परीक्षा (भाइवा)मा सहभागी भएका थिए । तर, शोधपत्र परिमार्जन गर्न ६ महिनाको समय दिइएको अवस्थामा पनि उनले आफूलाई ‘डा.’ उल्लेख गर्दै सहपरीक्षा नियन्त्रक पदका लागि दाबी गरेका थिए । प्रोभिजनल प्रमाणपत्रसमेत नपाएको अवस्थामा बदनियतपूर्वक पद प्राप्त गर्न खोजेको अदालतको ठहर छ ।
उक्त पदको छनोट समितिमा रहेका पद्मकन्या क्याम्पसकी प्राध्यापक जयालक्ष्मी प्रधान, त्रिवि रसायनशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. मेघराज पोखरेल र तत्कालीन प्राध्यापक डा. मोतीलाल शर्मालाई भने सफाइ दिइएको छ । उनीहरूले प्राप्त कार्यादेशअनुसार अंकन गरेको मात्र देखिएकाले नियुक्ति प्रक्रियामा प्रत्यक्ष संलग्नता नदेखिएको अदालतले जनाएको छ । अदालतले स्वघोषणामार्फत गलत विवरण पेस गरेको आधारमा प्रसाईंलाई सजाय सुनाएको संक्षिप्त फैसलामा उल्लेख गरेको छ ।