पाकिस्तानले आइसिसी टी–२० विश्वकपअन्तर्गत भारतविरुद्धको समूह चरणको खेल निर्धारित मितिमै खेल्ने भएको छ । यसअघि पाकिस्तानले फेब्रुअरी १५ मा कोलम्बोमा हुने खेल नखेल्ने निर्णय गरेको थियो।
भारत र श्रीलंकामा संयुक्त रूपमा जारी विश्वकपमा पाकिस्तानले आफ्ना सबै खेल श्रीलंकामा खेल्दै छ । तर, बंगलादेशको कारण देखाउँदै पाकिस्तानले भारतसँगको खेल नखेल्ने निर्णय लिएको थियो ।
पाकिस्तान सरकारद्वारा सामाजिक सञ्जाल एक्समा जारी वक्तव्यमा हालसम्म प्राप्त उपलब्धि तथा मित्रराष्ट्रहरूको अनुरोधलाई ध्यानमा राख्दै भारतविरुद्धको खेल खेल्न टोलीलाई अनुमति दिइएको उल्लेख गरिएको छ । भारत र पाकिस्तान विश्वकपको समूह ‘ए’मा छन्।
केही दिनयता पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी), बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)बिच पाकिस्तानलाई भारतविरुद्धको खेल बहिष्कार नगर्न मनाउने उद्देश्यले तीव्र छलफल हुँदै आएको थियो ।
यस्तै, आइसिसीले बंगलादेशमाथि कुनै पनि जरिवाना नलगाइने स्पष्ट पनि पारेको छ । बंगलादेशलाई २०२८–२०३१ चक्रअन्तर्गत थप एक आइसिसी प्रतियोगिताको आयोजना अधिकारसमेत प्रदान गरिएको जनाएको थियो ।
भारतसँगको चिसिएको कूटनीतिक सम्बन्धका कारण बंगलादेशले भने विश्वकपमा सहभागी नहुने निर्णय गरेको छ। उसको स्थानमा स्कटल्यान्डले मौका पाएको छ।