उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूहरूलाई विश्वास गर्न आह्वान गरेका छन्। आफूहरूले आश्वासन बाँड्ने नभई काम गरेर देखाउने भन्दै घिसिङले उज्यालो नेपाललाई विश्वास गर्न आग्रह गरेका हुन्।
शुक्रबार महोत्तरी सदरमुकाम जलेश्वर आइपुगेका उनले दुर्गा चोकबाट सम्बोधन गर्दै अबको विकास उज्यालोबाट मात्र सम्भव भएको दाबी गरे। अरू दलहरू परीक्षण भइसकेको उल्लेख गर्दै घिसिङले आफूहरू मतदाताको विश्वासमा खरो उत्रने प्रतिबद्धता जनाए।
महोत्तरी ३ बाट पार्टीका उम्मेदवार रञ्जितकुमार साहको समर्थनमा जलेश्वर आइपुगेका घिसिङले यसपटक पुराना पार्टी र चिनेका नेतालाई नभई जनताको पक्षमा काम गर्ने नयाँ पार्टीलाई मत दिन आह्वान गरे।
घिसिङ आफ्ना उम्मेदवारहरूको समर्थन र सहयोगका लागि अहिले मधेशका विभिन्न जिल्ला घुम्दै छन्। उनले महोत्तरी क्षेत्र २ का उम्मेदवार डा. राकेश मण्डल र उनका मतदाताहरूसँग पनि भेट गरेका छन्।