बुटवल–नारायणगढ सडक विस्तार : पूर्वी खण्डका ३४ मध्ये ३३ वटा पुलको काम सकियो

मंगलबार, २१ माघ, २०८२
डिजिटल संस्करण

नारायणघाट–बुटवल सडकखण्डअन्तर्गत पूर्वी खण्डमा पर्ने ३४ वटा पुलमध्ये ३३ वटा पुल निर्माणको काम सकिएको छ । हालै मात्र नवलपुरको चोरमारामा निर्माण गरिएको नयाँ पुल सञ्चालनमा आएको छ । यससँगै यो सडकखण्डमा आरुण खोलाबाहेक सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा ३३ वटा पुल निर्माणको काम सकिएको छ । आयोजनाको पूर्वी खण्ड नवलपुरमा पर्ने ३३ वटा पुल निर्माणको काम सकिएको सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

गैँडाकोटदेखि दाउन्नेसम्मको पूर्वी खण्डमा ३४ वटा पुल निर्माण गर्नुपर्ने थियो । यस खण्डमा २५ मिटर लम्बाइसम्मका छोटा २२ वटा पुल र २५ मिटरभन्दा लामा १२ वटा पुल निर्माण गर्नुपर्नेमा एउटा आरुण खोलाको पुल मात्र निर्माणको काम बाँकी रहेको सूचना अधिकारी खनालको भनाइ छ । उक्त पुल निर्माणको कामलाई पनि तीव्रता दिइएको खनालले बताए । उनका अनुसार अरुण खोलाको पुन बनेर सवारीसाधन सञ्चालनमा आउन अझै कम्तीमा दुई महिना लाग्छ । 

‘पुलहरू बनाउने काम लगभग अन्तिम चरणमा पुगेको छ, एउटा अरुण खोलाको पुलमा केही काम बाँकी छ, त्यो पनि चाँडै सकिन्छ,’ सूचना अधिकारी खनालले भने । दाउन्ने खण्डमा केही कल्भर्टको काम बाँकी रहेकाले ती कल्भर्ट निर्माणसमेत अन्तिम चरणमा चलिरहेको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डको हालसम्म भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ । पूर्वी खण्डमा दाउन्ने सडकखण्ड, अरुण खोलाको केही भाग र दुम्किवासको केही भागबाहेक अन्यत्र कालोपत्रेको लगभग सबै काम सकिएकाले यात्रा सहज बनेको छ । दाउन्ने क्षेत्रमा भने अझै सडक ढलानको काम बाँकी रहेकाले यात्रा सहज हुन सकेको छैन । सडक कालोपत्रे सकिएको ठाउँमा सडक लेन छुट्याउन लेन मार्किङको काम भइरहेको छ ।

दाउन्नेको १४ किलोमिटर सडकखण्डमध्ये पूर्वी खण्डमा चार किमि मात्रै पर्छ । जसमा २२ मिटर ढलानको अनुमति पाएकोमध्ये ८० प्रतिशत काम सकिएको खनालले बताए । दाउन्नेमा अहिले अन्तिम डाँडा काट्ने, कल्भर्ट निर्माण, बाटोको चौडाइ बढाउने, पहिरो जान सक्ने ठाउँमा तलबाटै ग्याभिङ भर्नेलगायतका काम भइरहेका छन् । 

नारायणघाट–बुटवल सडक विस्तारको काम ०७५ माघ २४ गते सम्झौता भएर ०७९ साउन २२ गते सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो । यो सडकको कुल एक सय १३ किमि दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो । निर्धारित समयमा काम नसकिएपछि चौथोपटक ०८३ असारसम्म म्याद थप गरिएको छ ।

सुझावित समाचार