नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संयोजक पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । सहसंयोजक माधवकुमार नेपालसहित केन्द्रीय समितिका सदस्य, पूर्वघटकका केन्द्रीय आयोगका पदाधिकारी र संदस्य केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी र संदस्य, जनवर्गीय संगठनका केन्द्रीय पदाधिकारी, प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रमा बन्ने निर्वाचन परिचालन समितिका संयोजक र सहसंयोजक समितिमा रहनेछन् ।
निर्वाचन परिचालन सम्बन्धी दैनन्दिनका कार्य सम्पादन गर्नका निम्ति केन्द्रीय सचिवालय पनि गठन गरिएको जनाइएको छ । सचिवालयमा संयोजक प्रचण्ड र सहसंयोजक नेपालसहित नेताहरू अग्नि सापकोटा, देव गुरुङ, पम्फा भुसाल, प्रमेश हमाल, बेदुराम भुसाल, मुक्ति प्रधान, रञ्जिता श्रेष्ठ र राजेन्द्र श्रेष्ठ छन् । सचिवालयको सचिवको जिम्मा प्रमेश हमाल र कार्यालय सचिवको जिम्मा गोविन्द आचार्यलाई दिइएको छ । सचिवालयले उम्मेदवारहरूको प्रचार–प्रसारको अनुगमनका साथै आवश्यक निर्देशन दिने नेता सापकोटाले बताए ।
नेकपाले चुनावी मूल नारा ‘सुशासन र रोजगारी समाजवादको तयारी ! राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी !’ तय गरेको छ । ‘विगतमा अनेक प्रकारका क्रान्तिकारी संघर्ष सञ्चालन गरी मुलुकमा ठुल्ठुला राजनीतिक परिवर्तन गरेका थियौँ । तर, राजनीतिक परिवर्तन भएअनुरूपको आर्थिक सामाजिक रूपान्तरण हुन नसक्दा व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिएन भन्ने भाष्य निर्माण भयो र प्रतिक्रियावादी तŒवले यही भाष्यका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध गतिविधि गर्ने धृष्टता गरे र गर्दै छन् । विगतमा मुलुकको क्रान्तिकारी परिवर्तनको प्रक्रियामा नेतृत्वदायी भूमिका निर्वाह गरेको हाम्रो पार्टी अहिले समाजमा विद्यमान समस्याको समाधान गर्दै मुलुकलाई समाजवादको दिशामा अगाडि बढाउने स्पष्ट दृष्टिकोण र कार्यदिशा अँगालेको पार्टी हो ।’ संयोजक प्रचण्ड र सहसंयोजक नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा उल्लेख छ ।
त्यस्तै, निर्वाचनमा प्रचार–प्रसारका लागि अग्नि सापकोटाको नेतृत्वमा जगन्नाथ खतिवडा र गोविन्द आचार्य रहेको केन्द्रीय प्रचार समिति गठन गरिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको बैठकले निर्वाचन परिचालनको अनुगमनका लागि प्रदेशगत जिम्मेवारीसमेत तोकिएको छ । कोशीमा बेदुराम भुसाल, मधेशमा अग्नि सापकोटा, बागमतीमा राजेन्द्र श्रेष्ठ, गण्डकीमा देव गुरुङ, लुम्बिनीमा पम्फा भुसाल, कर्णालीमा प्रमेश हमाल र सुदूरपश्चिममा रञ्जिता श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।