राष्ट्रपति आइतबार जापान भ्रमणमा जाँदै

शनिबार, १८ माघ, २०८२
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेल आइतबार जापान भ्रमणमा जाने भएका छन् । जापान सरकारको निमन्त्रणामा उनी आइतबारदेखि बुधबारसम्म जापानको औपचारिक भ्रमणमा रहनेछन् ।

परराष्ट्रसचिव अमृतबहादुर राईले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जनाएअनुसार राष्ट्रपति पौडेलले जापानी साम्राट् नारुहितोसँग २० माघमा इम्पेरियल प्यालेसमा राजकीय भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेलसँग सोही दिन प्रानमन्त्री ताकाइची सानाईले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

राष्ट्रपति पौडेल सोमबार जापान सरकारद्वारा दुई देशको कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्षगाँठका अवसरमा आयोजना हुने समारोहमा सहभागी हुनेछन् । जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओले आयोजना गरेको विशेष स्वागत समारोहमा राष्ट्रपति पौडेल सहभागी हुँदै छन् । राज्यमन्त्री होरीले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । 

‘भ्रमणका क्रममा राष्ट्रपति जापानी व्यावसायिक समुदायसँगको बैठकमा सहभागी हुनुहुनेछ,’ परराष्ट्रसचिव राईले भने, ‘नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा पनि राष्ट्रपतिको सहभागिता हुनेछ ।’ राष्ट्रपति पौडेलको भ्रमणमा कुनै दुईपक्षीय सन्धि, सम्झौता वा सहमतिले औपचारिक रूप नपाउने परराष्ट्रसचिव राईले बताए । ‘यो भ्रमणले दुई देशबिचको सम्बन्ध थप सुदृढ हुनेछ र सम्बन्धमा नयाँ आयाम थपिनेछ ।’ नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्दै छ । दुई देशबिच सन् १९५६ सेप्टेम्बर १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

सुझावित समाचार