‘रिङआउट’ हुँदै गरेको कांग्रेसमा आशाको सञ्चार

कांग्रेसले नयाँ नेतृत्वसँगै एकढिक्का भई गठबन्धनको बैसाखीमा होइन, आफ्नै विचार, संगठन र जनआधारमा चुनाव जित्ने आत्मविश्वास देखाउन सक्नुपर्छ

सोमबार, ५ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको सबैभन्दा पुरानो, निर्णायक र ऐतिहासिक राजनीतिक दल हो । बिपी कोइरालाको नेतृत्वमा २००७ सालको राणा शासनविरुद्धको सशस्त्र आन्दोलनदेखि पञ्चायतविरोधी संघर्ष, २०३७ को जनमतसंग्रह, २०४६ को जनआन्दोलन, ०६२/६३ को ऐतिहासिक परिवर्तन हुँदै गणतन्त्र स्थापनासम्म कांग्रेस लोकतन्त्रको मुख्य संवाहकका रूपमा स्थापित रहँदै आयो ।

निर्वासन, दमन, जेलनेल, सर्वस्वहरण, हत्या, बेपत्ता र गम्भीर संगठनात्मक संकटबिच पनि पार्टी टिकिरहनुको आधार यसको वैचारिक प्रतिबद्धता, लोकतान्त्रिक मूल्य र आन्दोलनबाट आर्जित नैतिक पुँजी नै थियो । तर, आज यही कांग्रेस पहिलोपटक इतिहासले दिएको अवसरबाट चिप्लिँदै राजनीतिक केन्द्रबाट बाहिरिएर ‘रिङआउट’ हुने अवस्थामा पुगिसकेको थियो । 

देशका प्रमुख आन्दोलन र परिवर्तनहरूको माउ पार्टी आज इतिहासकै सबैभन्दा कमजोर अवस्थामा आइपुगेको छ । यतिवेला कांग्रेस न नेतृत्वदायी भूमिकामा छ, न त प्रभावकारी सहायक भूमिकामै । ०८२ भदौ २३–२४ पछिको अवस्था केवल एउटा निर्वाचन परिणाम मात्र होइन, यो दीर्घकालीन संरचनागत, वैचारिक र नेतृत्वगत असफलताको प्रत्यक्ष उपज हो । यही अवस्थाले केही गम्भीर प्रश्न उठाएको छ, इतिहासले निर्माण गरेको कांग्रेस आज किन असान्दर्भिक बन्दै गयो ? यसको पुनरुत्थान सम्भव छ ? र फेरिएको नेतृत्वले पार्टीलाई पुनः ऐतिहासिक भूमिकामा फर्काउन सक्छ कि सक्दैन ?

 इतिहास : शक्ति कि बोझ :  कांग्रेसको इतिहास संघर्ष, त्याग र निर्णायक नेतृत्वले भरिएको छ । २०१७ पछिका तीन दशक पञ्चायती निरंकुशताविरुद्धको अविराम संघर्ष, २०४६ को संयुक्त जनआन्दोलनमा गणेशमान सिंहको ऐतिहासिक नेतृत्व, २०४७ मा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार गठन, संविधान जारी र २०४८ को संसदीय निर्वाचन सम्पन्न हुनु कांग्रेस नेतृत्वका प्रमुख उपलब्धि हुन् । त्यसपछि २०५२ पछिको माओवादी सशस्त्र द्वन्द्वको जटिल कालखण्डदेखि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा १२ बुँदे समझदारी, ०६२/६३ को जनआन्दोलन, अन्तरिम सरकार, अन्तरिम संविधान र संविधानसभा निर्वाचन हुँदै सुशील कोइरालाको नेतृत्वमा २०७२ मा गणतान्त्रिक संविधान जारी भई शान्ति प्रक्रिया सम्पन्न हुनु पनि कांग्रेसकै कारण सम्भव भयो । शाहवंशीय शासनको अन्त्य नेपाली राजनीतिका युगान्तकारी उपलब्धि हुन्, जसको केन्द्रमा रह्यो कांग्रेस । संकट र संक्रमणका प्रत्येक मोडमा देशको राजनीतिक मूलधारमा कांग्रेस नै अग्रपंक्तिमा थियो ।तर, विगतका उपलब्धिलाई वर्तमान असफलताको औचित्य साबित गर्ने प्रवृत्तिले पार्टीलाई आत्मालोचनाबाट विमुख बनायो । इतिहास स्मरण वैचारिक पुँजी हो, तर त्यसैमा अड्किनु राजनीतिक जडता हो ।

गगन र विश्वबाट देशले ‘नयाँ अनुहार’ मात्र होइन, नयाँ राजनीतिक संस्कार खोजेको छ । उनीहरू सफल भए कांग्रेस सुध्रिन्छ; कांग्रेस सुध्रिए लोकतन्त्र बलियो हुन्छ ।
 

 वैचारिक विचलन र नीतिगत अस्पष्टता :  कांग्रेसको घोषित विचार ‘लोकतान्त्रिक समाजवाद’ हो । तर, व्यवहारमा न स्पष्ट समाजवादी नीति देखियो, न सुदृढ उदार लोकतान्त्रिक अभ्यास । आर्थिक उदारीकरण, निजीकरण, सामाजिक न्याय, समावेशिता र राज्यको भूमिकाबारे कांग्रेसको दृष्टि अस्पष्ट रहँदा घोषणापत्र र शासन अभ्यासबिच गहिरो अन्तर देखियो, जसले पार्टीलाई वैचारिक रूपमा रिक्त बनायो । विचारभन्दा सत्ता, गणित र कार्यक्रमभन्दा गठबन्धन हाबी हुँदै जाँदा कांग्रेसको राजनीतिक आत्मा क्रमशः कमजोर बन्दै गयो । अवसर वितरणमा नातावाद, कृपावाद र चाकरी हाबी हुँदा कसैलाई अवसरको थुप्रो र कसैलाई निरन्तर अपमान र तिरस्कारको अवस्था सिर्जना भयो, जसले खाँटी नेता कार्यकर्तालाई उदासीन बनायो ।

 संगठनात्मक जडता र नेतृत्व संकट :  कांग्रेसभित्र दीर्घकालीन गुटबन्दी संस्थागत भएको छ । आन्तरिक लोकतन्त्र औपचारिकतामा सीमित रह्यो । नेतृत्व चयन वैचारिक प्रतिस्पर्धाभन्दा शक्ति सन्तुलन र सम्झौतामा आधारित बन्यो । पुस्तान्तरण दसकौँदेखि स्थगित थियो । नयाँ पुस्ता निराश हुँदै गयो, पुराना नेताहरू सत्ता र प्रभाव छोड्न तयार भएनन् । यसले संगठनलाई गतिहीन बनायो र युवापुस्तालाई कांग्रेसबाट टाढा धकेल्यो ।

 सामाजिक रूपान्तरणसँगको विच्छेद : नेपाली समाज पछिल्ला दुई दशकमा तीव्र रूपमा रूपान्तरित भएको छ । दलित, महिला, आदिवासी–जनजाति, मधेशी, युवा र सीमान्तकृत समुदायको राजनीतिक चेतना उल्लेख्य रूपमा बढेको छ । कांग्रेसले यी परिवर्तनलाई संरचनागत रूपमा आत्मसात् गर्न सकेन । समावेशिताको समेत खिल्ली उडाइयो, चरम दुरुपयोग गरियो । समावेशिता देखावटी प्रतिनिधित्वमा सीमित रह्यो, नीति–निर्माण र निर्णय प्रक्रियामा रूपान्तरण हुन सकेन । यही कारण कांग्रेस र सीमान्तकृत समुदायबिच दूरी बढ्दै गयो र वैकल्पिक राजनीतिक शक्तिहरूले ठाउँ पाए ।

 सत्ताकेन्द्रित राजनीति र नैतिक संकट :  आन्दोलनबाट आर्जित नैतिक पुँजीलाई कांग्रेसले दीर्घकालीन संस्थागत सुधारमा रूपान्तरण गर्न सकेन । शिक्षा, स्वास्थ्य, न्याय र प्रशासन सुधारमा ऐतिहासिक नेतृत्व गर्न सक्ने अवसर, सत्ता साझेदारी र अल्पकालीन राजनीतिक गणितमा साटिँदै गए । सैद्धान्तिक विपक्षको भूमिका निर्वाह गर्नुपर्ने समयमा सत्ता–सम्झौताले प्राथमिकता पायो । जोसुकैसँग र जस्तोसुकै गठबन्धन गरेर पनि सत्ताबाहिर बस्न नसक्ने प्रवृत्तिले पार्टीको नैतिक बल क्षीण बनायो ।

 जनतासँग संवादको अभाव :  कांग्रेस सडक, गाउँ, युवा र डिजिटल बहसमा कमजोर छ । सामाजिक सञ्जाल र वैकल्पिक मिडियामा कांग्रेसको आवाज प्रभावकारी छैन । जनताको दुःख, आक्रोश र अपेक्षालाई सुन्ने र सम्बोधन गर्ने राजनीतिक माध्यमका रूपमा कांग्रेसको भूमिका खुम्चिँदै गएको छ ।

पराजयभन्दा ठुलो चेतावनी : भदौ २४ पछि कांग्रेस ऐतिहासिक भूमिकाबाट राजनीतिक रूपमा पहिलोचोटि ‘रिङआउट’ भयो । पुरानै संरचनामा अड्किरहनु, नयाँ राजनीतिक यथार्थसँग मेल नखानु, स्पष्ट सन्देश दिन नसक्नु र गुटबन्दीमा अल्झिनु यी सबैको संयुक्त परिणाम हो यो अवस्था । यो केवल पराजय होइन, गम्भीर चेतावनी हो । तर, कांग्रेस नेतृत्वले यसलाई गहिराइमा बुझ्ने प्रयासभन्दा विशेष र नियमित महाधिवेशनको बहानामा दुई ध्रुवमा विभाजित हुने बाटो रोजेर गलत अभ्यास गर्यो । यद्यपि, पछिल्लो विशेष महाधिवेशनबाट एउटा निकास निस्किएको छ । लोकप्रिय युवाहरू गगन र विश्वको जोडीसँग अरू थुप्रै नयाँ र ऊर्जाशील अनुहार कांग्रेसको नेतृत्वको पंक्तिमा देखिएका छन् । यी युवाहरूको असली परीक्षाको घडी अब सुरु भएको छ ।

 पुनरागमनको सम्भावना :  नेपाली कांग्रेस समाप्त भइसकेको दल होइन । यसको विशाल संगठन, लाखौँ कार्यकर्ता, ऐतिहासिक छवि र लोकतान्त्रिक वैधता अझै बाँकी छन् । आठ लाखभन्दा बढी क्रियाशील सदस्य, लाखौँ समर्थक, ४० प्रतिशत महिलासहित समावेशी प्रतिनिधित्व, १३ भ्रातृ र २६ शुभेच्छुक संस्था तथा देश–विदेशमा फैलिएका ३७ जनसम्पर्क समिति कांग्रेसका वास्तविक शक्ति हुन् । पुनरागमन इतिहासको गौरव दोहोर्याएर होइन, गहिरो आत्मालोचना र पुनर्संरचनाबाट मात्र सम्भव छ । त्यसका लागि वैचारिक स्पष्टताको पुनस्र्थापना, आन्तरिक लोकतन्त्रको संस्थागत अभ्यास, साहसी पुस्तान्तरण र नेतृत्व बहिर्गमन, दलित, महिला, युवा र सीमान्तकृत समुदायसँग वास्तविक संवाद र नीतिगत प्रतिबद्धता, साझेदारी, सत्ता होइन, संस्थागत सुधारलाई प्राथमिकताजस्ता विषय कांग्रेस सुधारका आधारभूत र अनिवार्य सर्त हुन् ।

 विधि, प्रतिस्पर्धा र योग्यता :  कांग्रेस अब गुट, नाता र पहुँचको होइन, विधि, प्रतिस्पर्धा र योग्यताको पार्टी बन्नुपर्छ भन्ने अपेक्षा छ । पार्टी एकीकृत बनाउने र टिकट वितरणदेखि निर्णय प्रक्रियासम्म पारदर्शिता र संस्थागत अभ्यास स्थापित गर्नु गगन–विश्व नेतृत्वको पहिलो परीक्षा हो ।

 ‘पुरानो लेयर’को संस्कारमा स्पष्ट ब्रेक : सत्तालाई नै लक्ष्य बनाउने, सत्ता बचाउन जे पनि गर्ने पुरानो राजनीतिक संस्कारबाट कांग्रेसलाई बाहिर निकाल्ने साहसिक कदमको अपेक्षा छ । यसले व्यक्तिको अवसान होइन, खराब राजनीतिक प्रवृत्तिको अन्त्यलाई जनाउनुपर्छ ।

 वैचारिक स्पष्टता र आत्मनिर्भर राजनीति :  गठबन्धनको बैसाखीमा होइन, आफ्नै विचार, संगठन र जनआधारमा चुनाव जित्ने आत्मविश्वास कांग्रेसले देखाओस् भन्ने चाहना छ । नवीन नेतृत्वबाट कांग्रेस के हो र के होइन भन्ने स्पष्ट र समकालीन वैचारिक धार निर्माण गरिने अपेक्षा गरिएको छ ।

 सुशासन र नैतिकताको विश्वसनीय अनुहार :  देशले कांग्रेसलाई फेरि सुशासन, नैतिकता र जवाफदेही भरोसायोग्य शक्तिका रूपमा हेर्न चाहेको छ । भ्रष्टाचारप्रति शून्य सहनशीलता केवल भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ ।

 युवालाई प्रतिनिधित्व गर्ने नेतृत्व, तर सबै पुस्तालाई समेट्ने दृष्टि :  गगन–विश्व पुस्तागत आशाका प्रतीक हुन्, तर उनीहरूबाट अपेक्षा पुस्तागत टकराव होइन, पुस्तागत समन्वयको पनि हो । युवा ऊर्जासँगै अनुभवी योगदानलाई संस्थागत रूपमा उपयोग गर्ने क्षमता नै नेतृत्वको परिपक्वता हुनेछ ।

 देशको संकटबारे साहसी एजेन्डा : नवनिर्वाचित नेतृत्वले प्रतिक्रियात्मक होइन, समाधानमुखी र साहसी एजेन्डा ल्याओस् भन्ने अपेक्षा छ । गगन र विश्वबाट देशले ‘नयाँ अनुहार’ मात्र होइन, नयाँ राजनीतिक संस्कार खोजेको छ । उनीहरू सफल भए कांग्रेस सुध्रिन्छ, कांग्रेस सुध्रिए लोकतन्त्र बलियो हुन्छ । यही अपेक्षा आज कांग्रेसभन्दा ठुलो छ, यो देशको अपेक्षा हो ।

 निष्कर्ष : कांग्रेसले भोगिरहेको वर्तमान अवस्था कुनै आकस्मिक पराजय वा बाह्य षड्यन्त्रको परिणाम होइन, यो दीर्घकालीन वैचारिक अस्पष्टता, संगठनात्मक जडता, सत्ताकेन्द्रित राजनीति र नेतृत्वगत असफलताको स्वाभाविक निष्कर्ष हो । इतिहासले कांग्रेसलाई पटक–पटक देशको केन्द्रीय शक्तिमा उभ्याए पनि आत्मालोचना टारिँदा पार्टी पहिलोपटक राजनीतिक रूपमा ‘रिङआउट’ हुने अवस्थामा पुगेको हो ।

तर यो अन्त्य होइन, निर्णायक मोड हो । कांग्रेससँग अझै विशाल संगठन, ऐतिहासिक वैधता र लोकतान्त्रिक उत्तराधिकार बाँकी छन् । पुनरागमन इतिहासको गौरव दोहोर्याएर होइन, गहिरो आत्मसमीक्षा, साहसी पुनर्संरचना र स्पष्ट वैचारिक पुनस्र्थापनाबाट मात्र सम्भव छ । विधि, प्रतिस्पर्धा र योग्यतामा आधारित संगठन निर्माण, सत्ताकेन्द्रित पुरानो संस्कारसँग स्पष्ट विच्छेद, दलित–महिला–युवा–सीमान्तकृत समुदायसँग वास्तविक साझेदारी तथा सुशासन र नैतिकताको विश्वसनीय अभ्यास नै कांग्रेस पुनर्जीवनका आधार हुन् ।

गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा देखिएको नयाँ आशा अवसर पनि हो र परीक्षा पनि । उनीहरू सफल भए कांग्रेस सुध्रिन्छ र कांग्रेस सुध्रिए नेपाली लोकतन्त्र बलियो हुन्छ, असफल भए ‘रिङआउट’ अस्थायी नभई स्थायी अवस्थामै रूपान्तरण हुन सक्छ । त्यसैले आजको मूल प्रश्न कांग्रेस बाँच्ने–नबाँच्ने होइन, इतिहासको छायामा अल्झिरहने कि समयसँग संवाद गर्दै फेरि देशको लोकतान्त्रिक केन्द्रमा फर्किने भन्ने हो । एकीकृत कांग्रेसले सिद्धान्त रोज्न, साहस गर्न र समयसँग संवाद गर्नसके पुनरागमन मात्र होइन, नेपाली लोकतन्त्रको पुनर्जीवन पनि सम्भव छ ।

सुझावित समाचार