सिराहामा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

शनिबार, ४ माघ, २०८२
डिजिटल संस्करण

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिराहामा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जिल्ला सदरमुकामस्थित सिराहा नगरपालिकाको पुरानो भवनमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। कार्यालय स्थापनापछि ६ माघका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको तयारीसहित निर्वाचनसम्बन्धी काम सुचारु भएको जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवले जानकारी दिए।

चार क्षेत्रमा साढे चार लाखभन्दा बढी मतदाता
जिल्लाका चारवटा संघीय निर्वाचन क्षेत्रअन्तर्गत पर्ने स्थानीय तहहरूमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि चार लाख ५३ हजार ६४५ मतदाता र ५३१ मतदान केन्द्र कायम गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सिराहाले जनाएको छ। 

आयोगले अद्यावधिक गरेको पछिल्लो रेकर्डअनुसार १३० मतदान केन्द्र रहेको निर्वाचन क्षेत्र नं. १ मा ५८ हजार ८५५ पुरुष र ५३ हजार ९४ महिला गरी एक लाख ११ हजार ९४९ मतदाता छन्। त्यस्तै, १३६ मतदान केन्द्र रहेको निर्वाचन क्षेत्र नं. २ मा ६२ हजार ६५२ पुरुष, ५३ हजार १०६ महिला र दुई अन्य गरी एक लाख १५ हजार ७६० मतदाता रहेको आयोगको तथ्यांकमा उल्लेख छ। 

निर्वाचन क्षेत्र नं. ३ मा ६३ हजार ३९१ पुरुष र ५५ हजार ८५९ महिला गरी एक लाख १९ हजार २५० मतदाता र १३६ मतदान केन्द्र कायम गरिएको छ भने ४ नं. क्षेत्रमा ५६ हजार ७१७ पुरुष, ४९ हजार ९६९ महिलासहित एक लाख ६ हजार ६८६ मतदाता र १२९ मतदान केन्द्र कायम गरिएको छ। 

सुझावित समाचार