२५ औँ सशस्त्र प्रहरी स्थापना दिवसको अवसर पारेर सशस्त्र प्रहरी बल नेपाल नं. ७ गुल्म, हलेँसी खोटाङले जिल्लाका ३५ जना जेष्ठ नागरिकलाई न्यानो टोपी वितरण गर्दै सम्मान गरेको छ । जाडो मौसमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल हलेसी गुल्म खोटाङले ७० वर्षमाथिका ३५ जना जेष्ठ नागरिकलाई जाडोमा प्रयोग हुने न्यानो टोपी प्रदान गर्दै सम्मान गरेको हो ।
समाजमा जेष्ठ नागरिकप्रति सम्मान, सहकार्य र सुरक्षाको भावना अभिवृद्धि गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गुल्म, हलेसीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र न्यौपानेले जानकारी दिए । जेष्ठ नागरिकहरु समाजका मार्गदर्शक तथा अनुभवी व्यक्तित्व भएकाले उनीहरूको स्वास्थ्य, सुरक्षा र सम्मानप्रति सशस्त्र प्रहरी बल सदैव संवेदनशील र प्रतिबद्ध रहेको गुल्मपति प्रनाउ न्यौपानेले बताए ।
जेष्ठ नागरिक संघ खोटाङका अध्यक्ष धनपति आचार्यले सशस्त्र प्रहरी बलले गरेको यस किसिमको मानवीय तथा सामाजिक उत्तरदायित्वपूर्ण कार्यको प्रशंसा गरेका छन् । दिक्तेलस्थित जेष्ठ नागरिक सङ्घ खोटाङको कार्यालय परिसरमा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष आचार्यले सशस्त्र प्रहरीले आयोजना गरेको सम्मान कार्यक्रमले सुरक्षा निकाय र समुदायबीचको सम्बन्ध अझ मजबुत बनाउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।
सशस्त्र प्रहरी बल हलेसी गुल्मले आफ्नो २५ औँ स्थापना दिवसको अवसर पारेर गत पुस–१६ गते जिल्ला अस्पताल खोटाङमा उपचाररत बिरामीलाई फलफूल वितरण गर्नुका साथै पर्यटकीयस्थल मझुवागढीमा फलामे फलैंचा निर्माण गरिदिएको छ। महिना दिनसम्मा मनाइने स्थापना दिवसको अवसरमा अन्य विविध कार्यक्रमहरू आयोजना गर्नेक्रम जारी रहेको सशस्त्र प्रहरी बल हलेसी गुल्मले जनाएको छ।
सशस्त्र प्रहरी बल हलेसी गुल्म खोटाङका लागि स्थानीयले निःशुल्क उपलब्ध गराएको करिब ७४ रोपनी क्षेत्रफल जमिनमा आफ्नै भवन निर्माण गरेर जिल्लामा सेवा प्रदान गरिरहेको छ। हलेसी गुल्म खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित मझुवागढीमा वि.सं. २०६६ सालमा स्थापना भएको हो।