कञ्चनपुरको वेदकोट नगरपालिका– ८ का स्थानीयले ६० वर्षपछि जग्गाधनी पुर्जा पाएका छन् । दुई वर्षअघि ७० र अहिले ६१ स्थानीयले आफ्नो जग्गाको लालपुर्जा पाएको वेदकोट नगरपालिका– ८ कार्यालयले जनाएको छ ।
जमिन उपभोग गरेको वषौँपछि वेदकोट– ८ का १३१ स्थानीयले जमिनको स्वामित्व पाएका हुन् । वेदकोट नगरपालिका– ६ का ३१ स्थानीयले पनि लालपुर्जा पाएका छन् । ०२२ यता पहाडसहित अन्यन्त्र जिल्लाबाट साबिक सुडा पञ्चायत, गाविस हुँदै हाल वेदकोट नगरपालिका– ८ मा धेरै मानिस बसाइँ सरी आएका थिए ।
वेदकोट नगरपालिका– ८ का वडाध्यक्ष महेशराज जोशीले लामो समयको प्रतीक्षापछि १३१ स्थानीयलाई लालपुर्जा वितरण गरिएको बताए । वडाबाट २१३ किसानलाई लालपुर्जा वितरणका लागि सिफारिस गरे पनि जिल्ला भूमि आयोगले पहिलो चरणमा ७० र अहिले ६१ किसानलाई मात्रै लालपुर्जा वितरण गरेको उनले बताए ।