लामो समयदेखि कांग्रेस सभापति शेरबहादुर देउवाकाे समर्थक र सहयोगी बन्दै आएका पार्टी पूर्वउपसभापति गोपालमान श्रेष्ठले विशेष महाधिवेशनमा समर्थन जनाएका छन् ।
आइतबार विशेष महाधिवेशनमा सहभागी हुने घोषणा पनि गरेका छन् । उनी देउवालाई विगतदेखि साथ दिँदै आएका सात शक्तिशाली नेतामध्ये एक हुन् । शनिबार महामन्त्री थापाले उनीसँग निवासमै गएर एक घण्टा ४५ मिनेट छलफल गरेका थिए । अर्का महामन्त्री शर्माले पनि टेलिफोन गरेका थिए ।
‘कार्यवाहक दिएर सक्रिय राजनीतिबाट अलग भएका देउवाले सिंगापुरबाट फर्केर आएपछि फेरि अधिकार हातमा लिएर मनपरी गरेको मलाई मन परेन । उहाँले हामीजस्ता साथीहरूलाई तिरस्कार गर्नुभयो । अब नयाँ पुस्तालाई सहयोग गर्छु भन्ने लाग्यो र गगन–विश्वलाई सघाउने भएँ,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘म उहाँहरूलाई अभिभावकत्व प्रदान गर्छु । उहाँहरूले मसँग रहेका साथीलाई संरक्षण गर्छु र यथोचित सम्मान दिन्छु भन्नुभएको छ ।’ श्रेष्ठ पार्टीको १४औँ महाधिवेशनमा सभापतिको दाबेदार थिए । त्यसवेला देउवाले आफूलाई सहयोग गर्न बिन्ती गरेको र १५औँ महाधिवेशनमा सहयोग गर्ने वचन दिएको श्रेष्ठले सुनाए । ‘अहिले नेतृत्व एकलौटी र तानाशाही भयो । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको पनि बेवास्ता भयो, यसमा म दु:खी छु,’ उनले भने ।