एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर २१ फागुनमा निर्वाचन हुने/नहुनेबारे जिज्ञासा राखेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार तीन घण्टा भएको भेटवार्तामा ओलीले निर्वाचनको ग्यारेन्टीबारे चासो राखेका हुन् ।‘२१ फागुनमा निर्वाचन हुन्छ कि हुँदैन, आवश्यक स्रोत–साधन परिचालन भएको छ कि छैन, निर्वाचनको वातावरण बनाउन सरकारले के गरिरहेको छ भनेर ओलीले प्रधानमन्त्रीसँग चासो राख्नुभयो,’ बालुवाटार स्रोतले भन्यो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले पनि भेटमा २१ फागुनको निर्वाचनबारे छलफल भएको बताए । ‘प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबिच २१ फागुनको प्रतिनिधिसभा निर्वाचनबारे छलफल भयो,’ उनले भने, ‘ओलीले प्रधानमन्त्रीका पति दुर्गा सुवेदीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर स्वास्थ्यलाभको कामना पनि गर्नुभयो ।’
ओलीले निर्वाचनबारे जिज्ञासा राखेपछि प्रधानमन्त्रीले समयमै शान्तिपूर्ण रूपमा निर्वाचन हुने भन्दै आश्वस्त पारेकी थिइन् । ‘समयमै हुन्छ । फागुन २१ मै हुन्छ । सुरक्षादेखि लिएर कुनै कुराको कसर बाँकी राखिएको छैन । मतपत्र छपाइ सुरु भइसक्यो । निर्वाचन प्रहरी भर्ना हुँदै छ । अगाडि बढ्नेबाहेक अरू बाटो छैन,’ कार्कीले भनेकी थिइन्, ‘चुनावमा लागौँ, चुनाव सम्पन्न गरौँ । देशलाई सहज ढंगले निकास दिएर सजिलो अवस्थामा पुर्याऊँ ।’ चुनावका लागि एमालेले उत्साहजनक र सहयोगी भूमिका देखाएको भन्दै प्रशंसा पनि गरेकी थिइन् ।
प्रधानमन्त्रीलाई भेट्न ओली बिहान ११ बजे बालुवाटार पुगेका थिए । समयमै निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनुपर्ने र गर्ने भन्ने साझा निष्कर्ष छलफलमा निस्किएको रावलले बताए ।