सुधारिँदै कालीकोटका सामुदायिक विद्यालय

बिहिबार, २४ पुष, २०८२
डिजिटल संस्करण

कालीकोटका सामुदायिक विद्यालय सुधार हुँदै गएका छन्। व्यवस्थापन फेरिएसँगै जिल्लाका सामुदायिक विद्यालयकाे गुणस्तरमा सुधार हुन थालेकाे हाे।

प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति र समुदायबिचको राम्रो अन्तरसम्बन्धका कारण कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकामा रहेको पञ्चदेवल माध्यमिक विद्यालयले पछिल्लो समय व्यवस्थापन र गुणस्तर दुवैमा उल्लेख्य सुधार गर्दै आएको छ। जसको परिणाम अभिभावकमा सामुदायिक  विद्यालयप्रतिको सोच बदलिएको छ।

आफ्ना छोराछोरी सामुदायिक  विद्यालयमा पढाउन अभिभावक खुसी छन्। पञ्चदेवल मावि नियमित खेलकुद र अतिरिक्त क्रियाकलापसँगै  विद्यार्थीमैत्री गतिविधि कसरी बनाउने भन्ने विषयमा अभिभावकसँग छलफलमा समेत जुट्ने गरेको छ। विद्यालयले विद्यार्थीको नियमित अनुगमन गर्छन्। विद्यार्थीको पढाइ, सरसफाइलगायत अतिरिक्त क्रियाकलापको समेत जानकारी गराउने कार्य भइरहेको प्रधानाध्यापक हिरामणि सिंखडाले बताए। ‘विद्यालयलाई समयानुकूल बनाउन, विद्याललय सुधार योजना, शैक्षिक योजना, लगबुक, नमुना कक्षाकोठा व्यवास्थापन तयार गरिएको  छ,’ प्रअ सिंखडाले भने।

दुर्गम बस्तीमा रहेको यो विद्यालयमा शैक्षिकस्तर बढाउनका लागि भरपूर मिहिनेत गर्न शिक्षकले प्रतिबद्धता जनाउँदै विशेष कार्ययोजनासमेत निर्माण गरी लागू गरिरहेका छन्। २०१६ सालमा स्थापना भएको विद्यालय बाल विकासदेखि कक्षा १२ सम्म सञ्चालनमा छ। विद्यालयमा प्राविधिक धार, विज्ञान प्रयोगशालासमेत नियमित सञ्चालन हुने गरेका छन्।

गैरसरकारी संस्थाको प्रयासमा पछिलो समय विद्यालयले स्मार्ट कक्षा सञ्चालन गर्न थालेपछि विद्यार्थीको आकर्षण थप बढ्दै गएको छ। कक्षा नाैदेखि १२ सम्म प्राविधिक धारको पढाइ सुरु भएको छ। ‘किताबबाट कक्षामा सरहरूले बुझाउँदा निकै समस्या पर्थ्यो,’ कक्षा नाैका छात्र रोशन संज्यालले  भने, ‘अहिले विज्ञान प्रयोगशालामा आफैँ प्रत्यक्ष हेरेरै अध्ययन गर्दा विषयबारे प्रस्ट हुन्छ। चाहेका विषयवस्तुबारे छलफल हुने गरेको छ।’

विद्यार्थीलाई शिक्षकले सजाय होइन सल्लाह, सुझाव र हौसला दिएर सिकाउँछन्। मध्यम र कमजोर विद्यार्थीलाई उपचारात्मक कक्षाको व्यवस्था छ। अंग्रेजी माध्यमबाट पनि पढाइ सञ्चालन गरिन्छ। विद्यालयको नेतृत्व (प्रधानाध्यापक) हिरामणीि सिंखडाको हातमा आएपछि विद्यालय निकै अब्बल बनेको छ। अहिले  ४५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

अहिले किर्डाक नेपाल कालीकोट र प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालित सशक्त बालिका परियोजनाअन्तर्गत विद्यालयमा महिनावारी आराम कक्षा, हरित विद्यालय प्रवर्द्धन कार्यक्रम, विज्ञान प्रयोगशाला, अतिरिक्त क्रियाकलाप, बृहत्तर यौनिकता शिक्षा लागू गरेको किर्डाक नेपाल कालीकोटका अनुगमन तथा मूल्यांकन अधिकृत प्रेम चौलागाईंले बताए। विद्यालयमा ५६ जना प्राविधिक धारको कम्प्युटर इन्जिनियर पढिरहेका छन्। विद्यालयमा अहिले भवनको अभाव रहेको विद्यालयले जनाएको छ।

सुझावित समाचार