विवादबिच पुस २७ र २८ गते काठमाडौंमा नेपाली कांग्रेसको विशेष महाधिवेशन आह्वान भएको छ। विशेष महाधिवेशन सञ्चार तथा प्रचारप्रसार समितिले बुधबार पत्रकार सम्मेलन गर्दै विशेष महाधिवेशन आह्वान गरेको हो।
तोकिएको समयमा नियमित महाधिवेशन हुन नसकेकाले विशेष महाधिवेशन स्वतः निर्विकल्प विकल्प बनेको उक्त पक्षको तर्क छ।
‘पार्टीले २०८२ पुस २८ भित्र १५औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। तर, तोकिएको समयमा १५औँ महाधिवेशन सम्पन्न हुन सकेन। यस्तो अवस्थामा हाम्रो मागबमोजिमको विशेष महाधिवेशन स्वतः निर्विकल्प विकल्प बनेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ।
केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यले विशेष कारण खुलाई लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनैपर्ने विधानको बाध्यकारी व्यवस्था विशेष महाधिवेशन पक्षधरले स्मरण गराएको छ।
पार्टी विधानले विधानसम्मत प्रक्रिया पूरा गरी माग भएको विशेष महाधिवेशन नहुने परिकल्पना नै नगरेको उक्त पक्षले प्रस्ट पारेको छ।