कोलम्बियामाथि पनि ट्रम्पको धम्की

सोमबार, २१ पुष, २०८२
डिजिटल संस्करण

भेनेजुएलामा हमला गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियामाथि समेत धम्की दिएका छन्। रोयटर्सलगायत सञ्चारमाध्यमले ट्रम्पले कोलम्बियामाथि पनि सैन्य कारबाहीको धम्की दिएको उल्लेख गरेका छन् । 

सो धम्कीपछि कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले देशको रक्षाका लागि आफूले हतियार उठाउने प्रतिक्रिया दिएका छन्। यद्यपि, ट्रम्पको आधिकारिक धारणा आएपछि यस विषयमा आफूले प्रतिक्रिया दिने उनको भनाइ छ। 

ट्रम्पले पेट्रो पनि अवैध शासक भएको र उनीमाथि लागुऔषध कारोबारको अभियोग लगाउँदै आएका छन्।  आइतबार सामाजिक सञ्जालमार्फत पेट्रोले यसअघि राष्ट्रपतिमा शपथ लिँदा हतियार नछुने कसम खाएको, तर मातृभूमिको रक्षाका लागि फेरि उठाउन सक्ने उल्लेख गरेका छन्। 

मदुरोलाई पक्राउ गरेपछि दक्षिण अमेरिकी देशहरूमा त्रास बढेको छ। मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबाउनले आइतबार पत्रकार सम्मेलन गरी लागुऔषध तस्करीविरुद्ध सहकार्य गर्न आफ्नो देश तयार रहेको र अमेरिकाले आफ्नो देशमाथि हस्तक्षेप गर्ने विश्वास नरहेको बताएकी छिन्। दक्षिण अमेरिकी देशहरूले संगठित रूपमा अमेरिकामा लागुऔषध तस्करी गर्दै आएकाे ट्रम्पको आरोप छ। सोही आरोपमा मदुरालाई उनको निवासबाटै पक्राउ गरी अमेरिका लगेर मुद्दा चलाउन लागिएको छ। 

उता मदुराे र उनकी श्रीमतीलाई अमेरिकाको ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसन (डिइए)ले न्युयोर्कको अदालतमा पेस गरेको छ । 
 

सुझावित समाचार