पाँच महिनामा १७.५६ प्रतिशतले घट्यो बिमा पोलिसी सरेन्डर

पाँच महिनामा ४५ हजार ६० वटा पोलिसी सरेन्डर, ३७ अर्बका १२ लाख २० हजार पोलिसी भने नवीकरण हुन बाँकी

आइतबार, २० पुष, २०८२
डिजिटल संस्करण

विगतका वर्षमा बढ्दो क्रममा रहेको जीवन बिमा पोलिसी सरेन्डर चालू आर्थिक वर्ष ०८२/८३ मा भने घटेको छ । चालू आर्थिक वर्ष ०८२/८३ पहिलो पाँच महिनामा १७.५६ प्रतिशतले बिमा सरेन्डर घटेको छ ।

गत आवभर एक लाख आठ हजार दुई सय ३८ पोलिसी सरेन्डर भएको थियो । गत आवको मंसिर मसान्तसम्म भने ४५ हजार ६० वटा पोलिसी सरेन्डर भएको बिमा प्राधिकरणको तथ्यांक छ । चालू आवको मंसिर मसान्तसम्म भने ३७ हजार एक सय ४९ वटा पोलिसी सरेन्डर भएको प्राधिकरणले जनाएको छ । 

रकमका आधारमा पोलिसी बिमा सरेन्डर ६.८० प्रतिशतले घटेको छ । गत आवमा १५ अर्ब १५ करोड २१ लाख रुपैयाँबराबरको बिमा सरेन्डर भएको थियो । गत आवको पहिलो पाँच महिनामा ६ अर्ब १० करोड ७२ लाख लाख रुपैयाँको बिमा पोलिसी सरेन्डर भएको थियो । चालू आवको पाँच महिनामा भने पाँच अर्ब ६९ करोड २१ लाख रुपैयाँको बिमा सरेन्डर भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

बिमितले पाँच वर्ष, १० वर्ष, १५ वर्षजस्ता निश्चित अवधि तोकेर बिमा गरेका हुन्छन् । त्यसका लागि वार्षिक रूपमा किस्ता तिर्नुपर्छ । यदि, सम्झौता अवधिभर बिमालाई निरन्तरता दिन नचाएमा बिमितले आवश्यक प्रक्रिया पूरा गरेर पोलिसी बन्द गर्न सक्नेछन् । बिमितले त्यही अवधिसम्म तिरेको बिमाशुल्क र आर्जित बोनस फिर्ता पनि पाउनेछन् । यद्यपि, त्यसमा केही शुल्क भने काटिनेछ । साथै, बिमा गरेको न्यूनतम तीन वर्ष पूरा भएको हुनुपर्ने सर्त पनि छ । 

पोलिसि सरेन्डर नियमित प्रक्रिया पनि हो । विगतमा आर्थिक शिथिलताका कारण बिमालेख सरेन्डर बढ्दै आएको थियो । तर, अहिले बिमा सरेन्डर घट्न थालेको तथ्यांकले पुष्टि गरेको छ । 

सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बिमा सरेन्डर घट्न थालेको बताए । ‘विगतमा आर्थिक शिथिलताका कारण बिमा सरेन्डर बढेको थियो । बिमितको आम्दानी प्रभावित आर्थिक आवश्यकता पूर्ति गर्नका लागि पनि बिमा सरेन्डर गर्ने गरेका थिए,’ उनले भने, ‘बिमितको आर्थिक आवश्यकता कम छ । विगतको जस्तो क्राइसेस पनि छैन । ब्याजदर सस्तो भएका कारण ऋण लिएर पनि आर्थिक आवश्यकता पूरा गर्न सक्ने देखिएको छ । बिमितको आम्दानी पनि बढ्दै गएको छ । बिमितहरूले सहज रूपमा वित्तीय योजनाहरू बनाउन पाएका छन् । फलस्वरूप बिमा सरेन्डर घटेको छ ।’

समीक्षा अवधिमा जीवन बिमा कम्पनीहरूले ७८ अर्ब ७७ करोड ५८ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् । त्यसको ७.२२ प्रतिशतको अनुपात रकममा पोलिसी सरेन्डर भएको छ । 

कतिपय अभिकर्ता तथा बिमितले रणनीतिक रूपमा पोलिसी सरेन्डर गर्ने गरेको पनि कम्पनीहरू बताउछँन् । कतिपय अभिकर्ताले कम्पनी परिवर्तन गर्दा आफ्नो नजिकका बिमितलाई पनि सँगै लिएर जाने गरेका छन् । यसैगरी, कमिसनका लागि पनि पोलिसी बन्द गराएर पुन: बिमा गराउने प्रवृत्ति पनि कायम छै । २०–२५ वर्षको अवधि राखेर बिमा गरिन्छ । तर, अभिकर्तालाई १० वर्ष मात्र कमिसन दिने नीति छ । त्यसमा सुरुका वर्ष धेरै कमिसन पाइन्छ । त्यो अवस्थामा अभिकर्ताले पोलिसी सरेन्डर गराएर पुन: बिमा गर्ने प्रवृत्ति पनि छ । त्यसका बाबजुद पोलिसी सरेन्डर घट्नु सकारात्मक रहेको कम्पनीहरू बताउँछन् । 

नवीकरण भएनन् ३७ अर्बका १२ लाख २० हजार पोलिसी 
प्राधिकरणको तथ्यांकअनुसार १२ लाख २० हजार चार सय १५ वटा पोलिसी नवीकरण नभई व्यतीत भएर बसेका छन् । यस्तो पोलिसीको संख्या ०.४९ प्रतिशतले बढेको छ ।

गत आवको चैतसम्म यस्तो पोलिसीको संख्या १२ लाख १४ हजार पाँच सयवटा थियो । चालू आवको मंसिर मसान्तसम्म आउँदा त्यो १२ लाख २० हजार चार सय १५ पुगेको हो । त्यसको रकम भने ३७ अर्ब ९८ करोड ३७ लाख रुपैयाँ छ । रकमका आधारमा व्यतीत बिमालेख ४.४२ प्रतिशतले बढेको छ । गत आवको मंसिरसम्म यस्तो रकम ३५ अर्ब ४१ करोड ९६ लाख रुपैयाँ छ ।

बिमितले वार्षिक रूपमा तोकिएको बिमाशुल्क कम्पनीलाई तिर्नुपर्छ । तर, बिमितले त्यस्तो बिमालेख सरेन्डर गरेनन् र बाँकी किस्ता पनि तिरेनन् भनेर व्यतीत भएर बसेको हुन्छ । व्यतीत भएपछि बिमालेखले बिमितको जोखिम रक्षावरण गर्दैन । यद्यपि, बिमितले कुनै पनि वेला बक्यौता तिरेर बिमालेख सक्रिय बनाउन सक्नेछन् । तीन वर्षको किस्ता तिरिसकेको अवस्थामा पोलिसी बन्द गरेर बिमितले आफूले पाउनुपर्ने रकम भुक्तानी लिन पनि सक्नेछन् ।

बिमितको आम्दानी बढ्दै गएको छ : पोषकराज पौडेल, प्रमुख कार्यकारी अधिकृत, सिटिजन लाइफ इन्स्योरेन्स
विगतमा आर्थिक शिथिलताका कारण बिमा सरेन्डर बढेको थियो । बिमितको आम्दानी प्रभावित आर्थिक आवश्यकता पूर्ति गर्न पनि बिमा सरेन्डर गर्ने गरेका थिए, बिमितको आर्थिक आवश्यकता कम छ । विगतको जस्तो क्राइसेस पनि छैन । ब्याजदर सस्तो भएका कारण ऋण लिएर पनि आर्थिक आवश्यकता पूरा गर्न सक्ने देखिएको छ । बिमितको आम्दानी पनि बढ्दै गएको छ । बिमितहरूले सहज रूपमा वित्तीय योजनाहरू बनाउन पाएका छन् । फलस्वरूप बिमा सरेन्डर घटेको छ ।

See More On

सुझावित समाचार