नेपालमा १५ देशका ३० अन्तर्राष्ट्रिय एयरलाइन्स

सञ्चालनमा तीन अन्तर्राष्ट्रिय विमानस्थल, तर उडान–अवतरण काठमाडौं र भैरहवाबाट मात्रै

आइतबार, २० पुष, २०८२
डिजिटल संस्करण

नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीको संख्या ३० पुगेको छ । नेपालसहित १५ देशका ३० विमान कम्पनीले २८ गन्तव्यमा अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार नेपालमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय हवाई सेवा दिनेमा चीन र भारतका कम्पनी रहेका छन् । चीनका चार र भारतका चार विमान कम्पनीले नेपालबाट विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएका छन् । चीनको एयर चाइना, चाइना इस्र्टन, चाइना साउर्दन र सिचुवान एयरलाइन्सले नेपालमा अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गरिरहेका छन् । त्यस्तै, भारतका एयर इन्डिया, इन्डिगो एभिएसन, एयर इन्डिया एक्सप्रेस र स्पाइस जेटले नेपालमा हवाई सेवा प्रदान गर्दै आएको प्राधिकरणले जनाएको छ ।

नेपाल, युएई र थाइल्यान्डका समान तीन–तीन कम्पनीले नेपालमा अन्तर्राष्ट्रिय हवाई सेवा उपलब्ध गराउँदै आएका छन् । नेपालका नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयर, थाइल्यान्डका थाई एयर एसिया, थाई एयरवेज र थाई लायन र युएईका एयर अरेयिबा, एयर अरेयिबा अबुधाबी र फ्लाई दुबईले नेपालमा अन्तर्राष्ट्रिय हवाई सेवा दिँदै आएका छन् । 

प्राधिकरणका अनुसार मलेसिया, भुटान र कुवेतका दुई–दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नेपालमा सेवा दिइरहेका छन् । नेपालमा सञ्चालनमा रहेका भुटानका अन्तर्राष्ट्रिय एयलाइन्समा ड्रक एयर र टासी एयर, कुवेतका जजिरा एयरवेज र कुवेत एयरवेज तथा मलेसियाका बटिक एयर र मलेसियन एयरलाइन्स रहेका छन् । 

कतारको कतार एयरलाइन्स, सिंगापुरको सिंगापुर एयरलाइन्स, दक्षिण कोरियाको कोरियन एयरलाइन्स, टर्कीको टर्किस एयरलाइन्स, श्रीलंकाको श्रीलंकन एयरलाइन्स, बंगलादेशको विमान बंगालदेश र हङकङको क्याथे प्यासेफिक एयरवेजले पनि नेपालमा अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गराउँदै आएका छन् । नेपालमा सञ्चालनमा रहेका एयरलाइन्स कम्पनीले विभिन्न देशका २८ गन्तव्यमा उडान सेवा दिँदै आएका छन् । दक्षिण एसियाका आठ, मध्यपूर्वका सात, दक्षिण–पूर्वी एसियाका चार, पूर्वी एसियाका आठ र युरोपको एउटा गन्तव्यमा नेपालबाट उडान हुँदै आएको प्राधिकरणले जनाएको छ । 

नेपाली आकाशमा विभिन्न कम्पनीले २८ हजार चार सय ७२ अन्तर्राष्ट्रिय उडान गरेका छन् । प्राधिकरणका अनुसार सन् २०२५ को ११ महनिामा (जनवरीदेखि नोभेम्बरसम्म) विमान कम्पनीहरूले १४ हजार दुई सय ३७ अन्तर्राष्ट्रिय उडान र १४ हजार दुई सय ३५ अवतरण गरेका हुन् । यी उडानबाट ४१ लाख ११ हजार नौ सय ८१ यात्रुले हवाई सेवा लिएका हुन् । 

नेपालमा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । त्यसमध्ये सबैभन्दा बढी २८ हजार दुई सय ५१ अन्तर्राष्ट्रिय उडान–अवतरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको हो । त्यस्तै, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई सय २१ अन्तर्राष्ट्रिय उडान–अवतरण भएको प्राधिरकणको तथ्यांक छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि अन्तर्राष्ट्रिय उडान–अवतरण नभएको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ । 

४२ देशससँग हवाई सेवा सम्झौता
हालसम्म नेपालले ४२ देशसँग अन्तर्राष्ट्रिय हवाई सेवा सम्झौता गरिसकेको छ । सबैभन्दा पहिला नेपालले सन् १९६४ मा भारतसँग हवाई सेवा सम्झौता गरेको थियो । थाइल्यान्डसँग १९७१ मा, बंगलादेशसँग सन् १९७६ मा, श्रीलंकासँग १०७७ मा, बेलायत र हङकङसँग १९८२ मा र चीनसँग सन् १९८७ मा हवाई सेवा सम्झौता भएको थियो । नेपालले पछिल्लोपटक सन् २०२४ मा स्विट्जरल्यान्डसँग र त्यसअघि सन् २०१९ मा अस्ट्रेलियासँग हवाई सेवा सम्झौता गरेको हो । 

सुझावित समाचार