नेपाली कांग्रेसभित्र महाधिवेशनको समयलाई लिएर देखिएको मतभेद चर्किँदै गएपछि संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवासँग भेट गरी पार्टीलाई विभाजनतर्फ जान नदिन पहल गर्न आग्रह गरेका छन् । भेटका क्रममा सभापति देउवाले पनि पार्टी फुट्नु नहुने स्पष्ट धारणा राखेका छन् ।
निर्वाचनअघि नै नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा लबिङ गर्दै आएका केन्द्रीय सदस्यहरू शुक्रबार बिहान देउवाको महाराजगन्जस्थित निवासमा पुगेका थिए । उनीहरूले पार्टीभित्र देखिएको असहमति समाधानका लागि नेतृत्वले सक्रिय भूमिका खेल्नुपर्ने सुझाव दिएका थिए ।
समूहकी सदस्य डा. डिला संग्रौलाका अनुसार पछिल्लो विवादबारे सभापतिसँग छलफल भएको छ । उनले यस समूहले आजै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग पनि संवाद गर्ने तयारी गरेको जानकारी दिइन् ।
‘अघिल्लोपटक पनि चुनावअघि विशेष र चुनावपछि नियमित महाधिवेशन गर्ने विषयमा सहमति जुटाउन हामीले भूमिका खेलेका थियौँ,’ संग्रौलाले भनिन्, ‘पछि चुनावअघि नै नियमित महाधिवेशन गर्ने सर्वसम्मत निर्णय भयो । अहिले पनि त्यही सहमतिको निरन्तरताका लागि प्रयासरत छौँ ।‘’
उनका अनुसार पार्टीलाई निकास दिन र विभाजनको जोखिमबाट जोगाउन सभापतिलाई विशेष आग्रह गरिएको थियो । ‘हामीले पार्टी एकता जोगिनुपर्छ भन्ने कुरा राख्यौँ,’ उनले भनिन्, ‘सभापतिज्यूले पनि मिलेर अघि बढ्न चाहेको स्पष्ट गर्नुभयो ।’
महाधिवेशन स्थगनको निर्णयपछि कांग्रेसले शुक्रबार दिउँसो ३ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ, जहाँ पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने अपेक्षा गरिएको छ ।