६ महिनापछि सञ्चालनमा आयो रसुवा–केरुङ नाका

उत्तरतर्फको ठुलो व्यापारिक नाका सञ्चालनमा आएसँगै व्यापारी उत्साहित, सडक मर्मत र स्तरोन्नति छिटो गर्न आग्रह

शुक्रबार, १८ पुष, २०८२
डिजिटल संस्करण

गत असारमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरीपुल बगाएपछि बन्द भएको रसुवा–केरुङ नाका बिहीबारदेखि पुनः सञ्चालनमा आएको छ । चीनले दुई देश जोड्न बनाएको बेलिब्रिजको निर्माण सम्पन्न भएसँगै नाका सञ्चालनमा आएको हो । बिहीबारदेखि नै रसुवा–केरुङ नाका हुँदै यात्रु तथा मालवाहक सवारीसाधानको आवतजावत सुरु भएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए । ‘आज (बिहीबार)बाट नाका सञ्चालनमा आएको छ, नागरिकहरू पास लिएर आवतजावत गर्न थालेका छन्, यताबाट खाली गाडी गएका छन्, उताबाट मालवाहक गाडी आएका छन्,’ उनले भने । 

गत २४ असारमा आएको बाढीले रसुवागढी–केरुङ नाका क्षतिग्रस्त भयो । उत्तरतर्फको प्रमुख व्यापारिक नाका रसुवागढीको मितेरीपुल बाढीले बगाएर सडक सम्बन्धविच्छेद भएसँगै त्यहाँबाट हुने दुई देशबिचको व्यापार तथा यात्रुको आवतजावत पूर्ण रूपमा रोकिएको थियो । क्षतिग्रस्त नाका पुनः सञ्चालनमा ल्याउने गरी चिनियाँ पक्षले तत्काल बेलिब्रिज निर्माण सुरु गरेको थियो । गत सेप्टेम्बरमै नाका सञ्चालनमा ल्याउने तयारी थियो । तर, दोस्रोपटक समेत बाढी आएपछि ढिला गरी नाका सञ्चालनमा आएको हो । काठमाडौंस्थित चिनियाँ राजदूतावासले बुधबार फेसबुकमा एक पोस्ट गर्दै दुई देश जोड्ने बेलिब्रिजको निर्माण सम्पन्न भएको र नाका छिट्टै खुल्ने जनाएको थियो ।

बिहीबार निर्यात सामग्री बोकेको एउटा कन्टेनर केरुङतर्फ गएको छ । त्यस्तै, करिब २० वटा खाली कन्टेनरसमेत चीनतर्फ गएका छन् । त्यस्तै, बाढी आउनुअघि चिनिया भन्सार जाँचपास भइसकेका करिब २० वटै कन्टेनर नेपाल प्रवेश गरेका छन् । नाका सञ्चालनमा आएसँगै रसुवाबाट हुने दुई देशबिचको व्यापार पुनः सुरु भएको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले बताए । ‘करिब पाँच महिनापछि रसुवा नाका सञ्चालनमा आएको छ, आयात–निर्यात सुरु भएको छ,’ उनले भने, ‘बाढी आउनुअघि केरुङमा आइपुगेका सामग्री अब क्रमशः आउनेछन् ।’ नाका सञ्चालनमा आएपछि व्यवसायी उत्साहित भए पनि सडकको अवस्थामा भने चिन्ताजनक रहेको उनले बताए ।

 सडक एकतर्फी मात्रै चल्ने 
नाका सञ्चालनमा आए पनि नेपालतर्फ स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडक कच्ची र क्षतिग्रस्त भएका कारण मालवाहक ठुला सवारीका लागि आवतजावतमा अप्ठ्यारो हुने संघका अध्यक्ष कार्कीले बताए । सडक मर्मत–सम्भार तथा स्तरोन्नति नगर्दासम्म सहज नहुने उनले बताए । रसुवाका सिडिओ पन्थीले स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म सडक एकतर्फी रूपमा सञ्चालन हुने बताए । ‘अहिले पनि सुक्खा पहिरोको जोखिम छ, पानी परेका वेला सडक चल्न नसक्ने अवस्था छ,’ उनले भने, ‘मर्मत–सम्भार तथा स्तरोन्नति नहुँदासम्म सडक एकतर्फी चल्नेछ ।’ 

तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २४ गते बसेको बैठकले नेपाल–चीन जोड्ने मितेरीपुल र सडकको पुनर्निर्माण गरी रसुवागढी नाका सञ्चालन गर्न परराष्ट्र मन्त्रालयमार्फत चीनसँग समन्वय गर्ने निर्णय गरेको थियो । सोहीअनुसार चीनले सुरुमा बेलिब्रिज बनाउने र पुल निर्माण सकिएपछि सडक मर्मत तथा स्तरोन्नति गरिदिने समझादारी भएको थियो । 

 अर्को साता तिब्बती अधिकारी आउँदै 
बाढीबाट क्षतिग्रस्त नाकाको पुनर्निर्माणलगायतको अवलोकन गर्न अर्को साता तिब्बती अधिकारीहरू रसुवा–केरुङमा आउने भएका छन् । झन्डै ६ महिना बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै उच्च सरकारी अधिकारीहरू नाका अवलोकनका लागि आउने कार्यक्रम रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले बताए । 

 चीनसँग एक खर्ब ६३ अर्बको व्यापार घाटा
चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालले चीनमा ४६ करोड ६८ लाखका वस्तु निर्यात गरेको छ । सोही अवधिमा चीनबाट एक खर्ब ६३ अर्ब ७३ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ । दुई देशबिचको व्यापारमा नेपालले एक खर्ब ६३ अर्ब घाटा व्यहोरेको भन्सार विभागको तथ्यांक छ । नेपाल र चीनबिच वार्षिक सवा तीन खर्ब रुपैयाँ हाराहारीको व्यापार हुँदै आएको छ । गत आर्थिक वर्ष ०८१/८२ मा नेपालमा चीनबाट तीन खर्ब ४१ अर्ब १० करोड ४५ लाख रुपैयाँबराबरको आयात भएको छ । यस अवधिमा निर्यात भने दुई अर्ब ६३ करोड रुपैयाँबराबरको भएको विभागको तथ्यांक छ ।

नेपाल र चीनबिच सबैभन्दा बढी आयात–निर्यात हुने प्रमुख व्यापारिक नाका रसुवागढी–केरुङ हो । तर, चालू आवमा आयात–निर्यात ठप्पप्रायः रहेको छ । पाँच महिनामा रसुवा नाकाबाट ४७ करोड ५६ लाखको वस्तु आयात भएको छ । निर्यात भने शून्य छ । गत आर्थिक वर्ष ०८१/८२ मा रसुवा नाका हुँदै ८५ अर्ब २३ करोड २३ लाखबराबरको आयात भएको छ जुन कुल आयातको ४.७२ प्रतिशत हो । यस अवधिमा रसुवा हुँदै दुई अर्ब चार करोड ५२ लाखबराबरको निर्यात भएको छ, जुन कुल निर्यातको ०.७४ प्रतिशतबराबर हो ।

स्तरोन्नति नहुँदासम्म सडक एकतर्फी
राजेश पन्थी, प्रमुख जिल्ला अधिकारी, रसुवा

बिहीबारबाट नाका सञ्चालनमा आएको छ, नागरिकहरू पास लिएर आवतजावत गर्न थालेका छन्, यताबाट खाली गाडी गएका छन्, उताबाट मालवाहक गाडी आएका छन् । अहिले पनि सुक्खा पहिरोको जोखिम छ, पानी परेका वेला सडक चल्न नसक्ने अवस्था छ, मर्मत–सम्भार तथा स्तरोन्नति नहुँदासम्म सडक एकतर्फी चल्नेछ । 

सुझावित समाचार