नयाँ वर्ष मनाउन पर्यटक ओइरिएपछि गुल्जार बन्यो पोखरा

बिहिबार, १७ पुष, २०८२
डिजिटल संस्करण
नयाँ वर्ष मनाउन पर्यटक ओइरिएपछि गुल्जार बन्यो पोखरा

पोखराको लेकसाइडमा पर्यटकको भिड

बेलायती सेनाका जागिरे धरानका कृष्ण राई परिवारका चार सदस्यसहित सोमबारदेखि पोखरामा बिदा मनाउन आएका छन् । भक्तपुरकी मनु प्रधान पाँच साथीहरूसँगै बुधबारदेखि पोखरामै छन् । त्यस्तै, भारतको उत्तर प्रदेश घर भएका श्रीकान्त परिवारका तीन सदस्य तथा अमेरिकाबाट आफ्नो प्रेमिकासँगै आएका माइक पनि बुधबारदेखि पोखरामै रमाइरहेका छन् । उनीहरूजस्तै हजारौँ आन्तरिक तथा बाह्य पर्यटकले पोखरा पूरै गुल्जार भएको छ । 

अधिकांश पर्यटक अंग्रेजी नयाँ वर्ष २०२६ मनाउनुका साथै घुम्न पोखरा आएका हुन् । यही अवसरमा पोखरामा ‘सडकमै खाऔँ, सडकमै नाँचौँ र सडकमै रमाऔँ’ भन्ने नारासहित फेवाताल किनारमा २७औँ संस्करणको पोखरा सडक महोत्सव २०२६ जारी छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले आयोजना गरेको महोत्सव १७ पुससम्म चल्नेछ । 

अमेरिकाबाट प्रेमिकासँगै आएका माइक दुई वर्षअघि समेत पोखरा आएका थिए । नेपालका अन्य स्थानको तुलनामा पोखराआसपासको क्षेत्र मन परेकाले योपटक प्रेमिकालाई घुमाउन लिएर आएको उनले बताए । १९ गतेसम्म पोखरामै बस्ने र त्यसपछि सात दिन पोखराआसपासका क्षेत्र घुमेर चार दिन काडमाडांै बसेर फर्कने योजना रहेको उनले सुनाए ।

पोखरालाई अग्रेजी नयाँ वर्ष मनाउने गन्तव्यस्थलको रूपमा विकास गर्न रेवानले विगत २६ वर्षदेखि महोत्सव अयोजना गर्दै आएको अध्यक्ष विश्वराज पौडेलले बताए । फिस्टेल गेटदेखि जहरेवरसम्मको चार किलोमिटर सडकमा चार सयभन्दा बढी स्टल छन् ।

होटेलहरू भरिभराउ
नयाँ वर्ष मनाउन आन्तरिक एवं बाह्य पर्यटकका कारण पोखरा र आसपासका होटेल भरिभराउ भएका छन् । होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार तीन दिनअघि पोखराका होटेलको अकुपेन्सी ६५ प्रतिशत रहेकोमा बुधबार साँझसम्म आइपुग्दा बढेर करिब ९५ प्रतिशत पुगेको छ । यस क्षेत्रका होटेलको बेड क्षमता करिब ४० हजारको हाराहारीमा छन् । हाल पोखराका होटेलहरूमा १५ हजारको हाराहारीमा विदेशी, १३ देखि १४ हजार भारतीय  र करिब नौ हजार आन्तरिक पर्यटक रहेको उनले बताए । पोखरा र आसपासका क्षेत्रमा अहिले दुई लाख पर्यटक रहेको व्यवसायीहरू बताउँछन् ।

सुझावित समाचार