पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पद, पार्टी सबै अरूलाई दिएर प्रधानमन्त्री बन्छु भनेर बसेका भन्दै काठमाडौंका मेयर बालेन्द्र शाह ‘बालेन’प्रति व्यंग्य गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बालेनको नाम नलिई ओलीले भने, ‘मैले त प्रधानमन्त्री बन्नेवाला नाम चलेका मान्छेलाई अलि बाठै ठानेको थिएँ। अध्यक्ष अर्कैलाई, उपाध्यक्ष अर्कैलाई, पार्टी अर्कैलाई। सबै अर्कैलाई दिएर प्रधानमन्त्री खाउँला भनेर...।’
ओलीले रास्वपा सभापति रवि लामिछानेलाई पनि सबैलाई प्रधानमन्त्री बाँडेको भन्दै कटाक्ष गरे। लामिछानेको नाम नलिई उनले भने, ‘अस्ति २४ गतेतिर आगो लगाउने वेलामा प्रधानमन्त्री कतिलाई बाँडेको रहेछ भने– तिमीलाई पनि प्रधानमन्त्री, उसलाई भेट्यो भने उसलाई प्रधानमन्त्री। अचम्मैसँग प्रधानमन्त्री बाँडेको रहेछ।’
एमाले र कांग्रेसबाहेक अरू दलले सरकार बनाउन सम्भव नै नरहेको दाबी गर्दै ओलीले थपे, ‘यस्तो कुरा पत्याएर प्रधानमन्त्री हुन्छु भनेर लाग्ने !’