नेपाली कम्युनिस्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच एकता

मंगलबार, १५ पुष, २०८२
डिजिटल संस्करण

निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक शक्तिहरूबिचको ध्रुवीकरणले तीव्रता पाएकै वेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बिच पार्टी एकता भएको छ । नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार भएको शीर्ष वार्तामा एकताको १०बुँदे सहमति भएको हो ।

सहमतिपत्रमा नेकपाको तर्फबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन् । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी, चुनाव चिह्न तारा, नाउपाका जनप्रतिनिधि नेकपाको हुने सहमति भएको छ ।

‘नेपालको स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, लोकतन्त्र, शान्ति र अग्रगमनका पक्षमा इतिहासका विभिन्न कालखण्डमा भएका जनआन्दोलन, जनयुद्ध, थारू आन्दोलन, मधेश विद्रोहलगायतका विभिन्न समुदायले गरेका आन्दोलनका उपलब्धिहरूको रक्षा तथा जेन–जी नामबाट भएको नवयुवा र युवा आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थितिलाई ध्यान दिँदै थप उपलब्धि प्राप्तिका लागि संघर्षरत अग्रगामी परिवर्तनका पक्षधर सम्पूर्ण राजनीतिक पार्टी, शक्ति र व्यक्तिहरू एकताबद्ध हुन आवश्यक छ,’ सहमतिमा छ, ‘यस उद्देश्य प्राप्तिका लागि नेपालको कम्युनिस्ट तथा समाजवादी आन्दोलनका विभिन्न धारहरू एकताबद्ध भई बनेको नेपाली कम्युनिस्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच एकीकरण गर्न सहमति भएको छ ।’ 

विगतमा पार्टी र राज्यका विभिन्न निकायहरूमा जिम्मेवारी वहन गर्दा भए–गरेका सबल र दुर्बल पक्षहरूको वस्तुनिष्ठ समीक्षा गर्दै कमी–कमजोरीहरू सच्याउने र संघीयता, सुशासन, समृद्धि र सामाजिक न्यायको माध्यमबाट समाजवादको दिशामा अगाडि बढ्ने सहमति छ । यस्तै, मुलुकको सार्वभौमिकता, स्वाधीनता र भूअखण्डताको रक्षा गर्दै पहिचान र अधिकारसहितको संघीय समाजवादी गणतन्त्र प्राप्तिको रणनीतिक लक्ष्य प्राप्तिका लागि सडक, सदन र सरकार तीनवटै क्षेत्रवाट संघर्षरत रहने, समाजवादका लागि नेपालको मौलिक बाटोको रूपमा संघीय शासन प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता, वर्गीय, जातीय, क्षेत्रीय र लिंगीय विभेदको अन्त्य तथा समतामूलक, न्यायपूर्ण र विभेदरहित समाज निर्माण गर्ने कामको पहलकदमी र नेतृत्व गर्दै नेपाली विशेषताको समाजवादलाई पार्टीको कार्यक्रमको रूपमा अंगीकार गर्ने र त्यसको आधारमा देशको सामाजिक–आर्थिक रूपान्तरणका लागि कटिबद्ध रहने सहमति भएको छ ।

पार्टीलाई सामूहिक नेतृत्व र समावेशी प्रतिनिधित्व तथा संघीयतालाई आत्मसात् गर्दै जनवादी केन्द्रीयताको संगठनात्मक पद्धतिअनुरूप सञ्चालन गर्ने सहमति भएको छ । यस्तै, दुवै पार्टीबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू स्वत: नेपाली कम्युनिस्ट पार्टीको सदस्य हुने सहमति छ । नागरिक उन्मुक्ति पार्टीको संगठनात्मक संरचनामा रहेका केन्द्रीय समितिलगायत साबिकका सम्पूर्ण समितिहरू र जनवर्गीय संगठनहरू आपसी सहमतिको आधारमा नेपाली कम्युनिस्ट पार्टीमा समायोजन गर्ने सहमति भएको छ । 

राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपले बहिष्करणमा परेका वा पारिएका महिला, थारू, मधेशी, आदिवासी–जनजाति, खस, दलित, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक समुदाय, विपन्न वर्ग, पिछडिएको क्षेत्रलगायतका सीमान्तीकृत वर्ग र समुदायहरूलाई राज्यका सबै अंग, तह र निकायमा समानुपातिक समावेशीकरणको प्रत्याभूति गराउने प्रतिबद्धता जनाइएको छ । देशका श्रमिक वर्ग र उत्पीडित समुदायहरूको एकतामा जोड दिँदै समाजवादी क्रान्तिका लागि राष्ट्रिय शक्ति निर्माणका लागि पहल गर्ने, टीकापुर घटनाका सम्बन्धमा कुनै पनि व्यक्तिलाई प्रतिशोधका आधारमा लगाइएका झुटा मुद्दाको खारेजी र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।

सुझावित समाचार